पर्वतका दुई स्थानीय तहद्वारा खोप माग

पर्वत । पर्वतका दुई स्थानीय तहले सरकारसँग खोप माग गरेका छन् । कोरोना संक्रमण नियन्त्रणमा चुुनौती देखिएपछि स्थानीय तहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग खोप माग गरेका हुन् । उपलब्ध गराउन नसक्ने भए पालिकालाई नै खरिद अनुमति दिन उनीहरूको माग छ । पर्वतका नागरिकबाट खोपका लागि दबाब सिर्जना भएसँगै स्थानीय तह खोपको व्यवस्थापनमा जुटेका हुन् । सात स्थानीय तहमध्ये जलजला गाउँपालिका र फलेवास नगरपालिकाले कोरोनाविरुद्धको खोप माग्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएका छन् । स्थानीय तहले खोपमा भन्दा संक्रमित पहिचानमा मात्रै ध्यान दिएका थिए भने खोपका लागि संघीय सरकारको बाटो हेरेर बसेका थिए ।  फलेवास र जलजलाले खोप उपलब्ध गराउन मन्त्रालयलाई दबाब दिएका छन् भने नभए आफैं खरिद गर्ने कार्यविधि बनाएर दिन अनुरोध गरेका छन् । स्थानीय तहले कोरोना संक्रमण, व्यवस्थापन र उपचारमा लाखौं रुपैयाँ खर्चिए पनि सरकार–सरकारमार्फत खोप आउने कार्यविधिका कारण आफै खोप ल्याउन असमर्थ भएका बताएका छन् । जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले सरकारले कि खोप मागअनुसार दिनुपर्ने नभए आफैं खरिद गर्ने व्यवस्थाका लागि सरकारलाई दबाब दिएको जानकारी दिए । जलजलाले १५ हजार डोज खोप आवश्यक रहेको बताएको छ । फलेवासले २५ देखि २८ हजार नागरिकलाई खोप दिनुपर्ने आकलन गरेको छ । नगरप्रमुख पदमपाणि शर्माले अहिले कोरोना नियन्त्रणका लागि खोपकै आवश्यकता रहेको हुनाले सरकारसँग खोप उपलब्ध गराइदिन माग गरिएको बताए । नगरपालिकाले आफैं खरिद गर्ने हो भने विकास बजेट रकमान्तर गरेरै भए पनि ल्याउन तयार रहेको शर्माको भनाइ छ । स्वास्थ्य कार्यालय पर्वतका अनुसार जिल्लामा  पहिलो र दोस्रो डोज खोप ३ हजार २ सय ७१ जनाले लगाएका थिए । दोस्रो चरणमा ७० वर्षभन्दा माथिका ९ हजार ९ सय ११ जनाले खोप लगाएका थिए । ज्येष्ठ नागरिकले दोस्रो डोज खोप भने लगाउन पाएका छैनन् ।