सासु कोषमा स्वरोजगार सूचीकरणको आवश्यकता

प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०१३ ले दिएको अधिकार प्रयोग गरी सामाजिक सुरक्षा कोष (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६७ अन्तर्गत नेपाल सरकारको पूर्ण स्वामित्व रहने गरी सामाजिक सुरक्षा कोष मिति २०६७ चैत ७ गते स्थापना भएको हो । सामाजिक सुरक्षा कोष (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६७ अन्तर्गत सञ्चालनमा आएको सामाजिक सुरक्षा कोषको व्यवस्थालाई निरन्तरता दिने गरी नेपाल सरकारद्वारा छुट्टै योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र योगदान आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ क्रमश: प्रमाणीकरण गरेको मिति २०७४/०४/२९ मितिले ९१ औं दिन २०७५/०८/३ गतेदेखि लागू गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ ले सामाजिक सुरक्षा कोष (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६७ बमोजिम भए गरेको काम कारबाहीलाई नयाँ जारी गरिएको नियमावली, २०७५ बमोजिम भए गरेको मानिने  व्यवस्था गरिएको छ ।  सामाजिक सुरक्षा कोषमा प्रचलित कानूनबमोजिम एकल व्यक्ति वा दम्पतीबाट आफ्नो पारिश्रमिकबाट असुल गरिने १ प्रतिशत करको रकम कोषमा जम्मा गर्ने व्यवस्था गरिएको छ । सामाजिक सुरक्षा कोषले सामाजिक कोष नियमावली, २०६७ बमोजिम योगदानकर्ताहरूका लागि निम्न कुनै सामाजिक सुरक्षा कार्यक्रम (स्किम) सञ्चालन गर्न वा गराउन सक्ने व्यवस्था गरिएको छ । जसमा १. बेरोजगारी बीमा योजना, २. रोजगारीमा घाइते वा दुर्घटना बीमा योजना, ३. बिरामी बीमा योजना, ४. प्रसूति बीमा योजना, ५. आश्रित बीमा योजना, ६. अशक्तता बीमा योजना, ७. वृद्धावस्था बीमा योजना, ८. औषधोपचार बीमा (मेडिकल इन्स्योरेन्स) योजना, र ९. पारिवारिक बीमा योजना थिए । उल्लिखित ९ किसिमका सामाजिक सुरक्षा कार्यक्रम (स्किम) चरणबद्ध रूपमा सञ्चालन गरिने व्यवस्था गरिएको छ । सामाजिक सुरक्षा कोषले नेपाल सरकारको स्वीकृति लिई स्वैच्छिक रूपमा सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने गरी कुनै निकाय, बोर्ड, समिति, केन्द्र, सार्वजनिक संस्थान तथा निजीक्षेत्रको प्रतिष्ठानमा कार्यरत व्यक्तिहरू सहभागी हुन सक्ने व्यवस्था गरिएको छ । सामाजिक सुरक्षा कोष सञ्चालन गर्न श्रम तथा यातायात मन्त्रालयका सचिव अध्यक्ष रहने गरी एक सञ्चालक समितिको व्यवस्था गरी उक्त समितिले दैनिक कार्य सञ्चालन गर्न कार्यकारी निर्देशकको नियुक्ति गर्ने व्यवस्था गरिएको थियो ।  स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्धता गर्न सामाजिक सुरक्षा कोषले मिति २०७९/०८/२५ मा ‘अनौपचारिक क्षेत्र श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ लागू गरी मिति २०८०/०१/०१ देखि कार्यान्वयनमा ल्याएको छ । प्रत्येक सूचीकृत रोजगारदाताले आफूले नियुक्त गरेको वा रोजगार सम्बन्ध कायम भएको प्रत्येककोे योगदान नियमित रूपमा कोषमा जम्मा गर्नुपर्छ । योगदान जम्मा गर्दा स्वरोजगारमा सूचीकरण भएको दिनदेखि रोजगारीमा कायम रहेको