विराटनगर । कोशी प्रदेश सरकारले नेपाल–भारत सीमाक्षेत्र विराटनगरको रानीमा आकाशेपुलका साथै प्रवेशद्वार निर्माण शुरू गरेको छ । रू. ६ करोड २५ लाख २४ हजार लागतमा बन्ने आकाशेपुल र प्रवेशद्वारको मंगलवार प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले शिलान्यास गरेका हुन् ।
आकाशेपुल र प्रवेशद्वार निर्माणका लागि २०७७ जेठ २७ गते प्रदेश सरकारअन्तर्गत शहरी विकास तथा भवन कार्यालय विराटनगरले ह्याबिटाट आशिषदीप जेभीसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७९ असार १४ गते यी दुई संरचनाको निर्माण भइसक्नुपर्नेमा भन्सार कार्यालयले निर्माणमा अवरोध गरेपछि काम हुन सकेको थिएन ।
शिलान्यासपछि मुख्यमन्त्री कार्कीले आकाशेपुल र प्रवेशद्वारको निर्माण निर्धारित समयमै सकिनेमा आफू विश्वस्त रहेको बताए । सोहीअनुसार कामलाई तीव्र बनाउन ठेकेदार कम्पनीलाई उनले आग्रह गरे ।
पछिल्लो समय भन्सार विभागले प्रवेशद्वार निर्माण गर्न दिने भएपछि मुख्यमन्त्री कार्कीले शिलान्यास गरेका हुन् । शहरी विकास तथा भवन कार्यालयले ठेकेदारलाई मोबिलाइजेशनबापत रू. १ करोड ३० लाख भुक्तानी दिइसकेको थियो । तर पुल बनाउने स्थान यकिन नहुँदा काम अघि बढ्न सकेको थिएन ।
प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र उद्योग संगठन मोरङको साझेदारीमा प्रवेशद्वार निर्माण गर्ने तय भएको थियो । काम थाल्न लाग्दा आकाशेपुल र प्रवेशद्वार दशगजा क्षेत्रमा पर्ने भनेर रोकिएको थियो । भारततर्फ भने दशगजामै स्वागतद्वार छ ।
अहिले पुरानो भन्सार कार्यालय नजिकै आकाशे पुल र स्वागतद्वार बनाउने सहमति भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मोहन चापागाईंले जानकारी दिए । मन्त्रालयले ठेक्का सम्झौता नै रद्द गर्ने अवस्थामा पुगेको बेला यी दुई संरचना बन्ने निश्चित भएको हो । उक्त योजनमा प्रदेश सरकारले ७५ प्रतिशत, विराटनगर महानगरले २५ प्रतिशत र उद्योग संगठन मोरङले ५ प्रतिशत लागत साझेदारी गर्ने सहमति भएको छ ।