नीति तथा कार्यक्रममा सिंचाइ : थप २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिंचाइ सुविधा पुर्‍याउने

जेठ १०, काठमाडौं । सरकारले आगामी वर्ष थप २२ हजार हेक्टर कृषि योग्य जमिनमा सिंचाइ सुविधा पुर्‍याउने योजना सार्वजनिक गरेको छ । मंगलवार संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कृषियोग्य भूमिमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने नीति अनुरूप आगामी वर्ष थप २२ हजार २ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुयाइने बताउनु भएको छ । ठुला तथा बहुउद्देश्यीय सिँचाइ आयोजनाको मूल एवं शाखा नहरको निर्माण तथा मर्मत कार्य, भेरीबबई डाइभर्सनको हेडवर्क्स तथा पावर हाउस र सुनकोशी-मरिन डाइभर्सनको सुरुङ निर्माण कार्य तीव्र रूपमा अघि बढाइनेछ। नौमुरे राप्तीकपिलवस्तु डाइभर्सनको निर्माण कार्य सुरु गरिनेछ। बृहत् दाङ उपत्यका सिँचाइ आयोजना र प्रगन्ना तथा बड्कापथ सिँचाइ आयोजनाको मूल नहर विस्तार गरिनेछ। चन्द्रनहरको मर्मत सम्भार गरिनेछ। पहाडी तथा हिमाली क्षेत्रमा लिफ्ट सिँचाइ र तराई-मधेशका कृषियोग्य पकेट क्षेत्रमा पानी सञ्चय पोखरी, स्यालो तथा डिप ट्युबवेलबाट थप जमिनमा सिँचाइ सुविधा विस्तार गरिनेछ। सिँचाइ कार्यमा खपत हुने विद्युतमा थप सहुलियत प्रदान गरिनेछ ।