अन्तिम दिनसम्मको गर्नु पर्नेछ । कोषले अन्यथा तोकेकोमा बाहेक योगदान रकम जम्मा गर्दा मासिक रूपमा गर्नुपर्छ । स्वरोजगारमा रहेकाले कानून व्यवसायी पनि ‘अनौपचारिक क्षेत्र श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ सामाजिक सुरक्षा कोषमा सूचीकृत भई योजनामा सहभागी हुन सक्छन् । कानून व्यवसायीले स्वतन्त्र रूपमा सेवा प्रदान गरी कार्य गर्ने हुँदा उनीहरू यस योजनामा सहभागी हुन बाटो खुलेको हो । कानून व्यवसायीले सूचीकरण गर्दा निम्न बमोजिमको विवरण खुलाई कागजपत्र कोषमा पेश गर्नुपर्छ ।  क. नागरिकताको प्रतिलिपि ख. कानून व्यवसायको प्रमाण पत्र प्रतिलिपि वा व्यवसायदर्ता गरेको भएमा सोको प्रमाणपत्रको प्रतिलिपि र त्यस्तो पेशा वा व्यवसाय दर्ता गरेको नभएमा पेशा वा व्यवसाय गरेको स्थानको सम्बन्धित स्थानीय तहको वडा कार्यालयको गरेको सिफारिश  ग. कोषमा सूचीकृत भएपछि आफूले मासिक रूपमा जम्मा गर्ने योजनाको रकम,  घ. प्यान वा कर दर्ता प्रमाणपत्रको प्रतिलिपि र  ङ. पेशा वा व्यवसायको नाम तथा त्यस्तो पेशा वा व्यवसाय गरेको ठेगाना तथा सम्पर्क नम्बर ।  उल्लिखित विवरण तथा कागजात पेश गरी कानून व्यवसायी कोषमा सूचीकृत हुन सक्छन् । सामाजिक सुरक्षा कोषले हाल ४ किसिमको योजना सञ्चालन गरेको छ । आश्रित परिवारको स्वरोजगारमा रहेका व्यक्तिले घटना भएको भन्दा अघिको १५ महीनामा कम्तीमा ९ महीनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्छ । वृद्ध अवस्थामा सुरक्षामा सहभागी भई सुविधा प्राप्त गर्न ६० वर्ष पूरा भएको र कम्तीमा १८० महीना योगदान गरेको हुनुपर्छ ।  सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई योगदानकर्ता तथा कर्मचारीको हितका लागि मात्र प्रयोग गरिनुपर्छ । यस कोषमा रहेको रकम प्रयोग गर्दा सरकारी हस्तक्षेप कम गर्नुपर्छ । कोष सञ्चालक समितिलाई सरकारी हस्तक्षेपविना स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ । सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई योगदानकर्ता तथा कर्मचारीको हितका लागि मात्र प्रयोग गरिनुपर्छ । यस कोषमा रहेको रकम प्रयोग गर्दा सरकारी हस्तक्षेप कम गर्नुपर्छ । कोषको सञ्चालक समितिमा रोजगारदाता तथा श्रमिकको तर्फबाट प्रतिनिधित्व गर्ने व्यक्तिको स्पष्ट संस्थागत प्रतिनिधित्वको सुनिश्चितता नगरी उनीहरूलाई सरकारको मनोनयनको विषय बनाउनु सान्दर्भिक हुँदैन । सामाजिक सुरक्षा कोष सञ्चालक समितिलाई सरकारी हस्तक्षेपविना स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ । कानून व्यवसायमा अवकाशपश्चात् केही पनि सुविधा प्राप्त हुँदैन । कानून व्यवसाय मानसिक तथा शारीरिक रूपमा स्वास्थ्य भएसम्म गरिने पेशा हो । तथापि कुनै कारणबाट कानून व्यवसायी पेशाबाट अन्य पेशामा जान पनि सकिन्छ । व्यवसायीले राज्यबाट कुनै पनि सेवा सुविधा तथा निवृत्तभरण समेत प्राप्त गर्दैनन् । त्यसैले वृद्ध अवस्थाको सुरक्षा योजनाअन्तर्गत कोषमा सूचीकृत भई योगदान रकम जम्मा गरेमा फाइदा हुने देखिन्छ । पहिलो फाइदा करको भार कम हुन्छ । आयकर ऐन, २०५८ को दफा ६५ तथा आयकर नियमावली, २०५९ को नियम २१ बमोजिम कोषमा जम्मा गरेको रकम आय गणना गर्दा समावेश नगरी छूट प्राप्त हुन्छ । बिस्तारै रकम पनि सञ्चय हुँदै जाने र आयकरको भारसमेत कम हुन जाने देखिन्छ । त्यस्तै कोषमा जम्मा गरेबापत प्राप्त हुने प्रतिफलहरू कुनै दुर्घटनालगायत औषधि उपचारको क्रममा हुने खर्च व्यवस्थापनमा सजिलो हुन्छ । कानून व्यवसायी कल्याणकारी कोषको व्यवस्था भएता पनि यसको प्रभावकारी कार्यान्वयन भएको पाइँदैन । त्यसैले कानून व्यवसायीहरू कोषमा सूचीकृत भई लाभ लिनु उपयुक्त हुन्छ । यो सूचीकृत हुन पाउने व्यवस्था २०८० वैशाख १ गतेदेखि प्रारम्भ भएकाले यस विषयमा नेपाल वार एशोसिएशनलगायत पेशागत संस्थाले विशेष पहल गर्नुपर्छ । कानून व्यवसायीले कार्यालय खोली सूचीकृत हुँदा वा स्वरोजगारबाट समेतगरी दुवै तरीकाबाट सूचीकृत भई फाइदा हुने विषयमा सबैले यथा समयमा निर्णय गर्नु उपयुक्त हुन्छ । कोषको सफल कार्यान्वयन भएमा सम्पूर्ण श्रमिक, कामदार, कर्मचारी तथा स्वरोजगारमा रहेका व्यवसायीलगायत नागरिकलाई  फाइदा हुने देखिन्छ । लेखक बैंकिङ अपराध विषयमा विद्यावारिधि प्राप्त अधिवक्ता हुन् । 

सम्बन्धित सामग्री

यातायात उद्योगलाई सरकारले सामाजिक सुरक्षा कोषमा बाइपास गर्‍यो : अध्यक्ष स्वाँर

काठमाडौं । नेपाल यातायात राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले ६५ प्रतिशत स्वरोजगार बनाउने यातायात उद्योगलाई सामाजिक सुरक्षा कोषमा बाइपास गरेर लागू गर्न नसक्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघले योगदानमा आधारित सामाजिक सुरक्षा आजको आवश्यकता विषय राष्ट्रिय गोष्ठीमा बोल्दै अध्यक्ष स्वाँरले यस्तो बताउनुभएको हो । उहाँले सरकारले सामाजिक सुरक्षा कोषमा आवद्धताको […]

सामाजिक सुरक्षा योजना: योगदानकर्ता थप्न क्षेत्र बढाइयो

काठमाडौं। अब अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारीमा रहेका व्यक्तिले पनि सामाजिक सुरक्षा कोषमा योगदान गर्न पाउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधवार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ गर्नुभएपछि उनीहरूलाई कोषमा योगदान गर्न बाटो खुलेको हो ।  अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिअनुसार अनौपचारिक क्षेत्रका श्रमिकले सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत (न्यूनतम १ हजार ९१२ रुपैयाँ) रकम जम्मा गर्नुपर्छ । त्यस्तै स्वरोजगारमा रहेका व्यक्तिले सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३१ प्रतिशत (न्यूनतम २ हजार ९०९ रुपैया ३५ पैसा)का दरले अधिकतम यसको तीन गुणासम्म मासिक रूपमा कोषमा योगदान गर्न सक्छन् । त्यसपछि उनीहरू कोषबाट सञ्चालित विभिन्न योजनामा सहभागी हुन सक्नेछन् । यसअन्तर्गत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत रही विभिन्न सुविधा लिन सकिन्छ । अनौपचारिक क्षेत्रका श्रमिकको हकमा संघीय सरकार, प्रदेश सरकार वा स्थानीय तहले सह–योगदान गर्न सक्ने व्यवस्था पनि छ । कोषमा नियमित योगदान गर्ने योगदानकर्तालाई १ लाख