मोरंग व्यापार संघद्वारा मोरंग–सुनसरी कोरिडोरका ट्रेड युनियनहरुसँग छलफल

असार २३, काठमाडौं । मोरंग व्यापार संघले मोरंग–सुनसरी कोरिडोरका ट्रेड युनियन प्रमुख एवं प्रतिनिधिहरुसँग मंगलवार भेटघाट गरी छलफल गरेको छ । कार्यक्रममा मोरंग–सुनसरी कोरिडोरका विभिन्न प्रतिष्ठानहरुमा कार्यरत श्रमिक/  कामदारहरुको विद्यमान अवस्था, सरकारद्वारा निर्देशित सामाजिक सुरक्षा कोषको पछिल्लो संशोधित व्यवस्था तथा कोषमा आवद्ध हुन सरकारबाट दिइएका पछिल्ला सुविधाहरुको विषयमा छलफल भएको थियो  । सो अवसरमा ट्रेड युनियनका प्रमुख एवं प्रतिनिधिहरुले श्रमिक/ कामदारहरुलाई कोभिड - १९ संक्रमण तथा निषेधाज्ञाका कारण प्रत्यक्ष असर पर्न गएको तथा निजहरुको स्वास्थ्य सुरक्षाको जोखिम उच्च हुन गएतापनि निजहरुका लागि सरकारबाट संक्रमण विरुद्धको खोप लगायत कुनै प्रकारका सहयोग उपलब्ध हुन नसकेको बताएका थिए । साथै उनीहरुले सामाजिक सुरक्षा कोषका सन्दर्भमा कोष सञ्चालन सम्बन्धी सरकारद्वारा गरिएका पछिल्ला केहि संशोधनहरुले राहत तुल्याउने देखिएतापनि कोभिड -१९ को दोश्रो लहरको चरम प्रभाव तथा निषेधाज्ञा लागू रहँदै सरकारद्वारा आव्हान गरिएका कोषमा आवद्ध हुँदा दिइने पछिल्ला सुविधाहरु सम्बन्धित सबै पक्षले समयमा प्राप्त गर्न नसकेको तथा निषेधाज्ञा हट्नु अगावै सो को म्याद सकिएको भन्दै त्यसप्रति सरकारले पुनर्विचार गरी म्याद थप गर्नुपर्ने धारणा राखेका थिए । सो अवसरमा संघका प्रकाश मून्दडाले श्रमिक/ कामदार र उद्योगी/ व्यवसायीहरु एकै रथका दुई पाङग्रा रहेको भन्दै श्रमिक/ कामदारहरुको हितका निम्ति सामाजिक सुरक्षा कोषका कार्यविधिहरुको संशोधन एवं क्रमिक सुधारका लागि संघ लगायत निजी क्षेत्रकाऔद्योगिक/ व्यवसायिक प्रतिष्ठानहरुले शुरु देखिनै जोडदार पहल गर्दै आएको  बताए । साथै सोही छलफलबाट सहभागीहरुले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सरकारको पछिल्लो आव्हान तथा सुविधा दिने म्याद निषेधाज्ञा कै अवधिमा समाप्त हुन पुगेकाले सो सुविधाहरु सबै पक्षले प्राप्त गर्न सक्ने गरी आगामी साउन  मसान्तसम्मका लागि म्याद थप गर्न माग गरिदिन सरकार एवं सम्बन्धित निकाय समक्ष माग गरेका छन् । संघका वरिष्ठ उपाध्यक्ष नविन रिजाल, उपाध्यक्ष अनिलकुमार साहसहितको उपस्थितिमा सम्पन्न उक्त छलफल कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष किशोर धमला, अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं १ का अध्यक्ष टिका प्रसाई, नेपाल ट्रेड युनियन, कांग्रेसका सुशिल कोईराला लगायतको सहभागिता रहेको थियो ।