चीनमा तेस्रो सन्तान जन्माउने महिला कर्मचारीलाई ९० हजार युआन बोनस र वर्षदिनको थप छुट्टी !

माघ १८, काठमाडौं  । चीनले लामो समयसम्म अपनाएको एक सन्तान नीतिको प्रभावस्वरुप यहाँको जनसांख्यिकी फेरिएको छ । वृद्ध जनसंख्या तीव्र दरमा बढिरहेको छ । सन् २०२५ देखि त्यहाँ जनसंख्या घट्दै जाने र कार्यबलमा नकारात्मक प्रभाव पर्ने आशंका गर्न लागिएको छ । यस्तो स्थिति आउन नदिन सरकारले धेरै सन्तान जन्माउन मातापितालाई प्रोत्साहन दिइरहेको छ । कयौं स्थानीय सरकारहरुले आफ्नो क्षेत्रमा जनसंख्या बढाउन स्थानीय स्तरमा कयौं अभियान चलाएका छन् । सरकारको यो नीतिलाई टेवा दिन केही कम्पनीहरुले आफ्ना कर्मचारीहरुका बिदा बढाएका छन् भने बोनसस्वरुप हजारौंं युआन पनि दिइरहेका छन् ।  पेचिङस्थित कृषि प्रविधि कम्पनी ता पेइ नोङ ग्रुपले तेस्रो सन्तान जन्माउने आफ्ना कर्मचारीहरुलाई ९० हजार युआन बोनस दिइरहेको छ । साथै महिला कर्मचारीलाई अतिरिक्त एक वर्षसम्मको सुत्केरी बिदा पनि दिइरहेको छ । नवपितालाई पनि थप ९ दिन तलबी सुत्केरी स्याहार बिदा छ । अहिले चीनमा ता पेई नोङ सबैभन्दा दानी कम्पनीको रुपमा देखा परेको छ ।  कम्पनीले पहिलो र दोस्रो सन्तान जन्माउने मातापितालाई पनि बोनस दिइरहेको छ । बोनस पहिलो सन्तानको लागि ३० हजार युआन र दोस्रो सन्तानका लागि ६० हजार युआन रहेको छ । सुत्केरी बिदापनि पहिलो, दोस्रो र तेस्रो सन्तानका लागि क्रमशः १ महीना, ३ महीना र १२ महीनाले बढाइएको छ ।  चीनको सरकारी नीतिअनुसार महिलाले ९८ दिन सुत्केरी बिदा पाउँछन । पुरुषलाई सुत्केरी श्रीमति स्याहार्न कुनै बिदा छैन । तर स्थानीय सरकारहरुले महिला कर्मचारीलाई अतिरिक्त सुत्केरी बिदा अनि पुरुष कर्मचारीलाई एक हप्तादेखि एक महीनासम्मको पितृत्व बिदा दिन नियमन जारी गरेका छन् ।  चीनमा शिशु बोनस, लामो बिदा, कर छूट, बच्चाको लालनपालनका लागि सहुलियत आदि पनि दिन थालिएको भन्दै केही दिनअघि चिनियाँ पत्रिका नेशनल विजनेश डेलीले समाचार नै छापेको थियो । यसरी जनसंख्या बढाउन नगद वितरण र सेवा सुविधा बढाउने देशको सूचिमा चीन एक्लै छैन । पछिल्लो समय जनसांख्यकीय संकटतर्फ उन्मुख जापानमा पनि यस्तै खालको उपायहरु अपनाउन लागिएको छ । विश्वमै सबैभन्दा न्यून जन्मदर भएको सिंगापुरले पनि सन् २०२० मा कोरोना भाइरसको महामारीबीच सन्तान जन्माउन इच्छुक अभिभावकहरुलाई एक मुष्ठ रकम दिएको थियो । एजेन्सीहरुको सहयोगमा