बेसीशहर । लमजुङको बेसीशहर–१, दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन बढेको छ ।
केही दिनयता बेलाबेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मर्स्याङ्दी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिए । पुस लागेसँगै २६/२७ मेगावाट मात्र बिजुली उत्पादन हुँदै आएकामा अचेल ५८ देखि ६० मेगावाट पुगेको उनले बताए । विगत वर्षमा जेठमा मात्र बिजुली उत्पादन बढ्ने गरेको थियो । मध्यमर्स्याङ्दीको जडित क्षमता ७० मेगावाट हो ।
यसरी नै वृद्धि हुँदै गए वैशाखभित्रै पूरै क्षमतामा बिजुली उत्पादन हुने देखिएको केन्द्रले जनाएको छ । सन् २००० मा निर्माण शुरु भएको यो आयोजना सन् २००८ मा सम्पन्न भएको हो । यो २७ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण भएको हो । रासस