रुपैयाँसम्मको औषधि उपचार, महिला योगदानकर्ताको हकमा न्यूनतम आधारभूत पारिश्रमिकको ९८ दिनसम्मको ६० प्रतिशतले हुन आउने रकम प्रसूति सुविधा, शिशु स्याहारबापत प्रतिशिशु १ महीनाको न्यूनतम आधारभूत पारिश्रमिक बराबरको रकम उपलब्ध गराइने व्यवस्था रहेको सामाजिक सुरक्षा कोषका अधिकारीहरूले जानकारी दिए । दुर्घटनामा ७ लाख रुपैयाँसम्मको उपचार खर्च, स्थायी असक्षमताको हकमा न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुन आउने रकमका साथै योगदानकर्ताको मृत्यु भएमा उसको आश्रित परिवारलाई पेन्सन सुविधा, अन्तिम संस्कार खर्चबापत २५ हजार रुपैयाँ र मृतकका सन्ततिको हकमा २१ वर्षसम्म शैक्षिक वृत्ति पाउने व्यवस्था छ । निजीक्षेत्रका प्रतिनिधिहरूले सामाजिक सुरक्षा कोषमा श्रमिकले योगदान गरेको रकम बैंकमा राखेर ब्याज लिनेभन्दा पनि विकासका पूर्वाधारमा लगानी गर्नुपर्ने बताएका छन् । शुभारम्भ समारोहमा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम बैंकमा राखेर ब्याज लिने मात्रै नभएर मुलुकको पूर्वाधार विकासमा लगानी गर्न आवश्यक रहेको बताए । उनले सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई एकै बास्केटमा राखेर ठूलो कोष बनाउनुपर्ने आवश्यकता पनि औंल्याए । अध्यक्ष मल्लले सामाजिक सुरक्षा कोषमा सबै निजीक्षेत्र समावेश हुनुपर्ने धारणा राख्दै यसमा चेम्बर सकारात्मक रहेको स्पष्ट पारे । उनले अनौपचारिक क्षेत्र र स्वरोजगार श्रमिकलाई समेट्ने भएपछि अब उद्योगी व्यवसायीले पनि समावेश हुने मौका पाउनुपर्ने माग राखे । उनले भने, ‘सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई एकै बास्केटमा राखेर सबैभन्दा ठूलो कोष बन्यो भने राम्रो हुन्छ । त्यो गर्न आवश्यक छ । कोषमा जम्मा भएको ४० अर्ब रुपैयाँ बैंकमा राखेर ब्याज लिने मात्रै नभएर मुलुकको पूर्वाधार विकासमा लगानी हुनुपर्छ ।’ कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले पनि कोषमा जम्मा भएको रकम सदुपयोग गर्नु आवश्यक रहेको बताए । उनले मुलुकको पूर्वाधार विकास निर्माण र गौरवका आयोजनामा लगानी गरेर कोषको उद्देश्यअनुसार श्रमिकको सुरक्षा दिन सक्नुपर्ने बताए । उनले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदा श्रमिकको सुरक्षा र क्षमता विकासमा टेवा पुग्ने बताए ।  अब अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिले पनि सामाजिक सुरक्षा कोषमा योगदान गर्न पाउने वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कोषमा अनौपचारिक क्षेत्रका श्रमिक थपिँदा चुनौती पनि थपिँदै जाने भन्दै चुनौती समाधानका लागि आवश्यक पूर्वाधार तयार गर्न कोषलाई सुझाव दिए । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आर्थिक रूपमा सक्रिय जनसंख्याको ६७ प्रतिशतभन्दा बढी अनौपचारिक क्षेत्रमा रहेको बताए । उनले रोजगारीमा बदलिँदो ढाँचाका कारण अनौपचारिक अर्थतन्त्र तीव्र गतिमा विकास भइरहेको बताए । उनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई समेत सुरक्षा कोषमा समावेश गर्नु महत्त्वपूर्ण रहेको बताए । अध्यक्ष अग्रवालले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले दिने सेवासुविधा सामाजिक सुरक्षा कोषले दिनुपर्ने बताए । