गर्मीमा खाने हैन त ? गोटाको करीब १५ लाख रुपैयाँ पर्ने खरबुजा

जेठ १२, काठमाडौं । अहिले गर्मीको बेला छ । घर भित्र बस्दा त गर्मीले उकुसमुकुस छ । बाहिर हिंड्ता त झन चर्को घामले पोलेर के चिसो खाउँ ? कसो गरौं ? हुन्छ ।  गर्मी भगाउन यो बेलामा अधिकांशले खरबुजा खान्छन् । काठमाडौंको चोक अनि गल्लीमा साइकल, ठेला र पसलमा खरबुजा किन्न पाइन्छ । एउटा खरबुजाका लागि तपाईले कतिसम्म मूल्य तिर्नु भएको छ ?  जापानको सुदूर उत्तरमा रहेको प्रिफेक्चरमा भने युबारी जातका एउटै खरबुजा १५ लाख येन* मा विक्री भएको छ । होक्काइदोमा यस वर्षको पहिलो लिलामी दुई ओटा ३० लाख येनमा विक्री भएको भन्दै क्योदो न्यूजले समाचार छापेको हो । बोलकबोलमा विजयी बोलकबोलकर्ता युबारीस्थित फलफूल र तरकारी विक्रेता तथा प्याक गर्ने कम्पनी होकुयुप्याक भएको बताइएको छ ।  खरबुजाका लागि दिइएको यो मूल्य गत वर्षको विजयी बोलकबोलको भन्दा १० प्रतिशत धेरै हो । गत वर्ष दुई ओटा खरबुजा २७ लाख येनमा विक्री भएको थियो ।  यो मूल्य सुनेर तपाईहरुले जिब्रो टोक्नु त भएन ? यस वर्षको मूल्य खरबुजाले पाएको अहिलेसम्मकै उच्च मूल्य भने होइन । सन् २०१९ मा युबारी जातिको दुई ओटा खरबुजा ५० लाखमा येनमा बिकेका थिए ।  अर्थात् त्यति बेला एउटै खरबुजाको लागि २५ लाख येन बोलकबोल गरिएको थियो । कम्पनीले युबारीमा जुन ४ र ५ मा खबरबुजा चाख्न निःशुल्क कार्यक्रम गर्दैछ । खरबुजाको अद्वितीय स्वादले गर्दा यो त्यति मूल्य तिर्न लायक भएको कम्पनीका अध्यक्ष कियोमिची नोदाले बताएका छन् । बिहीवार कुल २ हजार ७२१ ओटा खरबुजाको लिलाम विक्री गरिएको थियो ।  यस वर्ष स्थानीय ९८ जना कृषकहरुले २ खर्ब ३ अर्ब येन मूल्यका कुल ३ हजार ४३८ ओटा खरबुजा विक्री गर्ने योजना बनाएको स्थानीय सहकारीले बताएको छ । जापानमा कृषि क्षेत्रको प्रवर्द्धनका लागि हरेक वर्ष कयौं प्रकारका फलफूल र तरकारीका लागि यसरी बोलकबोलको आयोजना गरिन्छ । सिजनको पहिलो बोलकबोल फलफूलले प्रायः उच्च मूल्य पाउने गरेका छन् । एजेन्सीको सहयोगमा *१०  येन = ९. ९७ रुपैयाँ