सार्वजनिक संस्थानको आईपिओ ल्याउने अर्थमन्त्रीको घोषणा

सरकारले सार्वजनिक संस्थानको आईपिओ जारी गर्ने भएको छ । बजेट प्रतिस्थापन विधयेक प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले सम्भाव्य सार्वजनिक संस्थानलाई आवश्यकताका आधारमा कम्पनी मोडलमा ल्याई पुंजीबजारमा सुचिकृत गराउने बताएका हुन् । उनले यी संस्थानलाई कम्पनी मोडलमा लगेर पुंजीबजारमा सुचिकृत गर्दै आत्मानिर्भर बनाउदै थप पुंजी जुटाउने घोषणा गरेका हुन् । उनले घाटामा गएका सार्वजनिक संस्थानलाई ब्यबस्थापकिय सुधार गर्ने, खारेज गर्ने वा अन्य विकल्पमा लैजाने घोषणा गरेका हुन् । ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले संसदमा बजेट प्रतिस्थापन विधेयक पेस गरेको हो । शुक्रबार बसेको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक पेस गरेका हुन् ।प्रमुख प्रतिपक्षी दल एमालेकै अवरोधकाबीच अर्थमन्त्री शर्माले बजेट प्रतिस्थापन विधेयक पेस गरेका हुन् । उनले ओली सरकारका अर्थ मन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमाथि हेरफेर गरेर प्रतिस्थापन विधेयक पेस गरेका हुन् ।सरकारले फास्ट ट्र्याकबाट बजेट प्रतिस्थापन विधेयक पारित गर्ने तयारी गरेको छ। नियम निलम्बन गरेर  बजेट पारित गर्ने सरकारको तयारी छ।