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने र सूचीकृत भएर पनि योगदानको रकम कट्टा गरी आफ्नै कार्यालयमा राख्ने कार्यलाई दण्डनीय बनाउन माग गरे । उनले योगदान रकम नदिने कुनै कम्पनी र फर्मको दर्ता नवीकरण र कर चुक्ता प्रमाणपत्रजस्ता विषयमा कडाइ गर्नेतर्फ निर्मम बन्न आवश्यक रहेको बताए । उनले श्रमिकको मासिक तलबको ११ प्रतिशत र राज्यबाट मासिक ९ दशमलव ३ प्रतिशत योगदान गर्ने रकम राज्यको कुन अंगबाट कसरी योगदान गर्ने स्पष्ट गरिनुपर्ने बताए । उनले श्रमिकहरू ११ प्रतिशत योगदान गर्न तयार रहेको बताए । अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकारी कार्यालयमा अनौपचारिक रूपमा काम गर्ने श्रमिकलाई कोषमा कहिले समावेश गराउनुहुन्छ भनी प्रश्न पनि गरेका थिए । प्रधानमन्त्रीले श्रमिकका मागका विषयमा बोल्ने मात्रै नभएर व्यवहारमै गरेर देखाउनुपर्ने बताए । ५० लाख श्रमिकलाई समेटिनेछ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर नहुने बताउनुभएको छ । बुधवार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा प्रधानमन्त्री दाहालले त्यस्तो टिप्पणी गर्नुभएको हो ।  उहाँले वैदेशिक रोजगारीमा रहेका श्रमिकसमेत सामाजिक सुरक्षाको दायरामा आएका उल्लेख गर्नुभयो । अनौपचारिक क्षेत्रका ४० देखि ५० लाखसम्म श्रमिक र मजदूरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमश: सहभागी गराइने उहाँले बताउनुभयो । ‘आजको यो शुभारम्भबाट अब नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर हुने छैनन् भन्ने सन्देश अवश्य पनि गएको छ,’ उहाँले भन्नुभयो, ‘सरकारअन्तर्गत करारमा रहेका कर्मचारीलगायत सबैलाई आबद्ध गर्नेतिर मेरो प्रतिबद्धता रहेको जानकारी गराउन चाहन्छु ।’ प्रधानमन्त्री दाहालका अनुसार यस योजनाअन्तर्गत अनौपचारिक क्षेत्रका झन्डै ४० देखि ५० लाख श्रमिक र मजदूरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमश: सहभागी गराइनेछ । ‘अनौपचारिक क्षेत्रको खासगरी कृषि, निर्माण, यातायात र घरेलु श्रमिकको पक्षमा यस अभियानले गुणात्मक फड्को मार्नेछ,’ उहाँले भन्नुभयो, ‘सामाजिक सुरक्षा कोषको संयन्त्र समाजमा उपेक्षित, उत्पीडित र अन्यायमा परेका श्रमिक लगायतका वर्गको संरक्षणका लागि एउटा महत्त्वपूर्ण संयन्त्र हो ।’ सामाजिक सुरक्षाको कार्यक्रम स्थायी र गुणस्तरीय हुँदै जानुपर्ने उहाँको भनाइ छ । उक्त समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षाको दायरासँगै यसका फाइदा पनि बढाएर लगिने बताए । उनका अनुसार नेपाली श्रमबजारमा श्रमशक्तिको अभाव देखिन थालेको छ । यसको सम्बोधनका लागि सामाजिक सुरक्षाका योजनालाई परिमार्जन र विस्तार गर्नुपर्नेछ । आन्तरिक श्रम बजारको गतिशीलतामार्फत मुलुकको समग्र आर्थिक क्षेत्रलाई सक्रिय बनाउन आवश्यक अनेक नीतिगत व्यवस्थामा सरकारले काम गरिरहेको उनले जानकारी दिए ।  मन्त्री भण्डारीले सामाजिक सुरक्षा कोषबाट सञ्चालित योजनाहरू श्रम बजारका नयाँ क्षेत्रसम्म विस्तार र सेवाग्राहीको पहुँचका लागि शाखा तथा सम्पर्क कार्यालय स्थापना भइरहेको बताए ।

