मतदान शान्तिपूर्ण र उत्साहजनक

काठमाडौं । निर्वाचन आयोगले शुक्रवारको स्थानीय तह सदस्य निर्वाचनको मतदान छिटफुट अप्रिय घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जानकारी दिएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले केही ठाउँमा विवाद उत्पन्न हुँदा मतदान रोकिएको बताए । मतदान स्थगनसम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ । ‘अधिकांश स्थानमा मतदान सम्पन्न भएको छ,’ उनले भने । उनले साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालाई भोट खसाल्न दिइने भएकाले कुल खसेको मतको यकिन संख्या प्राप्त हुन बाँकी रहेको बताए । वर्षाका कारण मतदानमा कुनै गम्भीर असर नपरेको प्रवक्ता पौडेलको भनाइ छ । उनका अनुसार शुक्रवार रातिदेखि नै मतगणना शुरू भएको छ । मतगणना शुरू हुनुअघि निर्वाचन अधिकृतका कार्यालयहरूमा सर्वदलीय बैठक बसेको थियो । केही केन्द्रमा भने विवाद देखिएकाले मतगणना शुरू गर्न ढिलाइ भएको निर्वाचन कार्यालयहरूले बताए । आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदान केन्द्रमा विवादले मतदान अवरुद्ध भएको छ । अवरुद्ध भएका स्थानमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुन: मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्ने प्रवक्ता पौडेलले बताए । प्रहरीका अनुसार मतदानका क्रममा केही ठाउँमा झडप र विवाद तथा केही ठाउँमा कुटपिटका घटनासमेत भएका छन् । प्रहरीले पनि समग्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ । नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले विभिन्न जिल्लामा छिटफुट अप्रिय घटना भए पनि निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । उनका अनुसार अपराह्न ५ : ०० बजेसम्म प्रहरी प्रधान कार्यालयमा प्राप्त विवरणअनुसार ३० भन्दा बढी जिल्लामा ११० अप्रिय घटना भएका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ । विवादका कारण अवरुद्ध ४० मतदान केन्द्रमा पछि विवाद सुल्झाएर मतदानलाई निरन्तरता दिइएको थियो । काभ्रे, सप्तरी, सर्लाहीलगायत केही केन्द्रमा मतदान स्थगित भएको जानकारी प्राप्त भएको प्रवक्ता केसीले बताए । केसीले विभिन्न ११ जिल्लाका केही मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको बताए । हुम्लाको एक ठाउँमा अश्रुग्यास प्रहार भएको छ । सुदूरपश्चिमका बझाङ र बाजुराका चार मतदान केन्द्रमा प्रहरीले हवाई फायर गर्नुपरेको थियो । वागमती प्रदेशको काभ्रे, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा मतपेटिका तोडफोड भएका छन् । रामेछापका विभिन्न मतदान केन्द्रमा प्रहरीले १५ राउन्ड हवाई फायर गरेको छ । प्रदेश–२ अन्तर्गत सर्लाहीको धनकौल नगरपालिका–२ स्थित मतदान केन्द्रमा मतदान रोकिएको छ । प्रतिनिधि छनोटको विषयमा एमाले र माओवादीले असन्तुष्टि दर्शाउँदै ढुंगामुढा गरेपछि मतदान रोकिएको हो । त्यहाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको थियो । त्यसैगरी, महोत्तरीको बलुवा–५ को मतदान केन्द्रमा पनि प्रहरीले हवाई फायर गरेको छ । रूपन्देहीको मर्चवारी गाउँपालिका वडा नं–५ का नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार सोमनाथ पाण्डेको घरमा विस्फोट भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन भएको हो । सबै स्थानीय तह निर्वाचनको मतदान शुक्रवार एकै चरणमा गरिएको हो । यसअघिको स्थानीय निर्वाचनको मतदान २०७४ सालमा तीन चरणमा भएको थियो । त्यो बेला वैशाख ३१, असार १४ र असोज २ मा निर्वाचन सम्पन्न भएको थियो । त्यसअघि २०५४ सालमा स्थानीय तहको निर्वाचन जेठ ४ र १३ गते गरिएको थियो । शुक्रवार देशभरका १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजे एकसाथ मतदान शुरू भएको थियो । यो चुनावमार्फत ७५३ स्थानीय तहका ३५ हजार २२१ जनप्रतिनिनिधि निर्वाचित हुनेछन् । ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख, त्यत्ति नै संख्यामा उपप्रमुख, ४६० गाउँपालिकामा एक/एक अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्षलगायत पदमा जनप्रतिनिधि निर्वाचित हुनेछन् । स्थानीय तह सदस्य निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । यसपटकको निर्वाचनमा बिहीवारसम्म १८ वर्ष उमेर पूरा भएका बालिग मतदाताले मतदानको अवसर पाएका छन् । १ लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा उत्रेका थिए । त्यसमध्ये ३९० जना निर्विरोध भएका छन् । निर्वाचन प्रयोजनका लागि आयोगमा ७९ दल दर्ता थिए । आयोगमा दर्ता भएकामध्ये ६५ दलले मात्र मनोनयन दर्ता गराए । निर्वाचनमा १ लाख ९ हजार ८८ कर्मचारी खटाइएको थियो । ६५ हजार ८६५ स्वयंसेवक र ५ हजार पर्यवेक्षक तथा २ लाख ६० हजार सुरक्षाकर्मी परिचालित थिए । नेपालको संविधान २०७२ को अनुसूचीमा स्थानीय तहलाई महत्त्वपूर्ण अधिकार दिइएको छ । त्यही अधिकार प्राप्त भएका कारण गाउँठाउँको विकासका लागि संघको मुख ताकिरहनु पर्दैन । त्यसैले पनि २०७२ अघिको स्थानीय निकायको तुलनामा अहिलेको स्थानीय तहको जिम्मेवारी ठूलो छ । गाउँको विकासमा स्थानीय तहले आफै निर्णय गरेर कार्यान्वयन गर्न सक्छ । स्थानीय तह आफैमा सरकार र संसद् पनि हो । परिचित जनप्रतिनिधि हुने र समुदायले निर्धक्क कुरा राख्न सक्ने हुँदा आमनागरिक विभिन्न समस्या हुँदाहुँदै पनि निर्वाचनमा सहभागी भए । कोही लौरे टोकेर त कोही बच्चा काखी च्यापेर मतदानमा सहभागी थिए । कसैले ह्विल चेयरमा बसेर पनि मतदान गरे भने पाका उमेरकाले पनि मताधिकार प्रयोग गरेका दृश्य देखिएको थियो । कतिपय ठाउँमा किरियापुत्रीले पनि मतदान गरेका छन् । शीर्ष नेताले कहाँबाट मतदान गरे ? प्रधानमन्त्री शेरबहादुर देउवाले डँडेलधुराको गन्यापधुरा गाउँपालिका केन्द्रबाट मतदान गर्नुभएको छ । त्यसैगरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुर र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरबाट मतदान गरेको खबर छ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले धनुषाको लक्ष्मीनिया गाउँपालिका पुगेर मतदान गरे । सभामुख अग्निप्रसाद सापकोटाले गृहजिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी पुगेर मतदान गरेका थिए । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१, लोकन्थलीस्थित उपस्वास्थ्य चौकी केन्द्रमा मतदान गरे ।

