बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ । म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेभिर–घाँसा खण्डमा विस्फोटक पदार्थको प्रयोग गरी पहाड फुटाएर सडक विस्तार गर्न २०७९ वैशाख ७ देखि २० गतेसम्म दैनिक चार घण्टा सवारी साधन आवतजावत बन्द गर्न लागिएको हो ।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले घाँसा–काभ्रेभिर खण्डमा दिउँसो ११ देखि ३ बजेसम्म सवारी साधन आवतजावत बन्द गरेर सडक विस्तारको काम गर्ने निर्णय भएको जानकारी दिए । यसअघि गत माघ १० गतेदेखि बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको ‘टाइमकार्ड’ चैतै दसैंमा मुस्ताङ जाने आउने तीर्थयात्री र पर्यटकको चाप बढेपछि चैत १५ गतेदेखि हटाइएको थियो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले सडक निर्माणको कामलाई तीव्रता दिन र सुरक्षालाई ध्यानमा राखेर सवारी साधन र काम गर्ने समयतालिका बनाइएको बताए ।
विसं २०७४ मा शुरू भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङको छ वटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत छ । ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये छ वटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका छन् । ७६ किलोमिटर दूरीको बेनी–जोमसोमको चारवटामध्ये एकवटा प्याकेजको कालोपत्र सकिन लागेको र अर्को प्याकेज कालोपत्रको तयारीमा छ । रासस