सहकारी संस्थाहरूको नियमन : केन्द्रीय बैंकले नियमन गर्नु कति उपयुक्त ?

धेरै कालपछि अहिले रू. ५० करोडमाथि कारोबार गर्ने सहकारी क्षेत्रको नियमन केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) बाट हुनुपर्छ भन्ने आवाज सार्वजनिक रूपमै बाहिर आएको छ । यस्तो आवाज अन्यत्रबाट भन्दा पनि सरकारमा बस्नेहरूबाटै आएको हो । यति मात्र होइन, केन्द्रीय बैंककै एक उच्च पदाधिकारी सञ्चालकले अब सहकारी क्षेत्रको नियमन अनुगमन केन्द्रीय बैंकबाटै हुनुपर्छ भनेर सार्वजनिक समारोहमै भनेको सुनियो पनि । तिनका विचारमा उक्त बैंकमा एक विभाग खोलेर केही कर्मचारी राख्नेबित्तिकै सहकारीहरूको नियमन अनुगमन गर्न सकिन्छ भन्ने थियो । तर, त्यसको केही दिन पहिले मात्र जुन बेला सरकारका तालुक मन्त्रीबाटै सहकारीको नियमन अनुगमनलगायत नियन्त्रण केन्द्रीय बैंकलाई दिने कुरा बाहिरिएपछि केन्द्रीय बैंकका प्रवक्तामार्फत सहकारीको नियमन केन्द्रीय बैंकले गर्न नसक्ने कुरा पनि सार्वजनिक रूपमा आएकै हो, सुनिएकै हो पनि मिडियाबाट । यो दोहोरो कुरा हेर्दा के लाग्छ भने सरकार सहकारीको नियमनमा अझै स्पष्ट छैन जति केन्द्रीय बैंक स्पष्ट छ । तर, केन्द्रीय बैंकभित्रै पनि फरक विचार रहेछ भन्ने देखियो । केन्द्रीय बैंकको विद्यमान कर्मचारी संख्याले वा कुनै एक विभाग खोलेर २०/२५ कर्मचारी राख्दैमा तिनको नियमन र अनुगमन सम्भव छैन, सहकारीको हालको संख्यालाई हेर्दा धेरै कर्मचारीको आवश्यकता पर्छ । नियमनलाई सजिलो होला । तर, सुपरिवेक्षण स्थलगत वा अफसाइटका लागि भने हजारौं कर्मचारी आवश्यक पर्छ । सहकारी क्षेत्रको नियमन केन्द्रीय बैंकले गर्नेबित्तिकै तिनका समस्या छुमन्तर हुने होइन । मूल समस्या नियमन गर्ने संस्थाको चयन वा पदाधिकारीको होइन । समस्या तिनको व्यवस्थित दर्ता र इजाजत प्रक्रिया, चुस्त र भरपर्दो एवम् स्वच्छ अनुगमन र नियमनको हो । त्यस्तो प्रणाली नै विकसित नगरिएको अवस्थामा ३०औं हजार सहकारी संस्थाहरूको नियमन र अनुगमन केन्द्रीय बैंकबाट हुनुपर्छ वा गर्नुपर्छ भन्ने विचार नै सान्दर्भिक देखिँदैन । भइरहेका करीब ११५ ओटा वित्तीय संस्थाहरूको नियमन र अनुगमनमा त केन्द्रीय बैंकलाई भ्याई नभ्याई छ । अहिले पछिल्लो कालमा लघुवित्तीय संस्थाहरूमा देखिएको सुपरिवेक्षणकै समस्याका कारण त्यहाँ अनेकौं समस्याले विकराल रूप लिन लागेको सार्वजनिक नै छ । अहिले एकथरी कर्जा नै नतिर्ने अभियानमा छन् भने अर्कोथरी त्यस्ता संस्थाको खारेजीमै खुलेर लागेका छन् । ती सबैको जिम्मेवारी यतिखेर केन्द्रीय बैंकतिरै सोझिएको पनि छ । यस्तो अवस्थामा सहकारी क्षेत्रको नियमनलगायत अनुगमनको भारी केन्द्रीय बैंकलाई बोकाउनु भनेको अर्थतन्त्रमा उल्लेख्य योगदान दिइरहेका वित्तीय संस्थाहरूमाथिको विद्यमान नियमन र सुपरिवेक्षणलाई नै कमजोर बनाउनु हो । यसको अर्थ यो होइन कि सहकारी क्षेत्रको नियमन र अनुगमनै गर्न हुँदैन । सहकारी ऐनले त्यसको व्यवस्था नगरेको पनि