‘दरबारमार्ग महोत्सव’ सम्पन्न

काठमाडौं (अस) । नयाँ वर्षको अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको १५औं ‘दरबारमार्ग महोत्सव’ सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र एनसेलको सहकार्यमा आयोजना गरिएको महोत्सव शनिवार सम्पन्न भएको हो । महोत्सव आन्तरिक पर्यटनलाई ऊर्जा दिन सफल भएको आयोजक संस्था नेपाल रेस्टुरेन्ट एन्ड बार एशोसिएशन (रेबान) र दरबारमार्ग विकास बोर्डको भनाइ छ । विगत ३ वर्षयता फैलिएको कोरोना महामारीका कारण पर्यटकीय कार्यक्रम नभइरहेको अवस्थामा महोत्सव ले पर्यटकीय क्षेत्र विस्तारै उठिरहेको सन्देश दिन सफल भएको आयोजकको दाबी छ । ‘यसको प्रभावका कारण लामो समय घरमै बस्न बाध्य भएका आम सर्वसाधारणलाई महोत्सवले घर बाहिर आउन ठूलो ऊर्जा दिएको छ,’ महोत्सवपछि आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महोत्सव करीब १ लाख दर्शकले अवलोकन गरेको बताइएको छ । महोत्सव महासंघका अध्यक्ष शेखर गोल्छाले उद्घाटन गरेका थिए । पछिल्लो समय मुलुकको जनसंख्याको ९० प्रतिशतले कोभिडविरुद्धको खोप लगाइसकेकाले जनजीवन सामान्य हुँदै गएको उनले बताए । महोत्सवले आर्थिक क्रियाकलापमा केही हदसम्म टेवा पुर्‍याएको उनको भनाइ थियो । ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’  नाराका साथ देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । महामारीले अर्थतन्त्रलाई शिथिल पारेको अवस्थामा सहकार्यमा आयोजित महोत्सवले पर्यटन क्षेत्रलाई प्रोत्साहन गरेको एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले बताए । महोत्सवले लघु उद्यमी, घरेलु, साना तथा मझौला व्ययसायीलाई नयाँ उत्साहका साथ अघि बढ्न प्रेरित गरेको उनको भनाइ थियो । महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले साना ठूला सबै उद्यम व्यवसायलाई यस्ता कार्यक्रमले ऊर्जा प्रदान गर्ने बताइन् । रेबानका अध्यक्ष अरनिको राजभण्डारीले आन्तरिक र बाह्य पर्यटन पुनरुत्थानमा सहयोग पुर्‍याउन महोत्सव महत्त्वपूर्ण रहेको बताए । महोत्सवमा विभिन्न गीतसंगीत, नेपाली खानाका परिकारका साथै मनोरञ्जनात्मक प्रदर्शनी गरिएका थिए ।