विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताएका छन् । व्यापारीको ध्यानाकर्षणपत्र बुझ्दै उनले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर पछि नहट्ने प्रष्ट पारेका हुन् ।
महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ । महानगरले शनिमन्दिर–अस्पतालचोक, महावीर रोड, गुद्री रोड, शनिमन्दिर रोड र जलजलाचोक–ट्राफिकचोकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको छ ।
विकल्पसहित पार्किङ निषेध गरेकाले निर्णयबाट पछि नहट्ने प्रमुख कोइरालाको भनाइ थियो । ‘हरेक पार्किङस्थलबाट दुईदेखि तीन मिनेटमा जुनसुकै पसलमा पुग्न सकिने अवस्था छ,’ कोइरालाले भने ।
महानगरले बैंक, अस्पतालसहित ठूला कर्पोरेट हाउसले निर्माण गरेका अण्डरग्राउण्ड पार्किङ सञ्चालनका लागि पत्राचार गरिसकेको छ । सडकको अव्यवस्थित पार्किङले एम्बुलेन्स, दमकल सहज रूपमा आवतजावत गर्न नपाउँदा बिरामीको ज्यानै जाने अवस्था रहेकोे कोइरालाले बताए । विराटनगर महानगरका उपप्रमुख शिल्पा निराला कार्कीले सडकमा पार्किङ निषेध गरिएकोप्रति यात्रु र सर्वसाधारणले खुशी व्यक्त गरेको दाबी गरिन् । ‘विराटनगर हामी सबैको हो, हामी सबै मिलेर लाग्यौं भने मात्र विराटनगरलाई व्यवस्थित र सुन्दर बनाउन सक्छौं,’ उनले भनिन् ।
वडा नं ९ का अध्यक्ष विश्वनाथ भगतले बजारलाई व्यवस्थित बनाउन सहयोग गर्न व्यापारीलाई आग्रह गरे । महानगर प्रहरीका निरीक्षक राजन पौडेल र ट्राफिक प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी नायब निरीक्षक यज्ञराज शर्माले महानगरका अन्य सडकलाई पनि पार्किङ निषेध गर्ने तयारी भइरहेको जानकारी दिए । रासस