प्रदेश सरकारको आयु लम्ब्याउन सभामुखले साथ दिएको आरोप

विराटनगर । प्रदेश १ को प्रदेशसभामा विपक्षी दलका नेताहरूले प्रदेश सरकार र सभामुखको चर्को आलोचना गरेका छन् । संविधान र कानून विपरीत सरकारले संविधानको गलत व्याख्या गर्ने र त्यसमा सभामुखले सहयोग गरेको भन्दै प्रदेशसभाको आइतवारको बैठकमा नेताहरूले चर्को विरोध गरेका हुन् । गठन हुँदै प्रष्ट अल्पमतमा परिसकेको भीम आचार्य नेतृत्वको प्रदेश १ सरकारले कार्यकर्तालाई विभिन्न नियुक्ति दिलाउन सरकारको आयु लम्ब्याउन चाहेको आरोप समेत नेताहरूले लगाएका छन् । नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बो र एकीकृत समाजवादीका नेता राजेन्द्र राईले विशेष समय लिएर बोल्दै सरकार निर्लज्ज बनेर आयु लम्ब्याउन लागेको र त्यसमा सभामुखले साथ दिएको उनीहरूले बताएका थिए । ‘सरकारले प्रस्ताव ल्याएको छैन भनेर सभामुखले छूट पाउनुहुन्न,’ ती दुवै नेताको साझा कथन थियो, ‘सभामुख व्यवस्थापिका प्रमुख हो । सरकार संविधान बाहिर जाँदा उहाँले सरकारलाई रुलिङ गर्नुपर्छ ।’ एमालेमा छँदा तत्कालीन माधव नेपाल समूह निकट रहेका आचार्यका विश्वासपात्र सभामुख प्रदीप भण्डारीले शनिवार दिनभर विपक्षी गठबन्धनका नेताहरूलाई फोन गरेर दशैंपछिसम्म पर्खिदिन आग्रह नै गरेका थिए । तर, विपक्षी दलका नेताहरूले दशैं भनेर धर नपाइने भन्दै संसद् जारी राख्नुपर्ने माग गरेका छन् । सभामुखले सोमवार एक बजेका लागि संसद् बोलाएका छन् । नेकपा एमाले र जनता समाजवादी पार्टी एकै दिन विभाजित हुँदा समान राजनीतिक घटनाक्रमबाट गुज्रिएका तीनओटा प्रदेश सरकारमध्ये प्रदेश २ का मुख्यमन्त्रीले विश्वासको मत लिइसकेका छन् । आइतवार विश्वासको मत लिने तय बागमतीमा भइसकेको छ । प्रदेश १ मा भने आइतवार प्रस्ताव समेत दर्ता भएको छैन ।