ऋणपत्रमा लगानीकर्ताको आकर्षण कम, विक्री हुनै मुस्किल

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को सात महिनामा आठ ओटा ऋणपत्र निष्कासन भएको छ । तर, बजारमा अन्य धितोपत्रहरूको तुलनामा ऋणपत्रप्रति लगानीकर्ताहरूको आकर्षण कम भएको पाइन्छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार अहिले नेप्सेमा २९ ओटा कर्पोरेट ऋणपत्रहरू सूचीकृत छन् । तर, नेपालमा अन्य धितोपत्रहरूको तुलनामा ऋणपत्रमा लगानीकर्ताहरूले आवेदन नै दिन नरूचाउने गरेको पाइन्छ ।  बजारका जानकारहरू नेपालको धितोपत्र बजारमा लगानीकर्ताहरूमा सचेतनाको कमी, कारोबार सुस्त हुनुका साथै ऋणपत्रबाट कम प्रतिफल आउने भएकाले ऋणपत्रमा लगानीकर्ताहरूको आकर्षण कम रहेको बताउँछन् ।  सिडिएससी एन्ड क्लियरिङ् लिमिटेडका अनुसार सात महिनामा निष्कासन भएको आठ ओटा ऋणपत्रमध्ये सात ओटामा मागभन्दा कम आवेदन परेको छ ।  एभरेष्ट बैंक लिमिटेडको एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९ मा भने मागभन्दा २२२ प्रतिशत बढी आवेदन परेको थियो । यस्तै स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेडले निष्कासन गरेको स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड ऋणपत्र ५ वर्ष, १०.३० % मा भने सबैभन्दा कम आवेदन परेको थियो । उक्त ऋणपत्रमा कुल निष्कासनको १२ प्रतिशत मात्र आवेदन परेको थियो ।  शेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला नेपाली बजारको सानो हिस्साको लगानीकर्ताहरूमा मात्रै ऋणपत्रबारे जानकारी भएको बताउँछन् । कतिपय अवस्थामा लगानीकर्ताहरूले आईपीओमा भनेर ऋणपत्रमा आवेदन दिएकाले आफूले पछुताएको पनि बताउने गरेको उनले बताए ।  यस्तै बैंकहरूले अहिले निक्षेपको विभिन्न स्किमअन्तर्गत ऋणपत्रको भन्दा राम्रो प्रतिफल दिने गरेको पाइन्छ । त्यसैले लगानीकर्ताहरू ऋणपत्रमा लगानी गर्नभन्दा पनि निक्षेपमा राख्न रूचाउने गरेको बास्तोला बताउँछन् ।  बास्तोला भन्छन्, ‘नेपाल सरकारको साथै नियामकको पनि ऋणपत्र चासोको विषय नभएको पाइन्छ । लगानीकर्ताहरूको आकर्षण नहुँदा यसको कारोबार पनि सुस्त छ । ऋणपत्र पनि राजस्वको राम्रो स्रोत हुने भएकाले नियामकका साथै सरकारले यसको बजार विकास र विस्तारमा विशेष ध्यान दिन आवश्यक छ ।’ दीर्घकालीनरूपमा ऋणपत्रमा लगानी गर्दा राम्रो हुने भएता पनि बजारमा ऋणपत्रको कारोबार कम हुने गरेकाले यसप्रति लगानीकर्ता कम आकर्षित भएको सीबीआईएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर श्रेष्ठ बताउँछन् ।  ‘नेपालमा ऋणपत्रको कारोबार नै कम हुने भएकाले यसलाई क्यासमा परिणत गर्न लगानीकर्ताहरूका लागि त्यति सहज छैन । यस्तै फिक्स्ड डिपोजिटको तुलनामा ऋणपत्रलाई धितोमा राखेर कर्जा लिन पनि सहज छैन । त्यसैले नेपाली लगानीकर्ताहरूको ऋणपत्रप्रति कम आकर्षण हुनु स्वभाविक हो,’ उनले भने । यस्तै नेपाली लगानीकर्ताहरूमा ऋणपत्रको सचेतना पनि नभएको श्रेष्ठ बताउँछन् ।  क्र.स. ऋणपत्र निष्कासन आवेदन निष्कासनको तुलनामा माग % १ एभरेष्ट बैंक लिमिटेड २०००००० ५०१३४५ २५ (६ वर्ष, १०.५%, एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५) २ बैंक अफ काठमाडौं लिमिटेड ११००००० ८१८०९५ ७४ (७ वर्ष,१०.५%, बिओके डिबेन्चर २०८६) ३ हिमालयन बैंक लिमिटेड १०४५००० २९५८०६ २८ (७ वर्ष, १०.५%, हिमालयन बैंक लिमिटेड बोन्ड २०८६) ४ कुमारी बैंक लिमिटेड १२००००० २९२६३९ २४ (१० वर्ष, ११%, केबिएल डिबेन्चर २०८९ ) ५ नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड  ५०००००० २९८७६२४ ६० (७ वर्ष, ७%, निफ्रा ऊर्जा ऋणपत्र २०८५/८६)  ६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड २४००००० २९६४३२ १२ (५ वर्ष, १०.३०%, स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड ऋणपत्र) ७ ग्लोबल आइएमई बैंक ५०००००० २२०६४९९ ४४ (५ वर्ष, ११.२५%, ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५ \ २ एभरेष्ट बैंक लिमिटेड २०००००० ४४३६६३७ २२२ (बढी) (१० वर्ष ,५.५%, एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९)