तस्वीर : बागलुङ जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजनाको मुहान

बागलुङ जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजना बागलुङ बजार लिफ्ट खानेपानी आयोजनाको पानी तान्नका लागि काठेखोला छेउमा बनाइएको मुहान (समवयल) । उक्त पाँच स्थानबाट तानेको पानी शुद्धिकरण गरी बागलुङ बजारमा वितरण गरिने छ । उक्त आयोजना खानेपानी तथा ढल व्यवस्थापन विभागको रू. ४५ करोड लागतमा ६० हजार जनसंख्यालाई खानेपानी वितरण गर्ने लक्ष्य रहेको छ । तस्वीर : रासस

सम्बन्धित सामग्री

रत्नेचौर लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य अलपत्र

मंसिर ७, म्याग्दी । कालीगण्डकीको पानी तानेर म्याग्दीको बेनी नगरपालिका–१ का घरघरमा खानेपानी सुविधा पुर्‍याउने उद्देश्यले शुरु भएको रत्नेचौर लिफ्ट खानेपानी आयोजना अलपत्र परेको छ ।  करीब रू. सात करोडको खानेपानी आयोजनाले ठेक्का सम्झौता भएको १६ महीनासम्म पनि गति लिन नसकेको हो । सम्बद्ध कार्यालयको बेवास्ता र निर्माण व्यवसायीको लापरबाहीले प्रारम्भिक चरणको काम पनि हुन नसकेको बेनी नगरपालिका–१ रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले बताए ।  ‘निर्माण व्यवसायीले गर्नेबाहेकका श्रमदानबाट गर्नुपर्ने काम गर्न उपभोक्ता बनाएका थियौँ,’ उनले भने, ‘गत वर्ष काम हुन सकेन । यो वर्ष नाला खन्नेपुर्ने कामका लागि उपभोक्ता तयार छन् । छिटो काम अघि बढाउन निर्माण व्यवसायी र कार्यालयलाई ताकेता गरेका छौँ ।’  खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दी र प्राकृतिक–प्रदीप–जुम्ली जेभीबीच २०७७ साल असार २४ गते रू. दुई करोड ७५ लाख ३६ हजार ५०६ मा ठेक्का सम्झौता भएको थियो । कुल रू. ६ करोड ७६ लाख लागत अनुमान गरिएको आयोजनाको उपभोक्ता समितिले गर्नुपर्ने बाहेकका संरचना बनाउन ठेक्का लगाइएको हो ।   विसं २०७९ असार २३ गतेसम्म मुहानमा इनार, मुख्य लाइन, संकलन, रिजर्भ र वितरण ट््यांकीलगायत संरचना निर्माण गरिसक्ने सम्झौता भएको आयोजनाको हालसम्म एउटा रिजर्भ ट्यांकी पनि निर्माण पूरा भएको छैन । आधा काम भएको रिजर्भ ट्यांकीका संरचना पनि जीर्ण बनेका छन् । निर्माण कम्पनीका सञ्चालक र कार्यालयका प्रमुखबीचको असमझदारीले आयोजना प्रभावित बनेको वडाध्यक्ष रावलको गुनासो छ ।  विसं २०७७ माघ ११ गते सांसद भूपेन्द्रबहादुर थापाले आयोजनाको शिलान्यास गर्नुभएको थियो । सिमस्थित कालीगण्डकी नदी किनारबाट पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा २४३ घरधुरीमा निजी धारामार्फत खानेपानी वितरण गर्ने योजना छ ।  ३० हर्सपावर क्षमताको सम्पवयलको सहायताले प्रतिसेकेन्ड ४ दशमलव ७ लिटर पानी ४५० मिटर माथि सालघारीमा निर्माण हुने ११५ क्युबिक क्षमताको ट्यांकीमा खसालेर घरघरमा धारा जडान गरेर वितरण गरिने भएको छ ।  घरघरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने यो आयोजनाको वितरण लाइनको कुल दूरी १८ दशमलव ७ किलोमिटर छ । निर्माण कम्पनीका सहायक ठेकेदार होमनाथ सापकोटाले कोरोनाको जोखिम, निषेधाज्ञा र बर्खाका कारण रोकिएको कामलाई तीव्रता दिने बताए । ‘कार्यालयसँगको असमझदारी हटेको छ,’ उनले भने, ‘काम सुचारु गर्ने तयारीमा छौँ । अब तीव्रताका साथै संरचना बनाउँछौँ ।’  रत्नेचौरमा विसं २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित छ । जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुन सकेको छैन । आयोजना निर्माणमा भएको ढिलाइले खानेपानी उपभोग गर्न पाउने आशा गरेका नागरिक निराश बनेका स्थानीयवासी कृष्ण बोगटीले बताए । रासस

