चैत २८, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैङ्कर्स संघले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ ।
आइतवार बसेको संघको बैठकले अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो । बैङ्कर्स संघका कार्य समिति सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैठकले गाडी, सुनचाँदीसहित अत्यावश्यक बाहेकका वस्तुको एलसी तत्काल नखोल्ने निर्णय भएको जानकारी दिए ।
बैंकहरूले गत साता नै गाडीलगायत कम आवश्यक र विलासिताका वस्तुका लागि एलसी नखोल्न आफ्ना शाखालाई निर्देशन दिइसकेका छन् । तर उक्त विषयमा बैंकर्स संघले औपचारिक रुपमा आइतवार मात्र निर्णय गरेको हो ।
उनका अनुसार नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनअनुसार संघले सो निर्णय गरेको हो । संघले निजी गाडी, चिनी, चकलेट, चुइगम, ड्राई फुड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पफ्र्युम, काठका सामग्री, मोबाइललगायत सामग्री आयातका लागि एलसी नखोल्ने निर्णय गरेको हो ।
यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै विभिन्न ४७ ओटा वस्तुको आयातमा ५० प्रतिशतदेखि शतप्रतिशत मार्जिनको व्यवस्था लागू गरेको थियो ।
यस्तैगरी, गत सोमवार राष्ट्र बैंकले २७ ओटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएर गाडीलगायतका वस्तु आयातको एलसी रोक्नलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार सबै बैंकले गाडी लगायतका वस्तुको एलसी खोल्न बन्द गरिसकेका छन् ।
संघले औपचारिक रूपमै अर्को सातासम्मका लागि उल्लिखित वस्तुका लागि एलसी नखोल्ने निर्णय गरेको स्रोतले बताएको छ ।
ब्याजदर पनि नबढाउने
आइतवार नै बसेको संघको बैठकले आगामी वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको छ । बैङ्कर्सबीच ब्याज नबढाउने निर्णय भएसँगै अब ११ दशमलव शून्य ३ प्रतिशतको ब्याज दरले निरन्तरता पाउनेछ ।