सम्बन्धित सामग्री

छिटपुट घटनाबाहेक देशभर मतदान शान्तिपूर्ण र उत्साहजनक

शुक्रबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म एकै चरणमा भएको स्थानीय तह निर्वाचन छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ।

मतदानको समय समाप्त : ३५ हजार २ सय २१ जनप्रतिनिधिको भविष्य ‘बाकसमा’ कैद

मुलुकभरका ७५३ पालिकामा प्रतिनिधि छान्न भएको स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार ७७ वटै जिल्लामा मतदान सम्पन्न भएको छ । छिटपुट घटनाबाहेक समग्रमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन आयोग स्रोतले जनाएको छ । आयोग स्रोतका अनुसार कहाँ–कहाँ मतदान प्रभावित भयो भन्ने अन्तिम तथ्यांक आउन बाँकी रहेको छ ।आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय छुट्याएको थियो । उक्त समयमा मतदानका लागि लाइनमा बसेका मतदाताहरूले भने मतदान गर्न पाउनेछन् । देशभर कति प्रतिशत मत खस्यो

मधेस प्रदेशमा उत्साहपूर्वक मतदान (फोटोफिचर)

जनकपुरधाम । मधेस प्रदेशका जिल्लाहरुमा उत्साहजनक मतदान भइरहेको छ । बिहान ७ बजेबाट मतदान सुरु हुने भने पनि अधिकांश ठाउँमा केही ढिलो सुरु भएको छ । अहिलेसम्म केही ठाउँमा सामान्य विवादबाहेक मतदान शान्तिपूर्ण तरिकाले भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । मतदान स्थलहरुको सुरक्षा व्यवस्था कडा पारिएको छ । मधेस प्रदेशका १३६ पालिकामा झण्डै […]

राष्ट्रिय सभा सदस्य निर्वाचन : शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न

राष्ट्रिय सभा सदस्यको १९ रिक्त पदका लागि आज भएको मतदान शान्तिपूर्ण र उत्साहजनकरुपमा सम्पन्न भएको छ ।

प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा ७३% मतदान - Naya Patrika

स्थानीय निर्वाचन हुँदा पहाडमा बरु गोली चल्यो, तराईमा मतदान शान्तिपूर्ण र उत्साहजनक – प्रारम्भिक आँकडाअनुसार प्रदेश नम्बर २ मा सोमबार सम्पन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको...पूरा पढ्नुहोस् »