बीमा समिति विशेष : गएको १ वर्षमा समितिले के - के गर्‍यो ?

काठमाडौं । बीमा समितिले गएको १ वर्षमा विभिन्न नीतिसँगै अन्य थुप्रै काम गरेको देखिन्छ । समितिले चालू आर्थिक वर्षलाई बीमा दाबी भुक्तानीको वर्षका रूपमा मनाइरहेको छ । फलस्वरूप दाबी भुक्तानीमा उल्लेख्य सुधार भएको छ ।  साथै, बीमा दाबीसम्बन्धी विवादको निरूपण गर्ने क्रममा यस अवधिमा बीमक र बीमितबीच आपसी सहमति तथा मेलमिलापबाट समेत गरी ९४ ओटा उजुरी किनारा लगाइएको छ ।  यसैगरी, गएको एक वर्षमा समितिले कफी बीमालेखको समयानुकूल परिमार्जन, कृषि बीमा अनुदानको नियमितरूपमा वितरण, ड्रागन फलखेती बीमालेख निर्माण, बाख्रा बीमालेख संशोधन, लघुबीमासम्बन्धी अनुसन्धान प्रतिवेदन तयार, बीमकहरूको स्थलगत अवलोकन गर्ने काम गरेको छ । साथै, बीमा अभिकर्ता तथा बीमा सर्भेयरको इजाजतपत्र विद्युतीय माध्यमबाट दर्ता तथा नवीकरण गर्ने कार्य पनि भएको छ । समितिका काम कारबाहीलाई चुस्त र पारदर्शी बनाउन नयाँ सफ्टवेयर सञ्चालनमा ल्याइएको छ । साथै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँग सूचना आदानप्रदान तथा पारस्परिक सहयोगसम्बन्धी सम्झौता गरिएको छ । यसैगरी बीमा विषयमा दक्ष जनशक्ति उत्पादनका लागि बीमा कलेज स्थापनाको गृहकार्य समेत समितिले अगाडि बढाएको छ । बीमा क्षेत्रमा गोएमएएल सफ्टवेयर लागू गरिएको छ ।  बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्न बागमती, प्रदेश १, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका सरकारसँग अन्तरक्रिया गर्ने काम समितिले गरेको छ । यस्तै, ४८ ओटा स्थानीय तहका जनप्रतिनिधि र विभिन्न विद्यालयमा समितिले अन्तरक्रिया कार्यक्रम गरेको छ ।  समितिले सुविधासम्पन्न अन्तरराष्ट्रिय स्तरको आफ्नै भवनको निर्माण कार्य प्रारम्भ गरेको छ । बीमासम्बन्धी राष्ट्रिय नीतिको मस्यौदा बनाएर अर्थ मन्त्रालयमा पेश गरिएको छ ।