सामाजिक सुरक्षा कोषका अनुत्तरित प्रश्न

एउटा १८ वर्षको कामदार २०७८ साल साउन १ गतेदेखि काममा लाग्दा सामाजिक सुरक्षा कोषमा आबद्ध भएमा १५ वर्ष अर्थात् ३३ वर्षको उमेरमा सामाजिक सुरक्षा कोषको पेन्सन योजनाको हकदार हुन्छ । तर, उसले योजनामा जोडिन ६० वर्ष उमेरसम्म कुर्नुपर्छ । ३३ वर्षदेखि ६० वर्ष सबैभन्दा सृृजनशील उमेर हो । उसलाई यसै बखत बच्चा पढाउन, वृद्ध आमाबुबाको सेवा गर्न, घर बनाउन, सानोतिनो व्यवसाय गर्न अर्थात् जीवनयापन गर्न पैसाको धेरै खाँचो पर्छ । यस्तोमा आफ्नो पैसा हुँदाहुँदै महँगो दरमा ब्याज लिएर आफ्नो काम चलाउन बाध्य हुन्छ । सत्ताइस वर्षपछि त्यो पैसाको अवमूल्यन भइसकेको हुन्छ । सामाजिक सुरक्षा कोष भन्छ, यो त उसको सुरक्षा हो । कानून नै त्यस्तै बनेको छ, पालना गर्नुपर्छ । कानूनी बाध्यताका कारण कामदार सामाजिक सुरक्षामा आबद्ध भएपछि वर्षपछि उसले पाउने पेन्सन भनेको उसबाट जम्मा भएको रकमलाई १६० ले भाग गर्दा आउने रकम हो । यो भनेको मोटामोटी ७ दशमलव ५ प्रतिशत प्रतिफल हो । यो प्रचलित बैंक ब्याजदरभन्दा पनि कम हो । योगदानकर्ता ७५ वर्षको उमेरपछि स्वर्गवास भयो उसले साँवा रकम पाउँदैन । सामाजिक सुरक्षा कोष उसको औसत आयु ७२ हो, हामीले ७५ वर्षसम्म पेन्सन दिएर उपकार गर्‍यौं भन्छ । उसले दिएको पेन्सनको रकम ज्यादै न्यून छ । सामाजिक सुरक्षा कोषले भविष्यमा नेपाल विकासित देश हो, देश धनी हुन्छ, बैंकको ब्याजको आधार दर घट्छ अनि उसको प्रतिफल आकर्षक हुन्छ भन्छ । यस्तो काल्पनिक तर्कले एक कामदारले दुःखले आर्जेको रकम सामाजिक सुरक्षा कोषले बर्बाद गरिदिँदै छ भन्न पाउने कि नपाउने ? मानौं, गाउँमा एउटा इँट्टाभट्टा छ । त्यहाँका कामदारहरू भारतीयसहित ग्रामीण क्षेत्रका नेपाली छन् । उनीहरू वर्षमा करीब ३ महीना काम गर्छन् । उनीहरू कोषमा आबद्ध भएर  ३ महीनाको रकम काटियो । सिजन सकिएपछि उनीहरू घर जान्छन् पुनः आउँदैनन् । अब उनीहरूले रकम कसरी फिर्ता पाउने ? उसको पैसा केही वर्षपछि कोषको विविध आम्दानी बन्न पुग्छ । कुनै कामदार/कर्मचारीको दुर्घटना भयो र उसले कोषमा बुझाउनुपर्ने अघिल्लो महीनाको रकम बुझाएको रहेछ भनेमात्र उसले दुर्घटना बीमा पाउँछ । कोषमा कामदारले पैसा बुझाउने होइन । त्यो उसको व्यवस्थापकले गर्छ । १५ दिनभित्र सामाजिक सुरक्षा कोषमा पैसा बुझाउन सम्भव पनि छैन । व्यवस्थापनले पैसा नबुझाएका कारण किन कर्मचारीले दुःख पाउनुपर्ने ? अव्यावहारिक कानून संशोधनका लागि सामाजिक सुरक्षा कोष किन लागेन ? नेपाल सरकारले ७० वर्ष उमेरपछि ज्येष्ठ नागरिक भत्ता दिन्छ । अझ एकल महिला तथा अपाङ्गहरूलाई त ६५ वर्षमा नै दिन्छ । सरकारी नियम छ, पेन्सन वा अन्य कुनै भत्ता पाएको मानिसले विविध भत्ता पाउँदैन । अब सामाजिक सुरक्षा कोषमा आफै पैसा राख्ने, राखेको पैसाको न्यूनतम ब्याजभन्दा बढी पेन्सन पाउने, उक्त पेन्सनका कारणबाट वृद्ध भत्ता नपाउने किन ? यस्तोमा