कर्णाली प्रदेशकै पहिलो बहुप्रतीक्षित सभाहल : काम सम्पन्न नहुँदै उद्घाटन तथा हस्तान्तरण

मंसिर २४, सुर्खेत । देश संघीय संरचनामा गएसँगै कर्णालीकै पहिलो बहुप्रतीक्षित सभाहलको काम सम्पन्न नहुँदै उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।  बजेट अभावले अधुरो रहेको सुर्खेत सभाहलमा बस्ने कुर्सी लगायतका थुप्रै कार्यहरु गर्न बाँकी हुँदाहुँदै सस्तो लोकप्रियताका लागि बिहीवार वीरेन्द्रनगरमा एक कार्यक्रमका बीच निर्माण सम्पन्न नहुँदै उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।  भवन निर्माणको काम सकिए पनि पार्किङको व्यवस्था, भुइँमा ब्लक बिछ्याउने, कुर्सी राख्ने, बगैंचा निर्माण, फिनिसिङ गर्न बाँकी छ । काम नसकिँदै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सस्तो लोकप्रियताका लागि सभाहलको उद्घाटन गरेकी हुन् । सहरी विकास तथा भवन निर्माण विभागले दोस्रो चरणको कामका लागि टेन्डर गर्ने प्रक्रिया गरिरहेका बेला सभाहलको उद्घाटन गरेर मन्त्री झाँक्रीले वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरेकी छिन् ।  सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, सहरी विकास विभागका महानिर्देशक पदमकुमार मैनालीको उपस्थितिमा मन्त्री झाँक्रीले सभाहल व्यवस्थापनको जिम्मा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलाई हस्तान्तरण गरिन् ।  सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ‘सुर्खेत सभाहल’ सञ्चालन तथा व्यवस्थापनका लागि तत्काल मोडालिटी बनाउन आग्रह गरेकी छन् । सहरी विकास मन्त्रालयको सरकारी भवन निर्माण कार्यक्रम अन्तर्गत सुर्खेत सभाहल (पहिलो चरण) को कार्य सम्पन्न भएपछि वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्दै उनले सञ्चालनको मोडालिटी बनाई हललाई आम्दानीको स्रोतका रुपमा विकास गर्न आग्रह गरेकी छिन् । मन्त्री झाँक्रीले नेपाल सरकार र दातृ निकायले निर्माण गरेका ठूला संरचनाको सञ्चालन र मर्मतसम्भारको मोडालिटी नहुँदा खण्डहर हुने समस्या रहेको बताइन् । ‘नगरपालिकाले तत्काल हल सञ्चालनको मोडालिटी बनाउनुपर्छ, यो बिजनेस सिर्जना गर्न बनाइएको हल हो,’ उनले भनिन्, ‘यसबाट प्राप्त हुने आम्दानीले मर्मतसम्भार, कर्मचारीलाई पारिश्रमिक दिन सकियोस् अब यो लावारिसे हुनु हुँदैन ।’  उनले सभाहलको सञ्चालनलाई कर्णालीको आर्थिक समृद्धिसँग जोड्न आग्रह गरिन् । तीनै तहका सरकार मिलेर सभाहल सञ्चालनको मोडालिटी बनाएर व्यवस्थित ढंगले सञ्चालन गर्न उनले निर्देशन दिइन् । ‘अब यो सभाहलमा प्रदेशदेखि केन्द्रसम्मका ठूलठूला सम्मेलन, आर्थिक, सामाजिक, कृषि र सांस्कृतिक प्रदर्शनी सबै गर्न सकिन्छ,’ उनले भनिन् ।  सहरी तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले सातओटै प्रदेश राजधानीमा यस्तो सभाहल निर्माण गर्ने भनिएकोमा सुर्खेत सभाहलको पहिलो चरणको काम सबैभन्दा अगाडि सम्पन्न भएको बताए । उनले विकास नीति मोडलबाट सभाहल सञ्चालन गर्नुपर्ने भन्दै सजाउनभन्दा चलाउन बनाइएको सभाहल भएकाले सञ्चालनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।  सहरी विकास विभाग, संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले कार्यान्वयनमा ल्याएको सभाहल निर्माण योजना आर्थिक वर्ष २०७३÷०७४ देखि शुरु भएको थियो । करीब ५० रोपनी जग्गामा निर्मित सभाहलको लागत करीब २७ रुपैयाँ छ ।  सभाहलको पहिलो चरणको निर्माणको जिम्मा समानान्तर÷चक्रेश्वरी जेभीले लिएको थियो । २०७६ चैतमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएपनि कोरोना भाइरसको महामारीका कारण काममा बाधा पुगेपछि म्याद थप गरिएको थियो ।  कार्यक्रममा नगर प्रमुख सुवेदीले सभाहलको दोस्रो चरणसँग सम्बन्धित निर्माण कार्यका लागि यथाशीघ्र ठेक्का प्रक्रिया थाल्न अनुरोध गरे । दोस्रो चरणअन्तर्गत फर्निचर व्यवस्थापन, बगैंचा, चमेनागृह निर्माणलगायत काम छन् । यसका लागि करीब ६ करोड लाग्ने अनुमान गरिएको छ । हाल बजेट अभाव भएकाले दोस्रो चरणको काम शुरु हुन सकेको छैन ।  ‘सुर्खेत सभाहल’ कर्णाली प्रदेशकै गरिमा भएको भन्दै नगर प्रमुख सुवेदीले यसको सञ्चालन तथा व्यवस्थापनका लागि तत्काल मोडालिटी बनाउने प्रतिबद्धता जनाए । संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतका आयोजना प्रमुख अमरबहादुर थापाले अपांतामैत्री साना ठूला गरी तीन ओटा बहु उद्देश्यीय सभाहल, बैठक कक्ष, शौचालय, पर्खाल, पार्किङस्थल निर्माणका साथै खानेपानी र विद्युत् जडान कार्य सम्पन्न भएको जानकारी दिए । उनले ८५० सिट क्षमता भएको ठूलो हल, १५० सिट क्षमता भएका साना दुई हल रहेको बताए ।  उनका अनुसार अब ती हलमा फर्निचर व्यवस्थापनको काम बाँकी छ । विभागले माघको पहिलो साताभित्र दोस्रो चरणको कामको टेन्डर गर्ने तयारी गरेको छ । दोस्रो चरणमा थप पार्किङको व्यवस्था, भुइँमा ब्लक बिछ्याउने, गार्डेनलगायतको काम हुनेछ । अहिले हलहरूमा कुर्सी राख्ने, बगैँचा निर्माण र फिनिसिङका काम पनि बाँकी छन् । त्यस्तै, हलहरुको पार्टेसन, स्टेज, फाउन्टेनलगायत भित्र र बाहिरका बाँकी काम पनि दोस्रो चरणमा हुनेछन् ।  दोस्रो चरणअन्तर्गत फर्निचर व्यवस्थापन, बगैंचा, चमेनागृह निर्माणलगायत कामका लागि करीब छ करोड लाग्ने अनुमान गरिएको छ । हाल बजेट अभाव भएका कारण दोस्रो चरणको काम शुरु हुन सकेको छैन । वीरेन्द्रनगर–६, मा अवस्थित सुर्खेत सभाहल साढे तीन बिगाहा क्षेत्रफलमा फैलिएको छ । सभाहल हस्तान्तरण कार्यक्रमका लागि सुर्खेत आएकी मन्त्री झाँक्रीले सहरी विकास मन्त्रालयद्वारा सञ्चालित आयोजनाको अनुगमन गरेकी थिइन् ।