ब्रोकरलाई टीएमएस दिने प्रक्रिया शुरु

काठमाडौं । लगानीकर्ताको शेयर किनबेच आदेशलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) को मुख्य कारोबार प्रणालीमा जोड्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई  सञ्चालन गर्न दिने प्रक्रिया अगाडि बढेको छ । अनलाइन शेयर कारोबार गर्ने लगानीकर्तालाई सहजता प्रदान गर्न नेप्सेले तयार पारेको मापदण्डअनुसार ब्रोकरले आफ्नै लगानीमा सिस्टम विकास गरी वा विदेशबाट किनेर टीएमएस सञ्चालन गर्न पाउने गरी तयारी अगाडि बढेको हो । अहिले ब्रोकरहरूले नेप्सेले विकास गरेको टीएमएस भाडामा प्रयोग गर्दै आएका छन् । यो प्रक्रिया १ वर्षदेखि थालिएको भए पनि केही महीनायता नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अध्यक्ष र नेप्सेमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नहुँदा प्रक्रिया रोकिएको थियो । सेबोन अध्यक्षमा रमेश हमाल र नेप्सेको सीईओमा कृष्णबहादुर कार्कीे नियुक्त भएसँगै ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिने प्रक्रियालाई अगाडि बढाइएको हो । ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिन नेप्सेले पहिले नै सूचनाप्रविधि सम्बन्धी नीतिअन्तर्गत विनियमावली तयार पारेर सेबोनमा बुझाएको थियो । तर, केही विषय स्पष्ट नभएका कारण बोर्डले पुनः त्यसलाई स्पष्ट पार्न भनेको थियो । यसै क्रममा सेबोनका तत्कालीन अध्यक्ष भीष्मराज ढुुंगाना हटे । त्यस कारण यो प्रक्रिया अगाडि बढ्न सकेको थिएन । सेबोनका कार्यकारी निर्देशक तथा प्रवक्ता नीरज गिरीका अनुसार नेप्सेले नियमावलीमा भएका अस्पष्टता चाँडै स्पष्ट पारेर ल्याए बोर्डबाट स्वीकृति दिन समय लाग्दैन । ‘निवर्तमान अध्यक्ष भीष्मराज ढुंगाना सर हुँदा नै अस्पष्ट भएका कुरा स्पष्ट पार्न नेप्सेलाई भनेका थियौं । नयाँ अध्यक्षको पदबहाली भएपछि छलफल भएको छ, सम्भवतः वैशाखभित्र काम सम्पन्न गर्छौं,’ उनले भने । अहिले ब्रोकरले नेप्सेले तयार पारेको सिस्टम चलाइरहेका छन् । टीएमएस सञ्चालन गर्ने स्वीकृति पाएपछि ब्रोकरले आफै विकास गरेर वा विदेशमा सञ्चालित सिस्टम खरीद गर्न सक्नेछन् । ब्रोकरहरूले आफ्नै टीएमएस चलाउने वा नेप्सेको टीएमएस चलाउने भन्ने छनोटसहित कारोबार विनियमावली संशोधन हुँदै छ । यो विनियमावलीमा सेबोनले स्पष्ट पार्नु भनेका कुरा स्पष्ट पार्नका लागि काम भइरहेको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए । उनका अनुसार विनियमावलीमा आवश्यक विषय समेटर संशोधनपछि बोर्डमा चैतभित्रै बुझाउने तयारी भएको छ । ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिए ब्रोकरहरू तयारी अवस्थामा रहेको स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबन) का अध्यक्ष सन्तोष मैनालीले जानकारी दिए । तर, स्वीकृति पाउने बित्तिकै लाइभ सञ्चालनमा ल्याउन नसकिने उनको भनाइ छ । पहिलो चरणमा परीक्षण गर्नुपर्ने भएकाले नेप्सेको प्राविधिक टोलीले आवश्यक सहयोग गर्नुपर्ने मैनालीको भनाइ छ । उनले भने, ‘नेप्सेको आवश्यक सहयोग भए स्वीकृति पाएको ३ महीनाभित्र आफ्नो टीएमएस पूर्णरूपमा लागू गर्ने लक्ष्य राखेका छौं ।’ ब्रोकरले आफ्नै टीएमएस सञ्चालनमा ल्याउँदा रिस्क म्यानेजमेन्टलाई व्यवस्थापन गर्न सहज हुने मैनालीको भनाइ छ । नेप्सेले सञ्चालनमा ल्याएको अहिलेको टीएमएस पूर्ण रूपमा लगानीकर्तामैत्री नभएको उनले बताए ।