गोरखपुरमा पार्टीस्कुल

दुर्गानाथ खरेल २०३१ सालको चौथो महाधिवेशनदेखि अस्तित्वमा आएको नेपाल कम्युनिस्ट पार्टी (मसाल) नेपाली कम्युनिस्ट आन्दोलनको मुख्य सैद्धान्तिक र व्यावहारिक रूपमा नेपालमा समाजवादी राज्यसत्ताको सुरुवात नौलो जनवादी क्रान्ति सम्पन्न गरेर गर्नुपर्छ भन्ने प्रमुख घटक हो । यो पार्टी आफ्नो स्थापनाकालदेखि अहिलेसम्म भूमिगत अवस्थामा जनताको बिचमा छ । मुख्य गरी भारत र संसारका अरू धेरै देशमा काम गर्न गएका मजदुरहरू नेपाली एकता समाजको नाममा समेट्न सकेको भए पनि र जनताको पक्षमा देशभित्र राजनीति गरेको भए पनि सङ्गठनात्मक हिसाबले ठुलो पार्टीमा गन्ति हुन सकेको छैन । जनताको राजनैतिक चेतनास्तर उठाएर उनीहरूलाई सही र गलत पार्टी छुट्याउन सक्ने अवस्थामा लगेर मात्र हाम्रो राजनैतिक विजय भई सशस्त्र सङ्घर्ष विजय हुन्छ; र, जनताको राज्यसत्ता कब्जा हुन्छ भन्ने मसालको मूल मान्यता हो । आफ्नो स्थापनाकालदेखि नै पत्रिका प्रकाशन, भाषण र प्रशिक्षण गरेर जनतालाई सचेत पार्ने काम गर्दै आएको छ । तर देशभित्र राजतन्त्रको कडा सामन्ती शासनका कारण हाम्रा नेताहरू भारतमा निर्वासित भएर पार्टीको गतिविधि सञ्चालन गर्दै आएका थिए । पञ्चायती निरङ्कुश शासन ढले पनि राजतन्त्र कायम रहेकाले र उसले नियुक्त गरेका मान्छेले बनाएको संविधानअनुसार बहुदलीय व्यवस्था भएकाले कुनै पनि समयमा प्रतिगमन भई निरङ्कुशता लादिन सक्छ भन्ने मसालको राजनैतिक विश्लेषणसहित आफ्ना भूमिगत सङ्गठनात्मक काम नेपालबाट भन्दा भारतबाटै अघि बढाउने गरिएको थियो । त्यस्तो प्रतिकूल अवस्थामा म एक जना जनशक्ति थपिएपछि गोरखपुरमा पहिलो पार्टी स्कुल उद्घाटन भएको थियो । उच्च माध्यमिक विद्यालयको शिक्षक पदबाट बलजफ्ती किसिमले राजनीतिक कारणले पेन्सन अवकास पाएपछि मलाई पार्टीले पूर्णकालीन कार्यकर्ताको रूपमा गोरखपुरमा पठाएको थियो । मेरो साथमा कपिलवस्तुका शिव पौडेल हुनुहुन्थ्यो । उहाँले हिन्दी बोल्न जान्नुका साथै स्थानीयसँग परिचयसमेत गरिसक्नुभएको थियो । पार्टीले भाडाको कोठा लिइसकेको थियो । हामी दुई जनालाई व्यवस्थापनको जिम्मा दिइयो । हामीसित टेबुल, कुर्सी, खाट केही पनि थिएन । पैसाको नाममा मलाई बुर्तिवाङबाट विदा हुँदा विदाइको कार्यक्रममा पार्टीका साथीहरूले खर्चका लागि ने.रु. १,४०० दिएका थिए । बाटाखर्चपछि बचेको त्यही रकम खर्च गरेर जस्तोतस्तो सामग्री तयार गरेर व्यवस्थापनको जिम्मा ...