नेपालबाट १० खर्ब रुपैयाँ बराबरका निर्यात सम्भावना भएको भनी अन्तरराष्ट्रिय संस्थाले बताए पनि त्यसको १० प्रतिशतमात्रै उपयोग भएको छ । यस्ता निर्यात सम्भावना भएका वस्तुमध्ये अलैंची पनि एक हो । गत आर्थिक वर्षमा नेपालबाट ८ अर्ब २७ करोडभन्दा बढी रुपैयाँको अलैंची निर्यात भयो । नेपालको भौगोलिक बनोट अलैंची खेतीका लागि उपयुक्त छ र यसका लागि खासै मेहनत पनि गरिरहनु पर्दैन । त्यसैले देशभरका पहाडी भूभागमा यसको खेती विस्तार गर्न सक्ने हो भने अलैंचीको निर्यातमात्रै पनि खर्ब पुर्याउन सक्ने देखिन्छ । तर, विडम्बना एकातिर उत्पादन बढाउन सकिएको छैन भने अर्कातिर यसको अन्तरराष्ट्रिय बजार खोज्न सकिएको छैन ।
अहिले अलैंचीको निर्यात भारतमा मात्रै सीमित छ भन्दा हुन्छ । किनभने ठूलो परिमाणमा भारततर्फ निर्यात हुन्छ । भारतले नचाहँदा नेपाली अलैंचीले बजार नपाउने अवस्था छ । त्यसैले कतिपय किसानले अलैंची खेती शुरू गरेर पनि बीचैमा छाडेको समेत पाइन्छ । अलैंचीलाई ‘कालो सुन’ उपनाम पनि दिइएको छ किनभने नेपालका लागि त्यो सुन बराबर नै छ । नेपालको अलैंची भारत पुगे पनि त्यो सबै भारतमा नै खपत हुने होइन । उसले पनि अन्य मुुलुकमा निर्यात गर्छ । भारतले नेपालबाट आयात गरेको अलैंची प्रशोधन र प्याकेजिङ गरी आफ्नो ब्रान्ड बनाएर बेच्ने गरेको छ । साउदी अरब, पाकिस्तान, बंगालदेशमा भारतबाट प्रशोधित अलैंची निर्यात भएको पाइन्छ । नेपालले सीधै ती देशमा प्रशोधन गरी निर्यात गर्न सक्ने हो भने बजारको अभाव हुँदैन । साथै, उच्च मूल्यमा पनि विक्री गर्न सकिन्छ । अहिले भारतीय व्यापारीले जति मूल्य तोक्छन् त्यतिमै बेच्नुपर्ने बाध्यता छ । भारतमा उत्पादन घट्दा नेपाली किसानले राम्रो मूल्य पाउँछन् भने त्यहाँ उत्पादन प्रशस्त हुँदा नेपाली किसानको अलैंची विक्री नभएर उनीहरूले पुर्पुरोमा हात राखेर बस्नुपरेको अवस्था पनि छ । अत: अलैंचीको बजारका लागि भारतमाथि निर्भर हुनुभन्दा जुन देशमा माग छ ती देशमा सीधै निर्यात गर्न सक्ने वातावरण बनाउनुपर्छ ।
अहिले ४३ जिल्लामा अलैंची खेती भइरहेको छ । झन्डै सवालाख किसान अलैंची खेतीमा संलग्न रहेको अनुमान छ । अलैंचीको निर्यातमा कुनै अवरोध नहुने हो भने यसको विस्तार हुने सम्भावना छ । अलैंची प्रशोधनमा नेपालको कमजोरी छ । अलैंची प्रशोधनमा नवीनतम प्रविधि प्रयोग गर्नु जरुरी देखिन्छ । नेपाली अलैंची भण्डारणमा खोट देखाएर भारतीय व्यापारीले सस्तोमा खरीद गरेको पनि पाइन्छ । त्यसैले सरकारले अलैंची सुकाउन र भण्डारण गर्न मात्रै पनि किसानलाई सही प्रविधि उपलब्ध गराउन सक्यो भने किसानले राम्रो लाभ लिन सक्छन् । त्यसमा पनि प्रशोधन गरेर सीधै निर्यात गर्न सक्ने हो भने अलैंचीले राम्रो मूल्य पाउँछ । नेपाली अलैंचीको मूल्य अभिवृद्धि गरेर निर्यात गर्न सक्ने हो भने अहिलेकै परिमाण बराबर निर्यात हुँदा पनि निर्यातको रकम निकै बढ्ने देखिन्छ ।