काष्ठमण्डपको पुनर्निर्माण दशैंअघि पूरा नहुने

काठमाडौं । काष्ठमण्डपको पुनर्निर्माण दशैंअघि पूरा नहुने भएको छ । यही दशैंअघि सक्ने लक्ष्य राखिए पनि अझै केही काम बाँकी रहेकाले ढिलाइ भएको हो । सो सम्पदाको अहिले ९७ प्रतिशत काम सम्पन्न भएको छ । दशैं र तिहारका बीचमा भने काम सम्पन्न गर्ने निर्माण समितिको योजना छ । काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेको छ । ‘केही अवरोध नआए ढुक्कसँग दशैं, तिहारको बीचमा काम सम्पन्न हुन्छ,’ अध्यक्ष शाक्यले भने, ‘अन्य निर्माण सम्पन्न गरी अहिले छानोमा झिँगटी लगाउने काम भइरहेको छ ।’ २०७२ वैशाख १२ गते आएको भूकम्पले काष्ठमण्डप पूर्णरूपमा क्षति भएको थियो । उक्त सम्पदा पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । पुनर्निर्माणको काम २०७५ को वैशाखदेखि शुरू गरिएको हो । निर्माणका लागि कामपाले हालसम्ममा ११ करोड ५० लाख दिइसकेको छ । पुनर्निर्मित उक्त ऐतिहासिक सम्पदामा गत साउन दोस्रो साता मूल गजुर भित्œयाइएको थियो । काष्ठमण्डपसँगैको श्रीखण्डतरुमूल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्र्याइएको हो । गजुरलाई काष्ठमण्डपभित्र बिसाइसकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा. यज्ञमानपति वज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुबाट चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरिएको थियो । उक्त सम्पदा पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ क्युबिक फिट काठ प्रयोग भएको छ । प्रयोग भएका काठमध्ये केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो । रासस

सम्बन्धित सामग्री

पुनर्निर्माण समयमै पूरा नहुने स्वीकारोक्ति

राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण तोकिएकै समयमा सम्पन्न गर्न नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार पुननिर्माण प्राधिकरण र काठमाडौं महानगरपालिकाले आयोजना गरेको भूकम्पको स्मृति सभालाई सम्बोधन गर्दै पुनर्निर्माणको काम तोकिएको समयमा सम्पन्न गर्न नसक्ने स्वीकार गरेका हुन् । प्रधानमन्त्रीले निजी आवास, सरकारी तथा विद्यालय भवन लगायतका संरचना निर्माणको काम सम्पन्न भए पनि केही पुरातात्विक सम्पदाको भने समयमा सम्पन्न गर्न कठिन रहेको बताए ।