स्थानीयवासीको सक्रियतामा लिफ्टमार्फत खानेपानी

बागलुङ । बागलुङ नगरपालिकाको बजार क्षेत्रभित्रै खानेपानीको अभाव खेप्दै आएका उपल्लो पाखाथरका ५० घरमा खानेपानीको सहज सुविधा पुगेको छ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका उपल्लो पाखाथरका स्थानीयवासीले आफ्नै सक्रियतामा खानेपानी योजना सम्पन्न गरेका हुन् । यसमा बागलुङ नगरपालिकाले पनि सहयोग गरेको थियो । योजना नबन्दासम्म स्थानीयवासीले कुवा र मूलको पानीमा निर्भर हुनुपर्ने बाध्यता थियो । तर अब यस्तो बाध्यता लिफ्ट खानेपानी आयोजना सम्पन्न भएसँगै सकिएको स्थानीयवासी उपभोक्ता बताउँछन् । स्थानीय उपभोक्ताले १५ लाख संकलन गरी खत्रीबारीमा ७५ हजार लिटरको खानेपानी ट्यांकी निर्माण गरेका थिए ।      पँधेराघरको पानीलाई १०० मिटरमाथि खत्रीबारीमा लिफ्ट प्रविधिमार्फत लगेर ५० घरमा ‘एक घर, एक धारा’ निर्माण गरिएको छ । योजना सम्पन्न भएपछि सोमवारदेखि घरघरमै खानेपानी पुगेको सामुदायिक खानेपानी तथा उपभोक्ता संस्था उपल्लो पाखाथरका अध्यक्ष कुमारविक्रम क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार योजनाको पाइप लाइन विस्तारका लागि भने बागलुङ नगरपालिकाले गत आर्थिक वर्ष २०७७÷७८ मा ८ लाख बजेट विनियोजन गरेको थियो । जिल्ला सदरमुकामवासी भएर पनि पुरानो पानीकोे मुहान सुक्दै गएपछि कुवाको पानीमा निर्भर बन्नुपर्ने अवस्थाको अन्त्य भएको र घरमै खानेपानीको धारा आउँदा स्थानीयवासीमा खुशी छाएको उपभोक्ता धनबहादुर जिसीले बताए । बस्तीभन्दा मुहान तल भएका कारण १०० मिटरको उचाइमा पम्पमार्फत खानेपानी पु¥याएर घरघरमा वितरण गरिएको बागलुङ नगरपालिकाका इञ्जिनियर गौरव शर्माले जानकारी दिए । खानेपानी ट्यांकीबाट थप २५ घरमा खानेपानी वितरण गर्ने उपभोक्ता समितिको लक्ष्य छ । सामुदायिक खानेपानी समितिबाट १५ लाख संकलन गरे पनि नगरपालिकाको ८ लाखको काम भने उपल्लोपाखाथर लिफ्ट खानेपानी आयोजनामार्फत सम्पन्न गरिएको निर्माण समितिका अध्यक्ष खिमराम ढुंगानाले बताए । खानेपानीको अभावमा स्थानीयवासी बसाइँसराइ गर्दै आएका थिए भने त्यहाँ जग्गा खरीद भए पनि खानेपानीको अभावमा घर निर्माण हुन सकेको थिएन ।   हिउँदको समयमा चार घण्टा र बर्खाको समय चार घण्टा मात्रै खानेपानी लिफ्ट गरेमा सबैलाई खानेपानी पुग्नेछ । खानेपानी उपभोग गरेबापत विद्युत् महशुल र मर्मतसम्भारका लागि मासिक २०० उपभोक्ताले खानेपानी उपभोक्ता समितिलाई तिर्नुपर्ने प्रावधान बनाइएको छ । रासस