‘विद्युत् कटौती अति भयो, बरु घोषित लोडशेडिङ गर’

वीरगञ्ज । विनासूचना पटकपटक विद्युत् कट्न थालेपछि बारा पर्सा औद्योगिक कोरिडोरका उद्योग सञ्चालकले घोषित रूपमै लोडशेडिङ गर्न नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेका छन् । मुख्य औद्योगिक कोरिडोरमा दैनिक ८/९ घण्टा विद्युत् काट्न थालेको वीरगञ्ज उद्योग वाणिज्य संघअन्तर्गतको उद्योग समितिका संयोजक हरि गौतमले बताए । अहिले अधिकांश उद्योगको उत्पादन खुम्चिएको छ । उत्पादन २५ प्रतिशतमा झरिसकेको सम्बद्ध उद्योगीको दाबी छ । विद्युत् अभावमा झन् समस्या थपिएको उद्योगी बताउँछन् । ‘सूचनाविनै लाइन काट्दा उत्पादनको सिफ्ट व्यवस्थापनमा समेत समस्या देखियो । बरु घोषित रूपमै लोडशेडिङको तालिका पाए सजिलो हुन्थ्यो,’ संघका उपाध्यक्षसमेत रहेका गौतमले भने । सूचनाविनै बारम्बार लाइन कट्दा उत्पादन नराम्ररी प्रभावित भएको उद्योगीको गुनासो छ । फलाम, सिमेन्ट र भट्टीमा आधारित बढी विद्युत् खपत गर्ने उद्योगहरू धेरै प्रभावित छन् । विगत वर्षहरूको तुलनामा विद्युत्को आन्तरिक उत्पादन र भारतबाट आयातसमेत घटेपछि प्राधिकरणले उद्योगमा आपूर्ति काट्न थालेको हो । ‘पिक आवर’मा हुने माग व्यवस्थापनका लागि उद्योगमा २/३ घण्टा विद्युत् आपूर्ति घटाइएको प्राधिकरणका उच्च अधिकारीहरूले बताउने गरेका छन् । तर, दिनभरि पटकपटक लाइन जाने गरेको उद्योगीले बताएका छन् । अहिले पिक आवरमा विद्युत्को माग १ हजार ७ सय मेगावाट रहेको प्राधिकरणको तथ्यांक छ । आन्तरिक उत्पादन बढीमा १ हजार ३ सय मेगावाट रहेको र भारतबाट ४०० मेगावाट आयात भइरहेको प्राधिकरण अधिकारीहरू बताउँछन् । गतवर्ष हिउँदको तुलनामा यो वर्ष २० प्रतिशतले उत्पादन घटेको र भारतबाट आयातसमेत प्रभावित भएकाले मागअनुसार आपूर्ति हुन नसकेको प्राधिकरणको दाबी छ । पिक आवरमा ५० मेगावाटजति कम हुने र त्यसको व्यवस्थापनका लागि उद्योगमा कटौती गर्नुपरेको प्राधिकरणको भनाइ छ । प्रधिकरणले भारतबाट विद्युत् किन्दा पिक आवरमा बढी रकम तिर्नुपर्ने भएकाले अफ आवरमा ल्याउने गरेको छ । यसबाट बढी बिजुली खपत हुने पिक आवरमै उद्योगमा कटौती गर्नु परेको प्राधिकरणका अधिकारीको भनाइ छ । प्राधिकरणले अधिकांश आयात भारतको विहारबाट गर्दै आएको छ । विहारमा १४ सय मेगावाट क्षमताका दुईओटा थर्मल प्लान्ट बिग्रिएकाले पनि चाहिएजति विद्युत् ल्याउन नसकेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई बताउँछन् । बारा–पर्सा औद्योगिक कोरिडोरमा विहारबाट ल्याइएको विद्युत् आपूर्ति हुँदै आएको छ । उद्योगमा बारम्बार विद्युत् कटौती हुँदा कच्चा पदार्थ खेर जाने, उत्पादनमा कमी, उपकरण जल्ने र बिग्रिने, उत्पादनको गुणस्तरमा ह्रासजस्ता समस्या आएको संघका उपाध्यक्ष माधव राजपाल बताउँछन् । लोडशेडिङ अन्त्यको ४ वर्ष नबित्दै उद्योगमा अँध्यारो युग शुरू भएको उनको टिप्पणी छ । कोरोना महामारीयता चौतर्फी संकटमा जेलिएका उद्योग ऊर्जा असहजताका कारण थप मारमा परेको उद्यमीले बताएका छन् । बजारमा छाएको मन्दीबाट उद्योग १२ घण्टामात्र चल्ने गरेकोमा विद्युत्को आपूर्ति नियमित नहुँदा ८ घण्टा पनि चलाउन नसकिएको गौतमको गुनासो छ । ‘प्राधिकरणले जानकारी नै नदिई लाइन काट्छ । ५० रुपैयाँ युनिट पर्ने डिजेलको ऊर्जा प्रयोग गरेर उत्पादन गर्न सक्ने अवस्था छैन,’ उनले आर्थिक अभियानसित भने ।

