काठमाडौं । भारतका तेल प्रशोधन कम्पनीहरूले रुससँग किनेको कच्चा तेलको भुक्तानी चिनियाँ युआनमा गर्न लागेका छन् ।
रोयटर्सले स्रोतहरूलाई उद्धृत गर्दै हालै यसबारे समाचार छापेको छ । मस्कोमाथि पश्चिमी देशहरूले प्रतिबन्ध कसिलो बनाएको समयमा रुसमा तेल ग्राहकहरू भुक्तानीमा डलरको विकल्प खोज्न बाध्य भइरहेको बेलामा भारतले पनि युआन चलाएको हो ।
गएको वर्षको शुरुमा युक्रेनमाथि आक्रमण गरेयता रुसको मुख्य निर्यात वस्तु तेलको व्यापार प्रवाह चौपट बनेको छ । पश्चिमी देशहरूले नकिनेको तेल उसले समुद्र मार्ग भएर भारी छूटमा भारत र चीनलाई बेच्न थाल्यो । जुनमा भारतको रुसी तेल खरीदले नयाँ उचाइ छोएको छ ।
बजार विश्लेषण कम्पनी केप्लरमा कच्चा तेल विश्लेषक भिक्टर काटोनाका अनुसार भारतले जुनमा दैनिक २२ लाख ब्यारेल रुसी कच्चा तेल किनेको छ । योसँगै रुसी तेल खरीद लगातार १० औं महीना पनि बढेको छ । जुनको रुसी तेल खरीद साउदी अरब र इराकको जोडेर हुन आउने भन्दा पनि धेरै छ ।
तर भारतको टाउको दुखाइ भने आफूमाथि प्रतिबन्ध नलाग्ने गरी रुसलाई कसरी केमा भुक्तानी गर्ने भन्ने छ । परम्परागत रूपमा विश्व व्यापारमा भुक्तानी माध्यमको रूपमा डलरकै प्रयोग हुँदै आएको छ । तर, युक्रेनी आक्रमण यता चिनियाँ युयानले रुसको वित्तीय प्रणालीमा डलरको विकल्प बनिरहेको छ ।
चीनले पनि रुससँग किनेको अधिकांश तेलको भुक्तानी युआनमै गरिरहेको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) भारतमा सबैभन्दा धेरै रुसी तेल किन्ने कम्पनी हो । स्रोतहरूका अनुसार जुनमा पहिलो पटक आईओसी युआनमा भुक्तानी गरेको थियो । अन्य प्रशोधन कम्पनीहरूले भने अन्य मुद्रामा भुक्तानी गरिरहेका छन् ।
भारतीय तेल कम्पनीहरूले रुसलाई भुक्तानी गर्न यूएईको दिराम, रुसी रुबल र भारु समेतका विकल्पहरूबारे पनि विचार गरिरहेका छन् । रुसी कच्चा तेल पश्चिमी देशहरूले तोकेको मूल्य सीमा अर्थात् प्रतिब्यारेल ६० डलरमा किन्ने हो भने डलरबाहेकका यी मुद्रामा भुक्तानी गर्दा अन्तरराष्ट्रिय प्रतिबन्धले छुने छैन ।
भारतीय कम्पनीहरूले कति तेलको भुक्तानी युआनमा गरेको भन्ने स्पष्ट भएको छैन । रुसको भारी छूटका कारण भारतीय तेल आयातकर्ताहरूको ७ अर्ब डलरभन्दा बढीको रकम बचेको बताइएको छ । एजेन्सी