असार ७, नयाँ दिल्ली (भारत) । भारतको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी मारुती सुजुकी इन्डियाले घरेलु बजारमा कारको मूल्य बढाउने भएको छ ।
उत्पादन लागतमा भएको वृद्धितर्फ औंल्याउँदै चालू आर्थिक वर्षको दोस्रो त्रैमासदेखि लागू हुने गरी कम्पनीले मूल्य बढाउन लागेको हो ।
उत्पादनसम्बन्धी विविध लागतमा भएको वृद्धिका कारण विगत वर्षमा कम्पनीको सवारी साधनको मूल्यमा निरन्तर प्रतिकूल प्रभाव परेको र यसको प्रभाव स्वरुप कारको मूल्य बढाइएको कम्पनीले एक नियामक फाइलिङमा भनेको छ ।
मूल्य कति बढाउन लागिएको हो भन्नेबारे चाँहि मारुतीले केही पनि खुलाएको छैन । मोडल अनुसार बढाइएको मूल्य फरक- फरक हुने छ । कम्पनीले यस अघि पनि जनवरी १८ मा उत्पादन लागत बढेको भन्दै केही मोडलको मूल्य २४ हजार रुपैयाँसम्म बढाएको थियो । एजेन्सी
*कारको मूल्य बढाउँदै मारुती सुजुकी हुनुपर्नेमा अन्यथा भएकाले यसअघिको समाचार सच्याइएको छ ।