आईसीपीको कस्टम यार्डमा कार्गो ल्याउन निजीक्षेत्र तयार

विराटनगर। नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा उद्घाटन गरेको लामो समयपछि विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) को नेपाल कस्टम यार्डमा भारतको कोलकाता बन्दरगाहबाट कार्गो ल्याउन निजीक्षेत्र तयार भएको छ । कोलकाता बन्दरगाहबाट विराटनगरको आईसीपीसम्म कार्गाे रेल सञ्चालन हुन नसकेपछि भारतका लागि नेपाली महावाणिज्यदूत सहितको टोलीले विराटनगरस्थित आईसीपीको भ्रमण गरी उद्योगी व्यवसायीसँग छलफल गरेपछि निजीक्षेत्र नेपाल कस्टम यार्डमा कार्गाे ल्याउन तयार भएको हो ।  महावाणिज्यदूत ईश्वरराज पौडेलसहितको टोलीले कोशी प्रदेशका उद्योगी व्यवसायीलाई सोमवार भेटेर नेपाल कस्टम यार्ड प्रयोग गरी आयातनिर्यात गर्न आग्रह गरेको हो । अधिकारीहरूको आग्रहपछि व्यवसायी कोलकाता बन्दरगाहबाट नेपाल कस्टम यार्डमा ‘माल मगाएर हेर्न’ तयार भएका हुन् । सामान लोड अनलोड गर्ने सुविधा र सेडको अभाव भएको गुनासो गर्दै आएका उद्योगी व्यवसायीले बन्दरगाहबाट माल ल्याएपछि यार्डको भौतिक अवस्था र ढुवानी लागतबारे स्पष्ट हुनेछ ।  प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला गत जेठ १८ गते दुई देशका प्रधानमन्त्रीबाट उक्त आईसीपी उद्घाटन भएको थियो । उद्घाटनको दिन आरती स्ट्रिपको एचआर सीट बोकेर कार्गाे रेल आएको थियो । त्यसपछि गत पुसमा पशुपति आइरनको स्पन्ज आइरन लिएर अर्काे कार्गाे आयो । तर, निजीक्षेत्रको अपेक्षाअनुरूप कार्गाे नियमित सञ्चालन हुन सकेको छैन ।  कोलकाता बन्दरगाहबाट आईसीपीसम्म चारओटा वस्तुमात्र ल्याउन पाउने सम्झौताका कारण आईसीपीको नेपाल कस्टम यार्डसम्म मालवस्तु आउन नसकेको निजीक्षेत्रले बताउँदै आएको छ । सम्झौताअनुसार कोलकोता बन्दरगाहबाट विराटनगरस्थित आईसीपीमा सिमेन्ट, कोइला, क्लिंकर र मलमात्र ल्याउन पाइन्छ । अहिले आईसीपीको भारतीय क्षेत्रसम्म मात्र माल ढुवानी हुँदै आएको छ । अन्य वस्तु पनि ढुवानी गर्न पाउने गरी सम्झौतालाई सहज बनाउन नेपाल र भारतका अधिकारीहरूबीच पटकपटक वार्ता भए पनि त्यसले सकारात्मक परिणाम ल्याउन सकेको छैन । विराटनगरका लागि कोलकाता सबैभन्दा नजिकको बन्दरगाह हो ।  पछिल्लो समय दुवै देशका अधिकारीहरुबीच सबै सामान ढुवानी गर्न पाउने गरी सम्झौता पुनरवलोकन गर्ने विषयमा छलफल अघि बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल मोरङ व्यापार संघको निम्तोमा विराटनगर आउनुभएका बेला गत पुसमा उद्योगी व्यवसायीले प्रधानमन्त्रीलाई समस्या अवगत गराएपछि उहाँले कार्गाे शुरू गराउन आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।  विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले अहिले भारतबाट रेलमार्फत ढुवानी गर्नुपर्ने सामान विराटनगर आईसीपीमा ल्याउन समस्या नरहेको बताए । यसै महीना बस्ने दुई देशका सचिवस्तरीय बैठकबाट टुंगो लागेपछि अन्य वस्तुको कार्गाे पनि आउने उनको भनाइ छ । वाणिज्य सहसचिव स्तरमा यो विषय उठेकाले सचिवस्तरीय बैठकबाट टुंगो लाग्ने र कार्गो शुरू हुने उनले बताए ।  