कसरी बन्यो सुस्ताएको पर्यटन बिउँझाउने भाइरल भिडियो

नेपाली पर्यटन उद्योग धराशायी भएका बेला भारतमा जन्मिएकी एक नेपाली बुहारीले बनाएको भिडियो एकाएक भाइरल बन्यो । नेपाल घुम्न जाने सातवटा कारण शीर्षकको सो भिडियो नेपाली पर्यटन क्षेत्रका लागि देबदूत नै बन्यो । नेपाल र भारतबीच सम्बन्ध केही चिसिएका बेला भारतमा जन्मिएर नेपालसँग जोडिएकी युवतीको यो भिडियोले धेरै नेपालीका भावनामा छोयो । एक प्रकारले गुमनाम रहेकी मानसी अग्रवाल सो भिडियोका कारण अहिले चर्चामा हुनुहुन्छ । उहाँले नेपाल पर्यटन क्षेत्रलाई नयाँ फरक शैलीबाट बनाएको ८ मिनेटको भिडियो सार्वजनिक गरे संगै उहाँको भिडियो भाइरल बनेको छ । उहाँले बनाएको भिडियो देश विदेशमा रहेका नेपालीलगायत विदेशी नागरिकले हेरिरहेका छन् । उहँको भिडियोलाइ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि शेयर गर्नु भएको थियो । उहाँले नेपाल चिनाउन बनाएको फरक भिडियोले गर्दा नै विदेशबाट नेपाल घुम्न आउन इच्छा गर्नेहरुले आफूलाई सामाजिक संजाल, फोनलगायत विभिन्न माध्यमबाट सोध्नेहरुको संख्या बढिरहेको मोटिभेशनल स्पीकर अग्रवाल बताउनुहुन्छ । उहाँ नेपालका धेरै ठाउँको भ्रमण गरिसक्नु भएको छ ।