नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यमाथि प्रश्न उठाउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत बागी उम्मेदवार, उम्मेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरी कारवाही गरेको जनाउँदै समितिको कार्यमाथि प्रश्न उठाउनुभएको हो ।
नेता पौडेलले गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ३२ उम्मेदवार र प्रस्तावक–समर्थकलाई विधानको दफा ४ बमोजिम पार्टी सदस्यता नरहने गरी निष्काशन गर्दा तनहूँ क्षेत्र नं १ का बागी उम्मेदवारलाई कारवाही नगरेकामा असन्तुष्टिसमेत जनाउनुभएको छ ।