सम्बन्धित सामग्री

बजारले जगाएको आशामा अघोषित लोडशेडिङले खन्यायो पानी

वीरगञ्ज । विकास निर्माणका काम सामान्य अवस्थामा चलेको हुन्थ्यो भने अहिले निर्माण सामग्री उद्योगका लागि ‘पिक सिजन’ हो । सामान्यतः कात्तिक/मङ्सिरदेखि जेठसम्म निर्माणका कामले गति लिने भएकाले यो समयमा यस्ता सामग्रीको माग बढी हुन्छ । तर, यसपटक त्यस्तो छैन ।  कोरोना महामारीयता सुस्ताएको बजार, घरजग्गा र निर्माणमा कसिलो नीतिका कारण बजार खस्किएको छ । विकास निर्माणका गतिविधिमा आएको मन्दीले यसै त निर्माण सामग्रीको बजार खुम्चिएको छ, त्यसमाथि नेपाल विद्युत् प्राधिकरणले गरेको अघोषित लोडशेडिङका कारण फाट्टफुट्ट आएको माग पनि पूर्ति गर्न नसक्ने स्थिति उत्पन्न भएको उद्यमीहरूले बाताएका छन् ।  निर्माणको क्षेत्रमा आएको मन्दीबीच केही समययता थोरै परिमाणमा भए पनि माग बढ्न थालेकोमा विद्युत् अभावमा उत्पादन नै गर्न नसकिएको एक डन्डी उद्योगीले बताए । ‘बजार सुध्रिन लागेको हो कि जस्तो भएको मात्रै के थियो, ऊर्जा अभावमा उत्पादन गर्नै नसकिने अवस्था आयो,’ ती उद्योगीले भने ।  प्राधिकरणले बारा/पर्साका उद्योगीलाई अनौपचारिक रूपमा समय नै तोकेर उद्योग नचलाउन भनिरहेको छ । वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालका अनुसार प्राधिकरणका अधिकारीहरूले उद्योगीलाई फोन गरेरै यस्तो आग्रह गरिरहेका छन् ।  प्राधिकरणको ६६ केभी प्रसारण लाइनबाट आपूर्ति लिएका औद्योगिक ग्राहकलाई यस्तो आग्रह गरिएको हो । बिहान ६ देखि ८ र साँझ ५ देखि ९ बजेसम्म उद्योग नचलाउन भनिएको हो । यो प्रसारण लाइनबाट आपूर्ति लिएका उद्योगमा प्राधिकरणले विद्युत् आपूर्ति बन्द गर्न सक्दैन । बढी विद्युत् खपत गर्ने उद्योगलाई प्राधिकरणले ६६ केभीबाट आपूर्ति दिएको छ ।  प्राधिकरणले समय नै तोकेर उद्योग नचलाउन भने पनि त्यो समयबाहेक पनि पटकपटक विद्युत् कटौती गरिरहेको उद्योगीहरूको गुनासो छ ।  ‘एक त प्राधिकरणले घोषित रूपमा लोडशेडिङ नगरी उद्योग नचलाएर सहयोग गर्न भनिरहेको छ, त्यसमा पनि पटकपटक विद्युत् कटौती भइरहेको छ,’ एक उद्यमीले भने । सुक्खा मौसमका कारण विद्युत् उत्पादनमा आएको कमी र आवश्यकताअनुसार आयात हुन नसक्दा आपूर्तिमा समस्या भएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । पिक आवरमा हुने बढी माग व्यवस्थापन गर्न उद्योगमा आपूर्ति कटौती गरिएको उनीहरूले बताउने गरेका छन् । विगत ६ महीनादेखि उद्योगमा विद्युत् आपूर्ति नियमित छैन ।  समय नै तोकेर उद्योग नचलाउन भनेपछि अरू समयमा नियमित र गुणस्तरीय आपूर्ति हुनुपर्ने उपाध्यक्ष राजपालको भनाइ छ । दैनिक ८/९ घण्टासम्म विद्युत् काटिएको उनले बताए । आपूर्ति नियमित नहुँदा उद्योगको उत्पादन नै प्रभावित भएको उद्योगीहरूले बताए । प्राधिकरणको ३३ केभी प्रसारणमा पनि विद्युत् कटौतीको समस्या रहेको उनीहरूको भनाइ छ ।