जेठ १६, दोलखा । यस जिल्लाको भीमेश्वर नगरपालिका २ मा रहेको राजकुलेश्वर आधारभुत विद्यालय भवनको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।
दाताको ५ करोड ४५ लाख १६८ रुपैयाँको लगानीमा विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको हो । हेल्प नेपाल नेटवर्क नामक गैह्र सरकारी संस्थाको लगानीमा भवन निर्माण सम्पन्न भएको राजकुलेश्वर अधारभूत विद्यालयका प्रधानअध्यापक प्रकाश दहालले जानकारी दिए ।
विसं २०७२ सालमा भुकम्पले विद्यालय भवन ध्वस्त भएपछि विद्यार्थीरु टहरोमा अध्ययन गरिरहेका थिए । दाताको सहयोगका कारण अब भने विद्यार्थीहरुले अध्ययन गर्न सुविधा सम्पन्न भवन पाएको प्रधानाध्यापक दाहालले बताए ।
भवन निर्माणको समन्वय स्थानीय राजहिटी समाज दोलखाले गरेको थियो भने मुख्य सहयोगीहरुमा रोटरी क्लव अफ पाटन दरवार स्क्वायर र नेप्लीज सोसाईटी अफ टेक्सास रहेका थिए । उपभोक्ताहरुबाटै विद्यालय भवनको निर्माण गरिएको थियो ।
नवनिर्मित भवनको आइतवार भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले उद्घाटन गरेका छन् । उक्त अवसरमा मेयर मानन्धरले दाता तथा सहयोगीहरुलाई सहयोग गरेकोमा धन्यवाद दिंदै अवका दिनमा विद्यालय परिवार शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुनु पर्नेमा जोड दिएका थिए ।
नवनिर्मित विद्यालय भवनमा एक बैठक कक्षसहित २६ ओटा कोठाहरु रहेका छन् । भुईंतला सहित तीन तल्ला रहेको उक्त भवन पुरातात्विक शैली झल्कने गरि निर्माण गरिएकोले दोलखा शहरको सौन्दय समेत बढेको स्थानीयहरुको भनाइ छ । विद्यालयमा बाल कक्षादेखि कक्षा आठसम्म अध्यापन हुने गरेको छ ।