काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल सरकारबाट वैदेशिक अनुदानको रकम स्वीकृति नलिइ जथाभावी खर्च गरेको पाइएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले विभागअन्तर्गत राष्ट्रसंघीय ओजोन कार्यक्रम सञ्चालन सम्बन्धित तालुक निकायबाट स्वीकृति नगराएर लामो समयदेखि कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रममा खर्च भएको रकमलाई महालेखाको प्रतिवेदनमा बेरुजू देखिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा स्वीकृत नगराएर विदेशी अनुदानको ओजोन कार्यक्रम सञ्चालन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । विगत सात÷आठ वर्षदेखि महानिर्देशकसमेत रहेका पुडासैनीले २०७४ सालदेखि ओजोनतर्फ तलब, इन्धन, वर्कशप र अध्ययन तथा आर्जन दिवसलगायतका शीर्षकमा स्वीकृतिविना खर्च गरेको बताइएको छ । विभागले ओजोन कार्यक्रमका लागि २०७४ मा ७१ लाख २६ हजार २०७५ मा ५८ लाख ८९ हजार र २०७७ मा ५८ लाख ८९ हजार रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाले तालुक निकायबाट स्वीकृत नभएको कारण औंल्याएको छ । उता विभागको लेखा शाखाले पनि आव २०७७/७८ मा ओजोन तह कार्यक्रम सञ्चालन गरेको, तर स्वीकृत नभएको बताएको छ ।
नेपाल सरकारलाई प्राथमिक वैदेशिक सहायता रकम राष्ट्रिय बजेट प्रणालीमा आबद्ध गरी स्वीकृत कार्यक्रमअनुरूप सञ्चालन गर्नुपर्ने नीतिगत व्यवस्था छ । आन्तरिक र अन्तिम लेखा परीक्षण गर्ने निकायबाट नियमअनुसार कार्यक्रम स्वीकृत नगरी खर्च गरेको भनी विगतका वर्षदेखि वार्षिक रूपमा कुल वार्षिक खर्च रकम नै बेरुजू कायम गरिएको तथ्य अभिलेखबाट पुष्टि भइसकेको विभागको लेखा शाखाले बताएको छ । विभागअन्तर्गतका ल्याबको अवस्था पनि नाजुक रहेको प्राविधिक बताउँछन् । रासस