प्रदेश १ का विभिन्न जिल्ला पठाएका भेन्टिलेटर थन्किए, आईसीयू बेड समेत सञ्चालन भएनन्

जेठ १३, धनकुटा । प्रदेश १ का विभिन्न जिल्ला अस्पतालमा सरकारले गत वर्ष उपलब्ध गराएको भेन्टिलेटर र आईसीयू सञ्चालनमा आउन सकेका छैनन् । जिल्ला अस्पताल धनकुटा, उदयपुर, इलाम, पाँचथर र मेची अस्पतालका लागि गत वर्ष नै भेन्टिलेटर किन्न बजेट विनियोजन भएको थियो । बजेट पठाइएका जिल्ला अस्पतालले भेन्टिलेटर र आईसीयू किनेको भए पनि कुनै पनि अस्पतालमा भेन्टिलेटर आईसीयू सेवा सञ्चालनमा आउन सकेको छैन । कोरोना महामारीमा संक्रमितहरु भेन्टिलेटर नपाएर ज्यान गुमाइरहेको बेला सरकारले करोडौँ खर्चेर किनेका भेन्टिलेटर भने थन्किएर बसेका छन् ।  सरकारले गत वर्ष धनकुटा र पाँचथर जिल्ला अस्पताल तथा मेची अस्पताल लाई ४–४ ओटा साथै उदयपुर र इलाम जिल्ला अस्पताललाई २–२ ओटा भेन्टिलेटर किन्न बजेट पठाएको थियो ।  बजेट अनुसार भेन्टिलेटर र आवश्यक पूर्वाधार निर्माण गरेको भए पनि ती जिल्लामा राख्ने ठाउँ नहुँदा र आवश्यक प्राविधिक जनशक्तिको अभावमा भेन्टिलेटर सञ्चालनमा आउन नसकेको हो । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले नौ महीनाअघि चारओटा भेन्टिलेटरसहित १० बेडको आईसीयू कक्ष निर्माण गर्न जिल्ला अस्पताल धनकुटालाई २ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर मेशिन खरीद गरिएको लामो समयसम्म सञ्चालनको काम अघि बढेको छैन ।  जिल्ला अस्पताल धनकुटामा भेन्टिलेटर र आईसीयू वेड राख्न ल्याइएका उपकरण जडान नहुँदा अलपत्र परेका छन् । ती उपकरण ल्याएको डेढ महीनाभन्दा बढी समय बितिसकेको छ । स्थान अभावकै कारण जडान हुन नसक्दा भेन्टिलेटर र आइसियूका उपकरणहरु अलपत्र परेको जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिटेण्डेट डा. पुजन विश्वकर्माले बताए । नेपाल सरकारको जनसुरक्षा कोषको सहयोगमा ४ ओटा भेन्टिलेटर सहितको १० ओटा आईसियू वेड सञ्चालन गर्न करीब १ करोड ६५ लाख रुपैयाँको लागतको खरीदमा उपकरणहरु ल्याइएको डा. विश्वकर्माले बताए ।  जिल्ला स्वास्थ्य कार्यालयको भवनमा अस्पतालको केहि सेवा सहितको प्रशासनिक फाँट सारेर खाली भएको स्थानमा भेन्टिलेटर सहितको आईसीयू वेडका लागि आवश्यक उपकरण जडान गर्ने प्रक्रिया अघि बढाइएको थियो । तर प्रदेश १ को सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरको बैठकले हालको स्वास्थ्य कार्यालय धनकुटा–४ देव्रेवास स्थित महिला विकास कार्यालयको नयाँ भवनमा सार्ने निर्णय गरेको थियो । प्रदेश १ का तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरे धनकुटा आएर स्थान छनौट गरि कात्तिक ६ गतेका दिन उक्त निर्णय गरिएको थियो ।  केहीदिन अघि मात्रै स्वास्थ्यको कार्यालय सरेको र उपकरण जडानको काम शुरु गरिएकोले दुई हप्ता सम्ममा जडान हुुने विश्वकर्माले बताए । अस्पतालले भेन्टिलेटर सहितको आईसीयू वेड राख्न आवश्यक पूर्वाधार निर्माणको लागि ठेक्का समेत लगाइसकेको छ । डा. विश्वकर्मा भन्छन्, ‘ठेक्का लागि सक्यो । ठेकेदारले काम शुरु गरेको छ ।’ असारसम्म निर्माण सम्पन्न गरिसक्ने गरि ३० लाख रुपैयाँमा ठेक्का लागेको हो । यता भेण्टिलेटर सञ्चालनको लागि एनेस्थेसियोलजिष्ठ र फिजिसियनको आवश्यकता हुन्छ । तर, जिल्ला अस्पतालमा एनेस्थेसियोलजिष्ट, फिजिसियनको दरबन्दी नै कायम गरिएको छैन । जिल्ला अस्पताललाई विशेषज्ञ सेवा तर्फको विज्ञापन र पदपूर्ति गर्ने अधिकार नभएको कारण हालसम्म पदपूर्ति गर्न नसकेको अस्पतालका सूचना अधिकारी राजन पोख्रेलले बताए ।  ‘प्रदेश १ सरकारको सहयोगमा गत आर्थिक वर्षको असार मसान्तमा ४ वटा भेण्टिलेटर प्राप्त भएको छ जडानको काम भइरहेको छ तर जडानपछि पनि सञ्चालनमा आउन सक्ने अवस्था नै छैन ।’ पोख्रेलले भने, ‘भेण्टिलेटर सञ्चालनको लागि आवश्यक जनशक्तिको व्यवस्थापन हुन सकेको छैन तर जनशक्ति माग गर्ने काम भइरहेको छ । जडान भइसक्दा जनशक्ति आउने अपेक्षा गरेका छौँ ।’ हाल कोभिड १९ संक्रमणको भयावह अवस्थामा यसको आवश्यकता धेरै नै रहेको छ ।  जिल्ला अस्पताल उदयपुरमा पनि प्रदेश सरकारले १ करोड रुपैयाँ बजेट पठाएकोमा २ ओटा भेन्टिलेटर ५ ओटा आइसियू बेड निर्माण गरिएको छ । भेन्टिलेटर र आइसियू बेड सञ्चालन गर्न सक्ने अवस्थामा भए पनि जनशक्ति नभएका कारण सञ्चालन गर्न नसकेको अस्पताल विकास समितिका अध्यक्ष खड्ग परियारले बताए । उनका अनुसार आइसियू र भेन्टिलेटर सञ्चालनका लागि एनस्थेसिया र पारामेडिक्स डाक्टरको आवश्यकता रहेको छ । उनले भने, ‘हामीले पटक–पटक जनशक्ति माग गर्यौँ, तर अहिलेसम्म सरकारले पठाएको छैन ।’  यसैगरी जिल्ला अस्पताल इलाममा पनि जनशक्ति अभावका कारण भेन्टिलेटर सञ्चालनमा आउन सकेको छैन । दुईओटा भेन्टिलेटर र पाँचओटा आईसीयू सञ्चालन गर्न सकिने अवस्थामा भए पनि जनशक्ति अभावका कारण सञ्चालनमा आउन नसकेको हो । ‘दुई महीनाअघि नै जडान गरेर सञ्चालन गर्न सकिने हालतमा राखेका छौँ,’ जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष गणेशप्रसाद बरालले भने, ‘जनशक्ति माग गरिरहेका छौँ, नपठाएका कारण सञ्चालन गर्न सकेनौँ ।’ कम्तीमा पाँचजना प्राविधिक जनशक्तिको आवश्यकता रहेको भन्दै उनले त्यति जनशक्ति प्रदेश सरकारले पठाए धेरैको ज्यान जोगिन सक्ने बताए ।  दुई करोड रुपैयाँमा गत वर्ष खरीद गरिएका ४ ओटा भेन्टिलेटर र २ ओटा आइसियू बेड पाँचथरमा पनि सञ्चालन नभई थन्किएका छन् । प्रदेश र संघीय सरकारलाई सञ्चालनका लागि आवश्यक जनशक्तिको माग गरिएको र चाँडै व्यवस्था मिलाउने आश्वासन पाएको अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विमल सापकोटाले बताए । उनले एक–दुई दिनभित्रमै जनशक्ति पठाउने आश्वासन पाएको बताए ।  मेची अस्पतालाई पनि सरकारले ४ ओटा भेन्टिलेटर किन्न बजेट पठाएको थियो । बजेट अनुसार भेन्टिलेटर खरीद गरेपनि सो भेन्टिलेटर ननकोभिडका बिरामीका लागि सञ्चालनमा रहेका छन् । 

सम्बन्धित सामग्री

जिल्ला अस्पताल ओखलढुंगामा भेन्टिलेटर र आईसीयू बेड खरिदमा रहस्यमय ढिलाइ

ओखलढुंगा : जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगालाई अत्यावश्यक भेन्टिलेटर र आईसीयू बेड खरिदमा ढिलाइ भइरहेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले द्रुत प्रक्रियाबाट खरिद गर्न निर्देशन दिएको एक महिना बितिसक्दा पनि अस्पतालमा भेन्टिलेटर र आईसीयू बेड जडान नभएको हो।स्वास्थ्य मन्त्रालयले दुईवटा भेन्टिलेटरसहित पाँचवटा आईसीयू बेड जडान गर्न एक महिनाअघि नै प्रदेश १ को सामाजिक विकास मन्त्रालयमार्फत जिल्ला अस्पताललाई निर्देशन दिएको थियो। तर, भेन्टिलेटर र आईसीयू बेड जडान जडानका लागि हालसम्म ठेक्का प्रक्रिया समेत