काठमाडौं (अस) । एनआईसी एशिया बैंकले ग्राहक सुविधालाई लक्षित गरी पहिलो पटक एनआईसी एशिया मोबैंक एपमार्फत विभिन्न कम्पनीले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवा सुरु गरेको छ ।
बैंकमार्फत डिम्याट खाता खोलेका एवं बैंकमा बचत खाता तथा मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आईपीओ खुलेका शेयर तथा डिबेञ्चरमा जुनसुकै स्थानबाट, जुनसुकै समय आवेदन दिन सक्नेछन् ।
कोभिड महामारीको जोखिम कायम रहेका बेला ग्राहकलाई सहज एवं सरल बैंकिङ सेवा दिने उद्देश्यले बैंकले हालसम्म भौतिक फारमबाट आईपीओ आवेदन लिँदै आएकामा अबदेखि एनआईसी एशिया मोबैंकबाट आईपीओ आवेदन दिन सकिने व्यवस्था गरेको हो ।
बैंकको एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले एपभित्र रहेको अप्लाइ शेयर आइकनमा ट्याप गरेर आवेदन दिन सकिनेछ । त्यसपछि आइकनभित्र आईपीओ खुलेका कम्पनीमध्ये आफूले चाहेको कम्पनी छनोट गरेर आवेदन दिन सकिनेछ ।
आफूले इच्छाएको कित्ता संख्या उल्लेख गरी स्वचालित रूपमा देखिएको विवरण पक्का गरेर सबमिट गरेपछि आवेदन पूरा हुनेछ । हाल बैंकले ३५६ शाखा, ४७१ एटीएम, ७० विस्तारित काउन्टर एवं ८१ वटा शाखारहितमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।