काठमाडौं महानगरमा केशव स्थापित र सृजना सिंहको भीडन्त, यस्तो छ दुवैको राजनीतिक पृष्ठभूमि

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिन सोमवार हो । काठमाडौंलगायत सबै ६ महानगर र त्यहाँ उम्मेदवारी दिएका पात्रहरू यतिबेला चर्चामा छन् । काठमाडौं महानगरमा सत्तारूढ गठबन्धनका तर्फबाट सृजना सिंहले उम्मेदवारी दिएकी छन् भने एमालेका तर्फबाट यसअघि महानगरकै मेयर बनेका केशव स्थापितले उम्मेदवारी दिएका छन् । स्थापितको राजनीतिक पृष्ठभूमि कमजोर छ तर व्यक्तित्व बलियो छ । सिंहको भने पारिवारिक राजनीतिक पृष्ठभूमि बलियो छ भने राजनीतिमा कम सक्रिय उम्मेदवार हुन् । स्थापित २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा काठमाडौंकै मेयर बनेका हुन् । त्यतिबेलै उनको आक्रामक छवी थियो । स्थापित पटक-पटक विवादमा पनि तानिने गरेका छन् । सिंह र स्थापित दुवैले धेरै मतान्तरले काठमाडौंको मेयर जित्ने बताउने गरेका छन् । शक्तिशाली राजनीतिक पृष्ठभूमिकी सिंह लौहपुरुष गणेशमान सिंहकी बुहारी र प्रकाशमान सिंहकी पत्नी हुन् । चौधौं महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुरलाई सहयोग गरेका प्रकाशमानको गुन तिर्न उनकी पत्नी सिर्जनालाई काठमाडौंको मेयर उम्मेदवार बनाइएको चर्चा यदाकदा चल्न थालेको छ । दुवै उम्मेदवारको पृष्ठभूमिबारे विस्तृत चर्चा गर्नुभन्दा पहिला २०७४ सालको निर्वाचनका आधारमा आधारमा काठमाडौं महानगरपालिकाको मतविश्लेषण गरौँ । काठमाडौंको मत विश्लेषण २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले विद्यासुन्दर शाक्यलाई उठाएको थियो र जित हासिल गरेको थियो । शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएका थिए । त्यतिबेला कांग्रेसको तर्फबाट उम्मेदवार बनेका राजुराज जोशीले ४५ हजार २ सय ६९ मात्र मत ल्याउन सके । त्यतिबेला काठमाडौंमा एमाले र राप्रपाबीच गठबन्धन बनेको थियो । उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९ सय ५२ मत ल्याएर विजयी हुँदा राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत ल्याएका थिए । माओवादी उम्मेदवार सर्वोत्तम डंगोलले मेयरमा ७ हजार ९ सय ६ मत ल्याएका थिए ।अघिल्लो चुनावमा विवेकशीलकी रन्जु दर्शना र साझा पार्टीका तर्फबाट मेयर लडेका किशोर थापाको कूल मत ४२ हजार थियो । अहिले स्वतन्त्र रूपमा उठेका बालेन शाहले खासै मत नकाट्ने कांग्रेस र एमालेको बुझाइ छ । त्यतिबेला कांग्रेस र एमालेका मेयर उम्मेदवारले ल्याएको मतको अन्तर करीब १९ हजार थियो । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको जोड्दासमेत कांग्रेसलाई त्यतिबेलाको अन्तर मेटाउन मुश्किल देखिन्छ । त्यतिबेला वैकल्पिक शक्तिका रूपमा उठेका दर्शना र थापाले प्राप्त गरेको मत र नयाँ थपिएको मत कांग्रेसमा गएमा सिंहको बिजय निश्चित छ । सिंहको राजनीतिक पृष्ठभूमि ?नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहकी पत्नी श्रृजना काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि दोस्रो नम्बरमा सिफारिस भएकी थिइन् । प्रकाशमानकी पत्नी मात्र नभइ उनको राजनीतिक पृष्ठभूमि भने लामो छ । उनले ०३२ सालमा काँग्रेसको क्रियाशील सदस्यता लिएकी थिइन् । ०३६ सालमा काँग्रेस प्रतिबन्धित हुँदा उनी गोरखा नेपाल महिला संघ बहुदल प्रचार–प्रसार समितिको संयोजक थिइन् ।०३६ सालदेखि ३८ सालसम्म उनी नेविसंघको क्याम्पस इकाई सभापति पनि भएकी थिइन् । त्यसपछि उनले शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनमा वर्तमान उर्जामन्त्री पम्फा भुसाललाई कोषाध्यक्षमा हराएकी थिइन् ।०४२ सालमा प्रकाशमानसँग बिहे गरेपछि उनी राजनीतिबाट निष्क्रिय जस्तै हुन पुगिन् । यद्यपि ०५९ मा काँग्रेस विभाजन भइ बनेको शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा उनको सक्रियता देखिएको थियो । पति प्रकाशमान जेलमा भएका बेला काँग्रेस प्रजातान्त्रिकको ११ औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधि भएकी थिइन् ।त्यसपछि भने काँग्रेस राजनीतिमा उनको सक्रियता थिएन । तर काँग्रेसको १४ औं महाधिवेशनबाट सिर्जना पुनः सक्रिय राजनीतिमा देखिएकी हुन् । १४ औं महाधिवेशनमा उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि बनेकी थिइन् ।स्थापितको राजनीतिक पृष्ठभूमि केशव स्थापित भिजन भएका र विकासवादी नेताकै रुपमा चिनिन्छिन् । आफ्नो जति अरुको क्षमता छैन भन्ने स्वभाव हुँदाहुँदै पनि काठमाडौँका जनताले विकासवादी नेताका रुपमा चिनेका व्यक्ति हुन् उनी ।उनले २०५१ सालमै विवाद र आलोचनाकै बीचमा खेलकुद परिषद्को सदस्य सचिव भएर सफलताका साथ काम गरेर देखाएका थिए । २०४९ को स्थानीय चुनावमा उपमेयरमा पराजित भएपनि २०५४ मा मेयर नै जितिदिए । मेयरमा जितेनन् मात्रै, उदाहरणीय काम गरेर सफल मेयरको उपमा पनि पाए ।अहिले माइतीघर मण्डला रहेको ठाउँमा सडक अतिक्रमण गरेर त्यतिबेला बजार बसेको थियो । स्थापिथ आफैँ अघि लागेर त्यो बजार नै भत्काएर रातारात आकर्षक मण्डला खडा गरे ।सडक पूर्वाधारतर्फ कालिमाटी–कुलेश्वर खण्ड विस्तार गरेर चौडा बनाए । कुनैपनि सडकको नामाकरण हुन नसकेको अवस्थामा उनले काठमाडौँका सबैजसो सडकको नामाकरण गरिदिए । आफ्ना पीता बितेको समयमा समेत स्काभेटरसँगै सडकमा बसेर काममा खटिन्थे । त्यसबेला देखिको उनको जोश अहिले पनि उस्तै छ भन्छन् उनलाई नजिकबाट चिन्नेहरु ।विकासप्रेमी एकातिर हुन् भने अर्कोतिर उनी काठमाडौँका रैथाने नेवार समुदायका व्यक्ति हुन् । उनलाई उपत्यका बाहिर पनि धेरैले अतिथि वक्ताका रुपमा लगिरहन्छन् । विकास तत्काल गर्न सकिन्छ भनेर सपना देखाउने, योजना बनाउने, बनाइएका योजना जनतालाई सुनाई हाल्ने, निराशाका कुरा नगर्ने, सबैलाई आशावादी बन्न उत्प्रेरणा दिईरहने, जोखिम मोल्न नडराउने उनको स्वभाव सबैले मन पराउँछन् ।पार्टीको भातृ संगठनमा केपी ओली र केशव स्थापित एउटै कमिटीमा थिए भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । अझ, एउटै कमिटीमा मात्रै होइन, दुवै जना कार्यकारी भूमीका थिए । २०४७ सालमा एमालेको तत्कालिन भातृ संगठन ‘प्रजातान्त्रिक राष्ट्रिय युवा संघ’को अध्यक्ष केपी ओली थिए भने केशव स्थापित महासचिव थिए । त्यतिबेला यो संगठन जति शक्तिशाली अरु संगठन थिएनन् । ओली यो संगठनको संस्थापक अध्यक्ष, स्थापित संस्थापक महासचिव ।ओलीपछि स्थापित नै यो संगठनको अध्यक्ष बनेका थिए । स्थापित भन्दा पछि युवा संघको अध्यक्ष भएकाहरु एमालेको पदाधिकारी, स्थायी कमिटी सदस्य र मन्त्री नै भईसके । तर, स्थापित अहिले पनि एमालेको केन्द्रीय सदस्यमा सिमित छन् ।

