दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण शुरू

म्याग्दी । प्रवासीको म्याग्देलीको अगुवाइमा मालिका गाउँपालिकामा दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण शुरू भएको छ । धवलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा २५ मेगावाट क्षमताको सो आयोजना निर्माण शुरू गरेको हो । हङकङ, दक्षिण कोरिया, जापान, बेलायत, अमेरिकालगायत देशमा रहेका प्रवासी, उद्योगी व्यवसायी र स्थानीयवासीको लगानीमा आयोजना निर्माण गर्न लागिएको लिमिटेडका अध्यक्ष विनोद कुँवरले बताए । ‘विदेशमा आर्जेको शीप, पूँजी र प्रविधि ल्याएर आयोजना बनाउन लागिएको हो,’ उनले भने, ‘बाध्यताले अवसरको खोजीमा विदेशिए पनि आफ्नो ठाउँको विकासमा लगानी भिœयाएर जलविद्युत् आयोजना बनाउन लागेका हौं ।’ गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका पूर्वअध्यक्ष र म्याग्दी प्रवासी नेपाली संघका पूर्ववरिष्ठ उपाध्यक्षसमेत रहेका कुँवरले यस आयोजनामा एनआरएनदेखि स्थानीयवासीसम्मको लगानी रहेको बताए । २०७६ मङ्सिरमा तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले शिलान्यास गरेको सो आयोजना निर्माणको तयारी भइरहेका बेला कोरोना (भाइरस)को महामारी फैलिएपछि निर्माणले गति लिन सकेको थिएन । २०७७ सालको बाढीपहिरो र दोस्रो लहरको कोरोनाले पनि आयोजनाको निर्माण कार्यमा असर पारेको थियो । आयोजनाका इञ्जिनियर प्रकाश शाहीले पहुँचमार्ग बनिसकेको, जग्गा, कार्यालय र क्याम्प व्यवस्थापन सकेर सुरुङको अडिट निर्माण शुरू गरिएको जानकारी दिए । ‘गोज्जामा अडिट नम्बर २ को पोर्टन निर्माण भइरहेको छ,’ उनले भने, ‘बाँध र विद्युत्गृह निर्माणको तयारीमा छौं ।’ मालिका गाउँपालिका–७ बिम र धवलागिरि गाउँपालिका–७ को सिमानामा पर्ने इल्पुमा बाँध रहनेगरी पाँच किलोमिटर ५०० मिटर सुरुङ निर्माण गरिने भएको छ । चारओटा अडिटबाट सुरुङ खनिने भएको छ । बाँध र आउटलेटसँगै तोलाबाङमा ६०० मिटर पहुँचमार्ग खनेर त्यहाँबाट पनि दुईतर्फ सुरुङ खन्ने तयारी छ । आयोजनाको दिगोपनका लागि पूर्ण पक्की सुरुङ बनाइनेछ । रासस