एमसीसी ठेक्का रद्दले निम्त्याएको प्रश्न

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज सहयोगको कार्यक्रम सञ्चालन गर्न गठित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले ३१५ किलोमीटर लामो प्रसारण लाइन परियोजनालाई तीन भागमा बाँडेर आह्वान गरेको बोलपत्र रद्द गरेको छ । बोलपत्रमा सबैभन्दा कम रकमको प्रस्ताव नै लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि यो प्रक्रिया रद्द गरी पुन: बोलपत्र आह्वान गर्ने तयारीमा एमसीए नेपाल रहेको छ ।  एमसीसी परियोजनामा विवाद भएका कारण यसलाई शुरू गर्न ढिला भएकाले केही लागत बढ्नु स्वाभाविक हो । तर, ६६ प्रतिशतभन्दा बढी लागत बढ्नु भनेको अस्वाभाविक नै हो । यस्तो अस्वाभाविक किसिमले बोलपत्र पर्नु र प्रक्रिया नै रद्द हुनुले एमसीसी परियोजनामा प्रश्न उठेको छ : अब के हुन्छ ? परियोजना शुरू भएको ५ वर्षमा कुनै पनि हालतमा निर्माण सम्पन्न हुनुपर्ने र नभएमा नेपालले उक्त अनुदान सबै फिर्ता गर्नुपर्ने कडा प्रावधान राखिएको छ । यस्तो कडा प्रावधान राखिए पनि परियोजनाका लागि बोलपत्र नै आह्वान नभई पाँचवर्षे दिनगिन्ती शुरू गरियो । अर्थात् एमसीसी औपचारिक रूपमा लागू भएको घोषणा गरियो । अर्को, एमसीसी सम्झौता भएको झन्डै ५ वर्षपछि परियोजनाको लागत बढेकोतर्फ एमसीए नेपालले ध्यान नदिएको देखिन्छ ।  मुलुकको विकासका लागि सबै देशले दिने सहयोग समान रूपमा महङ्खवपूर्ण हुन्छ भन्ने कुरामा जुनसुकै दलको सरकार आए पनि एकमत हुन आवश्यक छ ।  सम्झौतापछिको मूल्यवृद्धि समायोजन हुने गरी परियोजनाको रकम किन आकलन गरिएन ? यसले एमसीसी परियोजनाका विरुद्ध अभियान चलाउनेलाई थप मौका दिएको छ । बढी लागतको ठेक्का पर्नुमा ठेकेदारहरूबीच साँठगाँठ पनि नहोला भन्न सकिँदैन । त्यस्तै परियोजनामा भएको ढिलाइले लागत बढेको कुरा एमसीए नेपालले अनुमान गर्न नसकेको हो कि भन्ने पनि देखिन्छ । सम्भावनाका यी दुवै विकल्पको परिणति नकारात्मक नै हुने देखिन्छ ।  अहिले नयाँ बोलपत्र आह्वान गर्ने तयारी गरिएको छ । त्यसमा मूल्य बढाएर बोलपत्र आह्वान गर्ने सम्भावना बढी देखिन्छ । त्यही मूल्यमा बोलपत्र आह्वान गर्ने हो भने कसैको पनि आवेदन नपर्ला पनि भन्न सकिँदैन । यसले नेपालले विकास निर्माणका कामलाई कसरी सही ढंगले व्यवस्थापन गर्ने भन्ने कुरा नै नजानेको भन्ने कुरालाई पुष्टि गर्छ ।  एमसीसी परियोजना नेपालका लागि महत्त्वपूर्ण छ । त्यसैले निर्धारित समयमा नै यो परियोजना सम्पन्न हुनुपर्छ । अन्यथा नेपालले ठूलो अनुदानको रकम गुमाउनेछ । साथै, अन्तरराष्ट्रिय जगत्मा नेपाल कार्यक्षमता नभएको देश हो भन्ने सन्देश जानेछ । अहिले पनि नेपालको कूटनीतिक क्षमतामा प्रश्न उठेको उठ्यै छ ।  अन्तरराष्ट्रिय मञ्चमा नेपाल कमजोर बन्दै गएको छ । यसो हुनुको कारण आन्तरिक राजनीतिमा देखिएको विकृति नै हो । कुनै पनि दलले स्पष्ट अडानका साथ नीति बनाएर काम नगर्दा कसैलाई पनि पत्याउन नसकिने गरी मुलुकभित्रका संस्थाहरूको क्षय हुँदै गइरहेको छ । यही कारण विदेशी मुलुकले पनि नेपाललाई कम महत्त्व दिइरहेका छन् ।  एमसीसी परियोजनामा नेपाल असफल भयो भने नेपालको विकासमा प्रमुख सहयोगी रहँदै आएको अमेरिकाको दृष्टिमा नेपाल झनै कमजोर देखिनेछ । त्यसैले एमसीसी परियोजना जसरी पनि समयमै सम्पन्न गर्न जेजस्ता रणनीति आवश्यक हुन्छ त्यसमा सरकार पूर्णरूपले लाग्नुपर्ने देखिन्छ ।  एमसीसी सहयोगलाई लिएर मुलुकको मत विभाजित हुनु हुँदैन । मुलुकको विकासका लागि सबै देशले दिने सहयोग समान रूपमा महत्त्वपूर्ण हुन्छ भन्ने कुरामा जुनसुकै दलको सरकार आए पनि एकमत हुन आवश्यक छ । चीनले यसका लागि गर्ने लगानी मोडल बारे नै सरकारहरूबीच मतैक्य छैन जसले गर्दा चीनको सहयोग के हुने र कस्तो हुने भन्नेसम्म कुनै पारदर्शी जानकारी आएको छैन । यस्तो व्यवहार रहिरहने हो भने विदेशी विकास साझेदारहरूको विश्वास गुमाउँदै जानुपर्ने हुन्छ भन्ने कुरामा सरोकारवाला सबै गम्भीर बन्नु जरुरी छ ।