हरित अर्थतन्त्रका लागि स्थानीय उत्पादनलाई बजारसँग जोड्नु आवश्यक छ । यसका लागि काभ्रेको पाँचखालमा महिला उद्यमी हरित औद्योगिक पार्क निर्माण हुन लागेको छ जसले महिला उद्यमशीलताको इकोसिस्टम निर्माण गर्नेछ । यसको सञ्चालनपछि सातै प्रदेशमा यस्तै पार्क स्थापना गर्ने लक्ष्य पनि छ । पहिचान गरिएको वस्तुको उत्पादन, प्रशोधन र बजारीकरणमा पार्कले काम गर्ने बताइएको छ । तर, पार्कमै उत्पादन गर्ने नीति हो भने त्यो निकै सानो आकारको हुनेछ । अहिले नै तीतेपाती र नीमबाट बनेको साबुन, सिस्नाको धूलो, टिम्बुरको अचार, अदुवाको क्यान्डी, लप्सीको माडा आदि बनाएर महिला उद्यमीहरूले राम्रो पहिचान बनाइरहेका छन् । मुलुकबाट निर्यात हुने वस्तुहरूमा यिनको नाम आउन थालिसकेको छ । अब यस औद्योगिक पार्कले यसलाई थप व्यवसायीकरण गर्न जसरी मद्दत गर्छ त्यसले निर्यातको आँकडा बढाउन भूमिका खेल्ने देखिन्छ ।
पाँचखाल नगरपालिकाको १ सय रोपनी जग्गामा स्थापना हुने पार्कका लागि १० ओटा कच्चा पदार्थ पहिचान गरिएका छन् । ती वस्तुको निर्यात पनि राम्रो भइरहेको छ । यिनमा थप अनुसन्धान गरी थप मूल्य अभिवृद्धि गर्नुका साथै गुणस्तर र परिमाणमा सुधार ल्याउन आवश्यक छ । त्यसमा यो पार्क सहयोगी हुन सक्छ ।
खासमा यस्तो पार्क सोसल आन्त्रपे्रनरसिपको अवधारणामा सञ्चालन गर्नु उपयुक्त हुन्छ । यसले किसानहरूलाई यसरी पहिचान गरिएको वस्तुको खेती गर्न, सही तरीकाले फसल टिप्न तालीम दिनुपर्छ । त्यस्तै यिनको बिरुवा उपलब्ध गराउनु पनि आवश्यक छ । महिलाहरूले उत्पादन गरेका यी वस्तुबाट प्रशोधित वस्तु उत्पादन गर्न सहयोग गरिदिने वा पार्कले प्रशोधन गर्ने व्यवस्था मिलाउनु उपयुक्त हुन्छ । नेपालको उत्पादनले विश्व बजारमा प्रवेश नपाउनुका कारण ठूलो परिमाणमा उत्पादन नहुनु एउटा हो भने गुणस्तरमा समानता नहुनु अर्को हो । छरिएर रहेका महिला उद्यमीलाई सहजीकरण गरेर समान गुणस्तर र अझ एउटै ब्रान्डमा सामान उत्पादन गर्ने वातावरण बनाइनु आवश्यक हुन्छ ।
यो पार्क अहिले सञ्चालनमा रहेका औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रभन्दा फरक प्रकृति र संरचनामा सञ्चालन गरिनु आवश्यक छ । अन्यथा अहिले औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र राम्ररी सञ्चालन गर्न नसकिएजस्तै अवस्था महिला औद्योगिक पार्कको पनि नहोला भन्न सकिँदैन । यही पार्कले भर्चुअल बजारको व्यवस्था गर्ने भनिएको छ । मुलुकभरि यी पहिचान गरिएको वस्तुको खेती, फसल भित्त्याउने काम, भण्डारण र प्रशोधन यी सबै काम पार्कले भनेको मापदण्डअनुसार गर्नुपर्ने र पार्कले तिनबाट बनेका सामानको बजारीकरण गरिदिने राम्रो उपाय हुन सक्छ । त्यसैले यो अवधारणा निकै राम्रो छ ।
सातै प्रदेशमा यस्तो पार्क स्थापना गरिने बताइएको छ । पार्क धेरै खोल्नुभन्दा यसमा धेरैभन्दा धेरै महिला उद्यमीलाई समेट्नु, उनीहरूको व्यवसायलाई आधुनिक बनाउन सहयोग गर्नुजस्ता कार्य बढी महत्त्वपूर्ण हुन्छन् । कतिपय महिला उद्यमीहरूले पार्कले पहिचान गरेका वस्तुबाट विभिन्न उत्पादन गरिरहेका छन् । तिनलाई एउटै ब्रान्डमा ल्याउने, समान गुणस्तर कायम गराउने जस्ता कार्य पनि पार्कले गर्नुपर्ने देखिन्छ । पार्क बन्नु राम्रो हो । यसले नयाँ सम्भावनाको ढोका खोल्छ । तर, पार्क बन्दैमा महिला उद्यमशीलताका समस्या छुमन्तर भइजाने होइन । त्यसैले यो पार्क अन्य औद्योगिक क्षेत्रजस्ता नभई बेग्लै खालको सोच र संरचनामा बन्नु आवश्यक छ । खासगरी धेरै भन्दा धेरैलाई यसमा समेट्न सक्नुपर्छ । यसको अर्थ देशभरिका उद्यमी महिलाले पाँचखालका जे उत्पादन हुनसक्छ, त्यसैको खेती गर्ने होइन कि माटो र भूगोल सुहाउँदा उत्पादन गर्न सहयोग र प्रोत्साहन गर्नुपर्छ । नेपालमा अझै पनि अग्र्यानिक उत्पादनको सम्भावना छ, जुन अन्तरराष्ट्रिय बजारमा माग पनि छ । यसको साथै विश्वबजारमा माग रहेको कृषि उपजलाई प्राथमिकता दिन सक्दा एकातिर हरित अर्थतन्त्रलाई प्रोत्साहित गर्छ भने अर्कोतर्फ नेपालको र स्वयम् उत्पादन गर्नेहरूको पनि पहिचान बन्छ ।