धौलागिरी लघुवित्तको आईपीओ निष्कासन प्रक्रिया शुरु, कस्तो छ त वित्तीय अवस्था ?

फागुन ६, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन प्रक्रिया शुरु गरेको छ । कम्पनीले ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेसँगै प्रक्रिया शुरु भएको हो । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ७० करोड रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ७३ करोड ३१ लाख पुग्नेछ । कम्पनीको प्रधान कार्यालय बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका-२ श्रीनगर टोलमा रहेको छ । हालसम्ममा कम्पनीले २० ओटा जिल्लामा ४६ ओटा शाखा कार्यालयहरुमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीले पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४९३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३६ लाख २६ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ करोड १५ लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ३० प्रतिशत वृद्धि भएको छ । त्यसैगरी कम्पनीको सञ्चालन नाफा गत आवको दोस्रो त्रैमासमा रू. २ करोड ८६ लाख ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा रू. १ करोड ८८ लाख धनात्मक भएको हो । कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६१ करोड ८० लाख सापटी लिएर रू. ६२ करोड १४ लाख सापटी लिएर रू. १ अर्ब ४४ करोड कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीले रू.१ करोड ५३ लाख खराब कर्जा संकलन गर्न सफल भएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा ६ दशमलव २६ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ३ दशमलव ७५ मा झरेको छ । त्यसैगरी, कम्पनीको पूँजी कोष पर्याप्पता ८ दशमलव ६१ प्रतिशत, पूँजी कोष लागत ६ दशमलव ९३ प्रतिशत र प्रतिशेयर आम्दानी रू. ६१ दशलमव ४५ (वार्षिकीकरण) रहेको छ ।                                                   सोत : कम्पनीद्वारा प्रकाशित वित्तीय विवरण