दोल्ती पावर र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट पाए अनुमति

काठमाडौं । दुई ओटा अलग - अलग कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले दोल्ती पावर कम्पनी र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । दोल्ती पावर कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीले अहिले दैलेख जिल्लामा ४ दशमलव ८ मेगावाट क्षमताको पदम खोला स्मल हाइड्रो पावर प्रोजेक्ट सञ्चालन गरिरहेको छ । यसैगरी भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले  आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले  १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता शेयर निष्कासन गर्नेछ ।  उक्त कम्पनीले पनि दैलेख जिल्लामा ३ दशमलव ७५ मेगावाट क्षमताको दोरी खोला स्मल हाइड्रो पावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।दुबै कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।