काठमाडौं। नेपाल राष्ट्र बैंकले रिभर्स रिपो तथा निक्षेप संकलन उपकरण जारी गर्दा समेत नबढेको अन्तरबैंक ब्याजदरमा बैंक, वित्तीय संस्थामा निक्षेप घटेपछि सुधार देखिएको छ । बैंकहरूले स्थानीय तहको निक्षेप र ऋणपत्रलाई निक्षेपका रूपमा गणना गर्न पाउने अवधि सकिएपछि मंगलवार अन्तरबैंक ब्याजदर साढे ६ प्रतिशत पुगेको हो ।
बैंकहरूले स्थानीय तहको ८० प्रतिशत रकम र २०७८ भदौभन्दा अघि जारी भएका ऋणपत्र निक्षेपका रुपमा गणना गर्न पाउने सुविधा असारमा सकिएपछि निक्षेप १ खर्ब ९ अर्ब रुपैयाँले घटेको छ । गत साता १ प्रतिशतभन्दा तल झरेको अन्तरबैंक ब्याजदर निक्षेपमा घटेसँगै मंगलवार ६ दशमलव ५१ प्रतिशत कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार मंगलवार बैंक, वित्तीय संस्थासँग ५६ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप छ । सोमवारको तुलनामा निक्षेप ८५ अर्ब रुपैयाँ घटेको हो । गत आर्थिक वर्षको अन्तिम दिन ५७ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको निक्षेप चालू वर्षको २ दिनमा १ खर्ब ९ अर्ब रुपैयाँले घटेको छ ।
बैंक, वित्तीय संस्थामा तरलता अभावसँगै सरकारले गतवर्ष स्थानीय तहको सञ्चित पैसालाई ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न सक्ने सुविधा दिएको थियो । उक्त सुविधा असारबाट सकिएपछि बैंकहरूको निक्षेप १ खर्बले घटेको छ । अब बैंकहरूले स्थानीय तहको रकममध्ये ५० प्रतिशतमात्र निक्षेपका रुपमा गणना गर्न पाउँछन् । त्यसैगरी बैंकहरूले ऋणपत्र जारी गरी संकलन गरेको रकमलाई निक्षेपमा गणना गर्न पाउने सुविधा पनि असारमा सकिएको छ । बैंकहरूलाई दिइएका सुविधा सकिएपछि एकैपटक निक्षेप उच्च अंकले घट्दा अन्तरबैंक ब्याजदरमा दबाब बढेको हो । यसअघि राष्ट्र बैंकले रिभर्स रिपो तथा निक्षेप संकलन उपकरणबाट तरलता खिच्दासमेत अन्तरबैंक ब्याजदर लक्षित सीमाभित्र आउन सकेको थिएन ।
निक्षेप घटेसँगै बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि बढ्न थालेको छ । मंगलबार बैंकहरूको औसत सीडी रेसियो बढेर ८२ दशमलव ९९ प्रतिशत पुगेको छ । गत आवको अन्तिममा सीडी रेसियो ८१ प्रतिशतसम्म झरेको थियो ।
बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने व्यवस्थाअनुसार अहिले करीब ४ खर्ब रुपैयाँ थप कर्जा विस्तार गर्न सक्ने क्षमता छ । यसअघि कर्जा विस्तारको क्षमता ५ खर्ब रुपैयाँसम्म पुगेको थियो ।
चालू आव शुरू भएपछि बैंक, वित्तीय संस्थाको कर्जा पनि १२ अर्ब रुपैयाँले घटेको छ । गत आवको अन्तिममा कुल कर्जा लगानी ४८ खर्ब ७९ अर्ब रहेकोमा चालू आर्थिक वर्षका २ दिनमा घटेर मंगलवार ४८ खर्ब ६७ अर्ब कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । सोमवारको तुलनामा मंगलवार ७ अर्बले कर्जा घटेको छ । यसमध्ये वाणिज्य बैंकको ६ अर्ब र विकास बैंक तथा वित्तीय संस्थाको १ अर्ब घटेको छ ।