पर्यटन मन्त्री आलेले सलमान खानलाई भने - 'माउन्टेन फ्लाइटमा सगरमाथा घुमाउन आतुर छु'

चैत ९, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बलिउड अभिनेता सलमान खानलाई सगरमाथा घुमाउन आतुर रहेको बताएका छन् ।  आगामी जेठ १४ मा नेपाल आउन लागेका सलमानसँग बुधवार भर्चुअल संवाद गरेका मन्त्री आलेले माउन्टेन फ्लाइटमा सगरमाथाको अवलोकन गराउन आफू आतुर रहेको बताएका हुन् । साथै मन्त्री आलेले नेपालको पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्नपनि सलमानलाई आग्रह गरे । विगत दुई वर्षदेखि फैलिएको कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्र प्रभावित छ । पछिल्लो समय स्थिति सहज बन्दै गएपछि संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले पर्यटनको प्रचाप्रसारमा जोड दिन थालेको छ ।  बलिउड अभिनेता सलमानको नेपाल भ्रमणले पर्यटनका लागि नेपाल खुला रहेको सन्देश जाने आपेक्षा मन्त्रालयले गरेको छ । मन्त्री आलेसँगको भर्चुअल संवादमा सलमानले आफू नेपाल घुम्न उत्साहित रहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धनमा सक्दो सहयोग गर्ने बताए । सलमान खान ‘दबङ रिलोडेड टुर’ कार्यक्रमका लागि आगामी १४ जेठ गते काठमाडौं आउन लागेका हुन् ।