सम्बन्धित सामग्री

मतदाताले खोजे नयाँ अनुहार

समाचार विश्लेषण । लामो राजनीतिक जीवन बिताएकाहरु प्रति मतदातामा आकर्षण घटेको स्थानीय चुनावको मतपरिणामहरुले देखाउन थालेको छ । विगतमा जितेका उम्मेदवारहरु कतिपय स्थानमा हारेका छन् भने मुश्किलले जीतेका छन् । युवाहरुप्रति मतदाताको आकर्षण बढेको छ । काठमाडौं महानगरपालिकामा बालेन साहको लोकप्रीय मतले देशभर तरङ्ग ल्याएको छ । उनले पूर्वमेयर केशव स्थापित र नेविसंघको राजनीति गरेकी […]

चुनावको मुखमा अराजक राजनीति !

काठमाडौं : नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापित चर्चामा आइराख्ने व्यक्ति हुन्। उनीमाथि लागेको ठूलै आरोप किन नहोस्? उनले हल्का रूपमा लिइदिन्छन्। उनीमाथि यौन दुर्व्यवहारको आरोप पनि यसअघि नलागेको होइन। तर, त्यो कुरा उनी स्वीकार्न तयार छैनन्।  उनले उम्मेदवार दर्ता गराएपछि भनेका थिए, ‘आजकल यो पागलहरूका लागि औषधि खान केही पैसा लाग्दैन। मेरो अरू भनाइ छैन। बेलाबेलामा यो इस्यु उठ्छ। त्यसमा मेरो भनाइ केही पनि छैन। विवादमा आएन भने केशव स्थापित नै हुँदैन नि।&rs

यौन दुराचारको आरोप लागेका केशव स्थापितलाई पोलिग्राफ टेस्ट गर्न चुनौती

नेपाली राजनीति, त्यसमा पनि विशेष गरी जव कम्युनिष्टहरुलाई जोडेर विवाद र विरोधाभाष हुन्छ, त्यहाँ केशव स्थापितको नाम प्राय जोडिन्छ। यसरी हेर्दा लाग्छ, विवादको अर्को रुप नै केशव स्थापित हुन। उनै स्थापितलाई ...