पाँच दिनदेखि उठेन उपत्यकाको फोहोर

काठमाडौं । स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुन सकेको छैन । हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै सम्पन्न नगरेको भन्दै पासाङल्हामु राजमार्गका स्थानीयवासीले गरेको अवरोधले फोहोर उठ्न नसकेको हो । पाँच दिनदेखि फोहोर विसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहर थुप्रिएको छ । यता काठमाडौं महानगरपालिकाले भने सडक विभागलाई सडकको काम तत्काल पूरा गर्न र स्थानीयवासीलाई अवरोध हटाइदिन माग गरेको छ । उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गर्न दीर्घ समाधान हुन नसक्दा पटक–पटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ । रासस