मोरङ व्यापार संघका कार्यकारीणी सदस्य अमित शारडाले दुई देशका सरकारले वार्ता गरेर यो समस्याको समाधान एकै दिनमा निकाल्न सक्ने बताए । भारतीय दूतावासले चाहँदा समस्याको समाधान तत्कालै गर्न सक्ने भए पनि ८ महीनासम्म अल्झिँदा आईसीपीको फाइदा निजीक्षेत्रले लिन नसकेको उनको गुनासो छ । उनले आईसीपीको कोड आइसकेकाले कोलकाताबाट आईसीपीमै माल मगाउन शुरू गरिएको जनाए । माल यहाँ आएपछि भाडा कति बढी या कम लाग्छ र भौतिक पूर्वाधारमा केके कुरा आईसीपीमा थप्नुपर्छ भन्ने थाहा हुने बताए । अहिले भारतबाट ल्याइएको माल जोगवनी आईसीपीमा अनलोड गर्नुपर्छ ।  जोगवनीबाट सिलिगुडी र रक्सौल रेल सेवाको तयारी  विराटनगर–सीमावर्ती भारतीय बजार जोगबनीबाट पश्चिम बंगालको सिलिगुडी र विहारको रक्सौलसम्म रेलसेवा सञ्चालनको तयारी शुरू भएको छ । नेपालका सीमावर्ती क्षेत्रमा चल्ने रेलको फाइदा नेपाली यात्रुलाई पनि हुनेछ । विराटनगर आसपासका धेरै मानिसको किनमेलको क्षेत्र पश्चिम बंगालको सिलिगुडी शहर हो । व्यावसायिक कामका लागि उद्योगी व्यापारी रक्सौल पनि जान्छन् । व्यावसायिक र घरायसी सामान किन्न विराटनगरबाट काँकडभिट्टा नाका हुँदै सिलिगुडी जाने यात्रुलाई जोगवनीबाट सोझै रेल चढेर जाने सुविधा थपिँदै छ ।  औद्योगिक कच्चा पदार्थ कहिलेकहीँ रक्सौल हुँदै वीरगञ्ज नाकाबाट कोशी प्रदेशका उद्योगमा ल्याउने गरिएको छ । त्यसका लागि व्यवसयाीलाई गाडीबाट १ दिन लगाएर जानुपर्ने बाध्यता छ । भारतको रेल विभागले सीमापारिका ती दुई बजारमा जोगबनीबाट रेल सञ्चालनको तयारी गरेको हो ।  भारतीय रेलका उपनिर्देशक राजेश कुमारद्वारा जारी सूचनाअनुसार जोगबनीबाट सिलिगुडी सातामा ५ दिन र जोगबनीबाट रक्सौल सातामा २ दिन रेल सञ्चालन हुनेछ । सोमवार र बिहीवार जोगबनी–रक्सौल र अन्य वार जोगबनी–सिलिगुडी रेल सञ्चालनको तयारी छ । थप रेल आउने भएकाले जोगबनीस्थित रेल स्टेशनमा निर्माण कार्य धमाधम भइरहेको छ । भारतको जोगबनीस्थित हिन्दुस्तान टाइम्सका पत्रकार वरूण मिश्राका अनुसार स्टेशनमा पिट लाइन बिछ्याइँदै छ भने रेल सफाइ र धुलाइका लागि पनि अलग्गै स्थान बनाउने तयारी छ । यस्तै यात्रीका लागि अर्को प्लेटफर्म पनि बनाउने तयारी छ । जोगबनीबाट शुरू हुने नयाँ रूटमा सबैभन्दा बढी दरभंगा र सहरसाका यात्री हुने स्थानीयको भनाइ छ । रक्सौलबाट जोगवनी रेल सेवा शुरू भए यहाँका उद्योगले कच्चा पदार्थ ल्याउन सजिलो हुने र लागत पनि कम लाग्ने मोरङ व्यापार संघका महासचिव अनिल शारडाले बताए । रक्सौलबाट वीरगञ्ज हुँदै फेरि विराटनगरसम्म माल ढुवानी गर्दा लामो रूट पर्ने र ढुवानी भाडा बढी लाग्ने गरेकोमा सोझै रक्सौलबाट जोगवनी ल्याउँदा खर्च केही कटौती हुने उनले बताए ।