जुगल हिमालको रूटमा ‘आइरन पाथ’ निर्माण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल हिमालको रूटमा आइरन पाथ (फलामको बाटो) निर्माण गरिएको छ । युरोपमा एड्भेन्चर टुरिजमको रूपमा प्रसिद्ध आइरन पाथ नेपालमा पहिलोपटक निर्माण भएको हो । पर्यटन विभागको ग्रेट हिमालय रूटको बजेटको ३० लाखमा सो आइरन पाथ निर्माण गरिएको हो । जुगल हिमालको बेसक्याम्पबाट पहरा तथा भीरमा ड्रिल मेसिनद्वारा खोपी फलाम राखेर बाटो निर्माण गर्ने गरिएको छ । साहिसक पर्यटक र पर्वतीय पर्यटनका लागि जुगल रूटमा आइरन पाथ खोलिएको टीम लिडर तुलसिं गुरुङले बताए । अन्तरराष्ट्रिय माउन्टेनियरिङ गाइड समेत रहेका गुरुङले आइरन पाथ युरोपको रक क्लाइम्बिङ क्षेत्रमा प्रसिद्ध रहेको बताए । ‘नेपालमा पहिलोपटक जुगल हिमाल क्षेत्रमा आइरन पाथ निर्माण भएको छ । यसले नेपालको साहसिक पर्यटनमा टेवा पुग्छ,’ उनले भने– ‘काठमाडौंबाट नजिकै रहेको जुगल हिमालको रूटमा यो बाटो बनेको छ । यसले जुगल हिमाल आरोणमा प्रत्यक्ष रूपमा सहज पुग्छ ।’ गुरुङको १० जनाको टीमले २० दिन लगाएर सो आइरन पाथ निर्माण गरिएको हो । राजधानीको नजिकै जुगल हिमाल भए पनि प्रवद्र्धन हुन सकेको छैन । हिमालको बेस क्याम्पसम्म पुग्ने बाटो सहज छैन । अब आइरन पाथ निर्माणले कठिन बाटो सहजै पार गर्न सकिने गुरुङको विश्वास छ । नेपाल पर्यटन बोर्डका अनुसार जुगल हिमशृङ्खलामा ग्याल्जेन पिकसहित ११ ओटा चुचुरो पर्दछन्, जसमध्ये ६ हजार २ सय ५६ मिटरदेखि ६ हजार ९ सय ६६ मिटर उचाइका आठ चुचुरा छन् । ६ हजार १ सय ५१ मिटर उचाइको ग्याल्जेन पिकको प्रथमपटक २०७५ चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा सफल आरोहण गरिएको थियो । त्यस्तै सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात जनाको टोलीले २०७७ कात्तिक ३ गते दोस्रो आरोहण गरेका थिए । ग्याल्जेन पिक तुलनात्मक रूपमा छोटो समय तथा सानो खर्चमा पनि चढ्न सकिने आरोही माया गुरुङले बताइन् । सो हिमाल अरोहण अनुमति लिन नेपालीलाई ४ हजार र विदेशीलाई २५० डलर तोकिएको छ । ८ हजारभन्दा मुनिका हिमाल आरोहण गर्न चाहने आरोहीले यसको आरोहण गर्न सक्छन् । ‘हामी पर्यटनका सम्भावनाहरूको खोजी गरी रोजगारी र आय बढाउन चाहन्छौं,’ गुरुङले भनिन्, ‘अब यो रूटमा आइरन पाथ बनेकाले जुगल आरोहणमा आउने पर्यटकमा वृद्धि हुनेछ ।’ जुगल हिमालहरूको प्रवर्द्धन हुन सके व्यापार, होटल व्यवसाय, रोजगारीको सृजना भई विकासमा टेवा पुग्ने उनको भनाइ छ । सगरमाथा आरोहण हुनु पहिला ६ हजार मिटरभन्दा अग्ला हिमाल चढ्नुपर्ने प्रावधान रहेकाले आरोहीले जुगल रोज्ने गरेको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । ‘तर यो हिमाल चढ्न निक्कै अफ्ठ्यारो रहेको आरोहीहरूले भनेका छन्,’ उनले भने, ‘अहिले आइरन पाथ बनेकाले साहसिक पर्यटक बढ्ने हाम्रो विश्वास छ ।’ यस्तै राजधानीसँग नजिकै रहेको र कम आरोहण भएको हिमाल हुँदा आरोहीहरू आकर्षित भएको पाइएको पर्यटन व्यवसायी मिलन लामाले बताए ।