गाडीका पार्टपुर्जाको अवैध कारोबार रोक्न ज्ञापनपत्र

काठमाडौं  । नेपाल–भारत खुला सिमानाका फाइदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाको अवैध ओसारपसार रोक्न माग गर्दै प्रशासनलाई ज्ञापनपत्र बुझाइएको छ । अवैध कारोबारका कारण राष्ट्रले नोक्सानी भोग्नुपरेको भन्दै नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ र बुटवल अटो इञ्जिनीयरिङ एशोसिएशनले जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् । अवैध कारोबार बढेपछि कर तिरेर वैध कारोबार गर्दै आएका व्यवसायी मर्कामा परेको बताइएको छ । व्यवसायी र राज्य दुवै पक्ष मारमा परेकाले साझा समस्याको रूपमा लिई सरोकारवाला निकाय, संघसंस्था, भन्सार विभाग तथा प्रहरी प्रशासनको संयुक्त पहलमा अवैध कारोबार निरुत्साहित गर्ने र अवैध कारोबारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिएको छ । ‘अवैध कारोबार बढ्दा राज्यले राजस्व गुमाइरहेको छ । कोभिड–१९ र चर्को ब्याजले व्यवसाय धान्नै मुश्किल भएको अवस्थामा पुगेका व्यवसायीले अवैध कारोबारका कारण झनै सास्ती भोग्नुपरेको छ,’ बुटवल अटो इञ्जिनीयरिङ एशोसिएशनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।