काठमाडौं। नेपालको जनगणना २०७८ को पूर्ण विवरण आएसँगै नेपालको अर्थतन्त्रलाई निर्धारण गर्ने पक्षहरूका आँकडा सार्वजनिक हुन थालेका छन् । यस जनगणनाको हालै सार्वजनिक तथ्यांक अनुसार नेपालमा आर्थिक रूपले सक्रिय १० वर्ष वा सोभन्दा बढी उमेर भएको जनसंख्या पनि एक महत्र्वपूर्ण पाटोको रूपमा रहिआएको छ ।
नेपालको जनगणना २०७८ का अनुसार नेपालमा यस उमेर समूहका आर्थिक रूपले सक्रिय जनसंख्या १ करोड ४९ लाख ८३ हजार ३१० रहेको छ । उक्त जनसंख्यामध्ये करीब शून्य दशमलव ३५ प्रतिशतको प्रमुख पेशाको रूपमा सूचना र सञ्चार पेशा रहेको छ । कुल पुरुषमा शून्य दशमलव ५० प्रतिशत सूचना र सञ्चार पेशामा आबद्ध रहेको पाइन्छ भने कुल महिलामध्ये शून्य दशमलव १८ प्रतिशत सूचना र सञ्चार पेशामा आबद्ध रहेका छन् ।
शहरमा सूचना र सञ्चार पेशामा आबद्ध जनसंख्याको हिस्सा शून्य दशमलव ५० प्रतिशत रहेको छ भने यो हिस्सा गाउँपालिकामा शून्य दशमलव शून्य ९ प्रतिशत रहेको छ । हिमालमा सूचना र सञ्चार पेशामा आबद्ध जनसंख्याको हिस्सा शून्य दशमलव १२ प्रतिशत, पहाडमा शून्य दशमलव ५४ प्रतिशत र तराईमा शून्य दशमलव २१ प्रतिशत रहेको छ ।
प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा सूचना र सञ्चार पेशामा आबद्ध जनसंख्याको हिस्सा शून्य दशमलव २३ प्रतिशत, मधेश प्रदेशमा शून्य दशमलव १४ प्रतिशत, बागमती प्रदेशमा शून्य दशमलव ९४ प्रतिशत, गण्डकी प्रदेशमा शून्य दशमलव
२९ प्रतिशत र लुम्बिनी प्रदेशमा शून्य दशमलव १८ प्रतिशत रहेको छ । यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा सूचना र सञ्चार पेशामा आबद्ध जनसंख्याको हिस्सा क्रमशः शून्य दशमलव १२ प्रतिशत र शून्य दशमलव १४ प्रतिशत रहेको छ ।