पर्यटकको आकर्षक गन्तव्य तालतलैयाको फोहोर व्यवस्थापनमा चुनौती

धरान (अस) । पछिल्लो समय सुनसरीका सिमसार क्षेत्रहरू पर्यटकको आकर्षक गन्तव्य बन्दै गएका छन् । सिमसार क्षेत्रमा पुगेर प्रकृतिको मनोरम दृश्यावलोकनसँगै त्यहाँ रहेका पार्क, चिडिया घर लगायतले आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने गरेको छ । सिमसार क्षेत्रहरू जति पर्यटकीय स्थल बन्दै गएको छ, त्यति नै दूषित पनि बन्दै गएका देखिन्छन् । सिमसार क्षेत्रको संरक्षण तथा फोहोर व्यवस्थापनमा स्थानीय सरकारले चासो नदिँदा प्रदूषित बन्दै गएका पर्यटकले गुनासो गर्न थालेका छन् । सिमसार क्षेत्रका पानीका मुहान पनि सुक्दै गएका छन् । एकातिर वनभोज खान आउनेहरूले जथाभावी फोहोरले प्रदूषित बन्दै गएको छ भने तालतलैयामा रहेका जलकुम्भीका कारण आकर्षक तालतलैयाको सौन्दर्य नै हराउन थालेको छ । फोहोरले दूषित बनाउँदै गएपछि इटहरीस्थित तालतलैया क्षेत्रमा शनिवार सरसफाइ गरिएको छ । तालमा भरिएका जलकुम्भीहरू नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत स्थानीयहरूको सहयोगमा सरसफाइ गरिएको हो । जलकुम्भीले वातावरणमा नकरात्मक असर पर्ने र तालको सुन्दरता  ढाकिने भएपछि सरसफाइ गरिएको तालतलैया संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनालले बताए । ‘तालतलैयाको सुन्दरता देखेरै सयौं सर्वसाधारण तालतलैया घुम्न आउँछन् । जलकुम्भीका कारण ताल कुरूप बन्दै गयो । यसको सुन्दरतामा निखार ल्याउन पनि हामीले सरसफाइ गरेका हौं,’ उनले भने । पछिल्लो समय तालतलैयामा रहेको पोखरी, चिल्ड्रेन पार्क, चिडिया घर र विभिन्न आकृति खोपिएका ढुंगाका मूर्तिहरूले तालतलैयामा सर्वसाधारणको आकर्षण बढेको बताइएको छ ।