कोही पनि सामाजिक सुरक्षामा जान इच्छुक हुँदैनन् । श्रीमान् र श्रीमती कुनै काम गर्छन् र एकजनाको मृत्यु भए अर्कोले पेन्सन पाउँदैनन् । श्रीमान् वा श्रीमतीको जीवनभरको कमाइको पेन्सन नपाउनु के अपराध भएन र ? सामाजिक सुरक्षा कोष परिवारको वर्गीकरण पनि वैज्ञानिक छैन । यसले मातापितालाई कम प्राथमिकता दिएको छ । एक कामदारले सामाजिक सुरक्षा कोषमा जानभन्दा आफूले पाउने रकमको अन्यत्र नै बढी प्रतिफल आउने भए प्रतिस्पर्धाको आधारमा अन्यत्र जम्मा गर्न नपाउने व्यवस्था सम्पत्ति माथिको व्यक्तिको अधिकारको संवैधानिक हकको हनन हो कि होइन ? कुनै एक कामदार ६० वर्षमा सामाजिक सुरक्षा कोषको पेन्सन पाउने हकदार भयो । तर, उसको मृत्यु ६१ वर्षमा भयो र उसको श्रीमती रोजगार रहिछन् भने के त्यो कामदारको कोषमा रहेको रकम समाप्त भयो ? जटिल प्रश्न छ । श्रीमान् श्रीमती दुवै सामाजिक सुरक्षामा आबद्ध भएको अवस्थामा दुवैमध्ये एकजनाको सम्पूर्ण योगदान उपभोग नगरी खेर जाने अवस्था छ । सामाजिक सुरक्षा कोषमा कट्टी गरेको रकममा समेत आयकरको समस्या छ, सरकार किन यति अनुदार ? सामाजिक सुरक्षा कोष कमजोर कानूनी धरातलमा उभिएको संस्था हो । भोलि कानूनको छिद्र समाएर सरकारले युवा स्वरोजगार कोषजस्तै यसलाई खारेज गरिदियो भने सम्पूर्ण कामदारको भविष्य के हुने ? सामाजिक सुरक्षा कोषमा कामदारहरूले जम्मा १ प्रतिशतले जम्मा गरेको करीब २५ अर्ब रुपैयाँ छ । त्यसको हिसाब आज सामाजिक सुरक्षा कोषसँग छैन । शुरूमा जुन प्रयोजनका लागि यो रकम काटिएको थियो । पछि नियम संशोधन गरेर अन्य प्रयोजनका लागि उपयोग गर्न पाइँदैन । तर, सामाजिक सुरक्षा कोष निरीह छ । सामाजिक सुरक्षा कोषले कानूनको डन्डा देखाएर दुईथरीका नागरिक उत्पादन गर्न थाल्यो सरकारी क्षेत्र र निजीक्षेत्र । के यो जायज हो ? सरकारी पेन्सन योजनासँग मिल्दोजुल्दो योजना ल्याउनुपर्छ । कुनै एक कामदारलाई पैसाको आवश्यकता पर्छ । उसले १५ वर्षसम्म काम गर्‍यो भने उसको २० प्रतिशत रकम ६० वर्षसम्म पाउँदैन । ऊ १५ वर्षअघि नै नोकरीबाट राजीनामा दिनुपर्ने अवस्थामा पुग्छ । यसले गर्दा बेरोजगार बढ्नुका साथै संस्थाले योग्यतम कामदार गुमाउनुपर्ने अवस्था हुन्छ । अहिले नै हाम्रो जम्मा भएको २५ अर्ब रकम कोषअन्तर्गत ल्याई बीउ पूँजीका रूपमा उपभोग गरेको भए कोषमा केही आकर्षण बढ्ने थियो । विभिन्न औद्योगिक प्रतिष्ठानहरूमा कामदारले सामूहिक सौदाबाजीको आधारमा उपदान रकम थपिरहेको परिप्रेक्ष्यमा सामाजिक सुरक्षा कोषले यो अधिकार हटाइदिएको अवस्थामा कामदारहरूको भलाइ भयो त ? सामाजिक सुरक्षा कोष मूल स्रोत भनेको श्रम ऐन २०७४ हो । अहिले कोषले श्रम ऐनविपरीत कार्यविधिका माध्यमबाट नयाँ व्यवस्था गरेको छ । तर, त्यसको कानूनी हैसियत छैन । सामाजिक सुरक्षा कोषलाई समयसापेक्ष कामदारमैत्री र प्रतिस्पर्धात्मक बनाउन श्रम ऐन  संशोधनको विकल्प छैन । सामाजिक सुरक्षा कोषमा आबद्ध हुने कुरालाई स्वैच्छिक र प्रतिस्पर्धी बनाउनुपर्छ । गौतम वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष र उद्योग समिति संयोजक हुन् ।