आज सगरमाथा हिमाल विश्वकै एक मात्र ‘आइकोनिक’ को रूपमा स्थापित भएको छ । यो हिमाल आरोहण गर्न हालसम्म अनुमानित १८–१९ हजारदेखि २०–२१ हजार पर्वतारोहीले प्रयास गरे होलान् । हुन त सगरमाथा हिमाल एकै व्यक्तिले दोहोर्याएर, तेहेर्याएर पनि चढेका छन् । कसैले त २८औं पटक पनि सगरमाथा चढिसकेका छन् । त्यसमा लगभग ८ हजार चानचुनले सफलता प्राप्त गरेका छन्, सन् १९५३ देखि सन् २०२३ को वसन्त ऋतुसम्ममा । भूगर्भविद् तथा वैज्ञानिकहरूका अनुसार आजभन्दा १ करोड ५१–५२ लाख वर्षदेखि १ करोड ५६–५७ लाख वर्षअघि सगरमाथा हिमालको उत्पत्ति भएको हो । यो टेथिस महासागर टेक्टोनिक प्लेट सर्ने–चल्ने क्रममा बनेको मानिन्छ । गूगल सर्चअनुसार टेथिस महासागर आजको एशिया, उत्तर अफ्रिका, अरब मुलुक र भारत रहेको क्षेत्रमा फैलिएको थियो भने त्यस बेला (करीब ४० मिलियन वर्षअघि) उत्तरतर्फ सर्दै सर्दै आल्पस पर्वत माला र हिमालय पर्वत माला बनेको हो । त्यस्तै करीब ८० मिलियन वर्षअघि आजको भारत ६,४०० किलोमीटर दक्षिणको युरेसिया प्लेटमा रहेको थियो ।
सगरमाथा हिमाल आरोहणको इतिहास सन् १९२२ देखि शुरू भएको देखिन्छ । त्यसयता सन् २०२३ को वसन्त ऋतुसम्ममा नेपाललगायत विभिन्न देशका करीब ८ हजार पर्वतारोहीले सगरमाथा आरोहण गरिसकेका छन् । सन् २०२३ मा त सगरमाथा आरोहण अनुमति जारी गरेबापत मात्रै ६६ करोड ६४ लाख २० हजार नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा सलामी रकम नेपाल सरकारको मातहत रहेको पर्यटन विभागले संकलन गरेको छ । यसरी हेर्दा लाखौं अमेरिकी डलर खर्च गरेर जिन्दगीमा एकपटक जसरी भए पनि ‘विश्वको अग्लो हिमाल सगरमाथा चढेरै छाड्ने’ अठोट र सपना साँचेर नेपाल आउँछन्, विश्वका कयौं देशका पर्वतारोहीहरू । तर, सगरमाथा आरोहण व्यक्तिको इज्जत, मान, सम्मान, कीर्तिमान राख्न, आफ्नो देशको नाम विश्वभरि फैलाउन र अजर अमर राख्नभन्दा पनि जसरी पनि चढ्नैपर्ने रहरको विषय हुन थालेको छ । यसले गर्दा सगरमाथा आरोहण पनि आजभोलि एउटा राम्रो व्यापारका रूपमा फस्टाइरहेको देखिन्छ । सगरमाथा आरोहणका लागि साहस, धैर्य र मौसमको साथ पनि अनिवार्य शर्त हो । अझ मौसमले साथ दिनका लागि त पर्वतारोहीले कैयौं दिनसम्म उपयुक्त समय पर्खेर क्याम्प–२, क्याम्प–३, क्याम्प–४ मा बस्नुपर्ने हुन्छ ।
बीबीसी नेपाली सेवाले आफ्नो अनलाइन संस्करणमा पछिल्लो पटक अपलोड गरेको एक रिपोर्टअनुसार सगरमाथा हिमालको आसपास रहेका हिम नदीमा विगत २ हजार वर्षदेखि जमेर रहेको बरफ केही वर्ष अघिदेखि तीव्र गतिमा पग्लन शुरू भएको छ । उक्त रिपोर्टका अनुसार लगभग ७ हजार ९०० मीटरको उचाइमा रहेको साउथपोल र त्यस वरिपरि रहेको ग्लेसियरको बरफ पग्लिने क्रम ८० गुणाले छिटो रहेको देखाएको छ । यसले दिने संकेत सामान्य मानिसले पनि सहजै अनुमान गर्न सक्छ । यसको संकेत हो : अब सगरमाथा हिमालको आयु छोटिँदै छ । केही गरी सगरमाथा हिमालको आयु लामो नै रहे तापनि सगमाथा हिमालमा हिउँ पर्न छाड्यो र बरफ जम्न पनि छाड्यो भने ढुंगैढुंगा र चट्टानी भीरपहरा मात्रै चढ्न को आउला ? सगरमाथाको शिरमा पुग्न कुनै पनि मै हुँ भन्ने प्रख्यात पर्वतारोहीलाई पनि धेरै गाह्रो अथवा असम्भव जस्तै हुनेछ । त्यस्तै सगरमाथा हिमालको बेस क्याम्प पनि विगतको समयमा भन्दा १ सय ५० मीटर तल सरिसकेको छ ।
विश्वका विभिन्न देशका पर्वतारोहीहरूका लागि कीर्तिमान राख्ने, नेपाल सरकारका लागि हिमाल आरोहणबाट हुने प्राप्त हुने सलामी रकममध्ये सबैभन्दा धेरै सलामी रकम प्राप्त हुने (समग्रमा वर्षभरिमा नेपालका विभिन्न हिमाल आरोहण गर्न आउने विदेशी पर्वतारोही तथा नेपाली पर्वतारोहीहरूबाट उठ्ने सलामी रकममध्ये ८४–८५ प्रतिशतदेखि ८८–८९ प्रतिशतसम्म रकम सलामीबापत प्राप्त हुने) सगरमाथा हिमालको भविष्यबारे हामीले अब पनि चिन्ता नगर्ने, केही नसोच्ने र जुर्मुरिएर सगरमाथालाई लामो समयसम्म बचाइराख्न तदारुकताका साथ काम नगर्ने हो भने कहिले गर्ने ? अहिले पनि समय घर्किसकेको छैन, त्यसैले बेला छँदै जल तथा मौसमविद्हरू, वातावरणविद्हरू, भूगर्भविद तथा वैज्ञानिकहरू, नेपाल सरकार र नेपाल सरकारको जिम्मेवार निकाय र मातहतमा बसेका महानुभावहरू, ग्रूप लिडर, सरदार, पर्वतारोही तथा स्वदेशी एवम् विदेशी पर्यटन व्यवसायी, त्यसमा पनि पर्वतारोहणसम्बन्धी व्यापार–व्यवसाय गरिरहेका ट्राभल तथा ट्रेकिङ एजेन्सीका सञ्चालकहरू, सबै मिलेर सकेसम्म सगरमाथा बचाउन र सगरमाथाको आयु अलि लामो समयसम्म तन्काउनका लागि के गर्न सकिन्छ ? त्यस सम्बन्धमा मिलेर काम गर्न शुरू गरिहाल्नुपर्ने देखिन्छ ।
लेखक पर्यटनकर्मी हुन् ।