च्यांग्राको भुवा संकलन र प्रशोधन गर्न मुस्ताङमा भित्रियो नयाँ प्रविधि

वैशाख १९, म्याग्दी । मुस्ताङमा पश्मिना बनाउने कच्चापदार्थ भुवा (च्यांग्राको ऊन) संकलन र प्रशोधन गर्ने नयाँ सीप र प्रविधि भित्र्याइएको छ । नेपाल पश्मिना उद्योग संघद्वारा विश्व व्यापार संगठन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको समन्वयमा काजिकिस्तानको प्रविधि र सीप भित्र्याइएको  हो ।  च्याङग्रापालन र भुवा संकलनलाई आधुनिक र व्यवस्थित बनाइ गुणस्तर सुधार गर्न विदेशी सीपसहितको तालिम सञ्चालन गरिएको संघले जानकारी दिएको छ । संघका उपाध्यक्ष धनप्रसाद लामिछानेले च्यांग्राको शरीरबाट भुवा निकाल्ने काइयो भित्र्याएर त्यसको प्रयोगका विषयमा मुस्ताङका किसानलाई तालिम सञ्चालन गरिएको जानकारी दिए ।  ‘नेपालमा अहिलेसम्म परम्परागत तरिकाले ऊन निकाल्ने चलन थियो’, उनले भने ‘काजिकिस्तानबाट प्रशिक्षक बोलाएर ऊन निकाल्ने सीप र प्रविधि भित्र्याएका हौँ ।’ च्यांग्राको स्वास्थ्यमा असर नपर्ने गरेर ऊन निकाल्न मिल्ने काइयो नेपालमै पहिलो पटक मुस्ताङमा भित्र्याइएको उनले बताए ।  सो काइयोको प्रयोगबाट ऊन निकाल्ने सीप सिकाउन लोमान्थाङमा ३५ जनालाई काजिकिस्तानका सविरले प्रशिक्षक प्रशिक्षण दिनुभएको छ । तालिम लिएका किसानसहितको टोलीले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाको सात स्थानमा २५ देखि ३० किसानलाई तालिम सञ्चालन गरेका छन् । सो तालिममा मनाङका दुई किसानसमेतको सहभागिता थियो । तालिमका सहभागी किसानलाई नयाँ प्रविधिमार्फत ऊन निकाल्ने काइयो वितरण गर्ने तयारी छ । संघले मङ्गोलिया र चीनबाट ल्याउने पश्मिनाको कच्चापदार्थको आयात घटाएर आत्मनिर्भर बन्नका लागि मुस्ताङ, डोल्पा र मनाङको ऊन प्रशोधन गरेर पश्मिना बनाउने धागो उत्पादन गर्न काठमाडौंमा नेपाल फाइबर प्रोसेसिङ उद्योगसमेत सञ्चालनमा ल्याएको छ ।  मुस्ताङको चराङमा संकलन केन्द्र खोलेर डोल्पाको समेत रू. एक करोड २५ लाख मूल्य बराबरको दुई हजार ८०० किलो ऊन खरीद गरिएको छ । सीप र प्रविधि भित्रिएपछि मुस्ताङमा वार्षिक दश हजार किलो ऊन संकलन गर्न सकिने लोमान्थाङका किसान एवम् नेपाल फाइवर प्रोसेसिङ उद्योगका सञ्चालक छिरिङ वाङ्दी गुरुङले बताए ।   उद्योगले मुस्ताङको लोमान्थाङमा जग्गा भाडामा लिएर ऊन सङ«कलन केन्द्र निर्माण थालेको छ । केन्द्र तथा स्थानीयद्वारा भुवा उत्पादनबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, सहसचिव गोविन्दबहादुर कार्की, विश्व व्यापार संगठनका नेपाल प्रमुख माथियाज नाप्के, निर्देशक डा विदुर घिमिरे, नेपाल व्यापार प्रवर्द्धन केन्द्रका निमित्त निर्देशक सुयस खनाल, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष विजयकुमार दुगडको टोलीले आइतवार अनुगमन गरेको थियो ।  नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पश्मिना बनाउन च्याङग्राको ऊन प्रशोधन गरेर बनाएको धागो कच्चापदार्थको रुपमा प्रयोग हुन्छ । संघका अनुसार नेपालबाट वार्षिक रू. तीन अर्बको पश्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पश्मिना बनाउन आवश्यकपर्ने भुवाको धागो आयात हुन्छ ।  विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका किसानबाट च्यांग्राको भुवा खरीद गर्न थालिएको पश्मिना व्यवसायी भीमप्रसाद शेरचनले बताए । मुस्ताङको मात्र भुवा प्रशोधन गर्न सकेमा ३० प्रतिशत भुवाको धागो आयात घट्ने उनले बताए । बजारको सुनिश्चितता नभएकाले मुस्ताङका किसानले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । यसअघि च्यांग्राको शरीरबाटै ऊन झरेर खेर जाने गरेको थियो ।  ३० प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो । तिब्बती सीमा कोरला नाकामा अन्तरदेशीय व्यापार मेला हुँदा चिनियाँ व्यापारीले सामानसँग ऊन साटेर लैजाने गर्छन् ।  कोरोनाका कारण पछिल्लो दुई वर्षयता व्यापार मेला नहुँदा करोडौँ मूल्यको ऊन विक्री हुनसकेको थिएन । प्रतिकिलो अप्रशोधित ऊनको सदरदर मूल्य रू. चार हजार ५०० मा खरीद गर्ने संघले जानकारी दिएको छ । वैशाख–जेठ महीना च्याङग्राको शरीरबाट ऊन निकाल्ने याम हो । मासुका लागि प्रसिद्ध हिमाली च्यांग्राको छाला र मल पनि विक्री हुन्छ ।  च्यांग्राको ऊन पश्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो । भेडा र चांैरीको तुलनामा च्यांग्राको ऊनलाई गुणस्तरीय मानिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका किसानले ५२ हजार च्याङग्रा पालेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जानकारी दिएको छ । रासस