इलाम खानेपानी आयोजनाको काम ९० प्रतिशत

इलाम । इलाम बजार साना सहरी खानेपानी आयोजनाको काम ९० प्रतिशत सम्पन्न भएको छ । एशियाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माणाधीन खानेपानीको हाल उपभोक्ताका घरघरमा पानीको धारा जडान भइरहेको छ । आउने चैत मसान्तभित्र उपभोक्ताका घरमा पानी झार्ने गरी काम भइरहेको उपभोक्ता समिति अध्यक्ष केदार थापाले जानकारी दिए । उनका अनुसार इलाम नगरपालिकाभित्र रहेका सडक निर्माणले वितरण पाइपमा केही क्षति पुगेकोले पुनः मर्मत गर्ने तयारी भइरहेको छ । रिजर्भ ट्यांकी र वितरण लाइनमा परीक्षणका लागि पानी छोड्दै जाने बताइएको छ । आयोजनाको कुल लागतको ७० प्रतिशत रकम एडिबीले बेहोर्ने सम्झौतापत्रमा उल्लेख छ । शुरूको लागतको अनुमानित रकम ५ प्रतिशतले हुने चार करोडभन्दा बढी रकम उपभोक्ताले जम्मा गरिसकेका छन् । यो आयोजनाको पानी आएपछि इलाम बजार र आसपासका क्षेत्रका उपभोक्ताले चौबिसै घण्टा पानी पाउने बताइएको छ ।      करिब चार हजार घरधुरीलाई खानेपानी पुर्‍याउने लक्ष्य राखिएको आयोजनामा हालसम्म दुई हजार ८०० धारा जडान गरिसकिएको छ । ८४ करोड ७९ लाख १८ हजार रुपैयाँ लागत रहेको आयोजनाको निर्माणका लागि भने ५७ करोड ९५ लाखको सम्झौतामा काम भइरहेको छ । सन्दकपुर गाउँपालिकामा रहेका विभिन्न खोल्साको पानी जम्मा गरेर इलाम बजारमा ल्याइँदै छ, जसमा ४१ किलोमिटर आयोजनाको प्रसारण लाइन हुनेछ । आयोजना अन्तर्गत इलाम नगरपालिका ६, ७, ८ र ९ का नगरका ४ हजार १०० धारामा चौबिसै घण्टा खानेपानी आउने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष थापाले बताए । रासस