देखिँदैन । सहकारीमा हाल देखिएको समस्या सहकारीको विचार, सिद्धान्त र उद्देश्यको विचलनकै कारणबाट आएको हो । सहकारी संस्थाले सहकारीको मूल भावना बिर्सेर वाणिज्य बैंक र वित्तीय संस्थाकै आवरणमा कारोबार गर्न थालेपछि र संस्थाका पदाधिकारीहरूले कारोबारको सन्तुलन मिलाउन नसकेपछि भाँडभैलो आएको हो । सहकारीकै विभिन्न संयन्त्रले स्वनियमन र केमल्स रेटिङ लगायत केही वर्षपहिले केन्द्रीय बैंककै प्राविधिक रायसल्लाहबाट थालनी गरिएका केही प्रुडेन्सियल नियमनका तौरतरीकाहरूको अवलम्बन पनि भएकै होलान् । तर, किन सहकारी जहिल्यै समस्यामा छन्, हुन्छन् ? केही समस्याग्रस्त सहकारीहरूमा राखिएको निक्ष्ोपको आकार हेर्दा के पनि अनुमान हुन्छ भने सहकारी कतै गलत प्रकारले कमाइएको पैसा राख्ने संस्था त भइरहेको छैन ? सहकारी क्षेत्रको नियमनको कुरा आजको होइन । यो करीब ३० वर्षपहिल्यै आएको कुरा हो । कुनै बेला यो लेखक पनि केन्द्रीय बैंकमा सहकारीकै विषयमा संलग्न भएकै हो । ऊ बेला नेपाली कांग्रेसको बलियो सरकारका चिनेजानेकै मन्त्रीसित पनि यस विषयमा संवादमा सहभागी हुने मौका पनि आएको हो । मलाई स्मरण भएसम्म, सहकारी ऐन २०४९ आउनुपूर्व, उक्त ऐनको कुनै दफा (सहकारीले बैंकिङ कारोबार गर्ने विषय, सम्भवतः दफा २६ हुनुपर्छ) माथि केन्द्रीय बैंकको समेत राय माग्दा केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐनसँग बाझिने गरी राखिएको दफाका बारेमा आफ्नो स्पष्ट धारणा राखेर पठाएको हो । सोही धारणामा अहिले पनि केन्द्रीय बैंक अडिग नै देखिँदा हामीले ऊ बेला उठाएको कुरा ठीकै रहेछ भन्ने लाग्छ । सहकारी क्षेत्रमा ३० वर्ष पहिल्यै सुल्ट्याउनुपर्ने सहकारीको नियमन र अनुगमनको कुरा अहिले ३० वर्षपछि पनि आइरहेको देख्दा लाग्छ हामी कहिल्यै समस्याको निदानको चुरोप्रति जिम्मेवार छैनौं, हुन खोज्दैनौं । ठूला सहकारीमा मात्र समस्या होइन, अहिलेका साना सहकारीहरू पनि कालान्तरमा ठूलै हुनतिर लाग्ने हुँदा सहकारीको नियमनमा स्वस्थ प्रणाली भिœयाउनुपर्छ । दर्ता गर्ने तर तिनको नियमनमा ध्यान नदिनाले नै सहकारीहरू समस्यामा परेका हुन् । ती कुनै न कुनै रूपले राजनीतिक परिवृत्तबाट घेरिने गरेका कारण पनि समस्यामा परेका देखिन्छन् । अहिले त सहकारीहरू स्थानीय निकाय मातहत सञ्चालित भएका हुँदा ती कुनै न कुनै रूपमा राजनीतिक राडारबाट परिमुक्त हुने सम्भावना पनि क्षीण छ । यस्तोमा केन्द्रीय बैंकबाट होइन बेग्लै तर स्वतन्त्र निकायबाट तिनको नियमन र अनुगमन, सुपरिवेक्षणको काम गराइनुपर्छ । यो निकाय स्वतन्त्र (वर्तमान राजनीतिक राडारबाट अलग्गै रहने गरी) तर स्वच्छ रूपको दोस्र्रो तहको निकाय (एसटीआई) मार्फत गर्न सकिन्छ । तिनमा नियमनभन्दा पनि स्वनियमनका विधिहरूको अवलम्बन गर्नुपर्छ । तर, तिनको दह्रो अनुगमन आवश्यक छ । सुशासन नै भत्कने गरी बनेका विद्यमान सहकारी सञ्चालन प्रक्रियामाथि नै व्यापक सुधार आवश्यक छ । सहकारी प्रणाली वित्तीय संस्थाभन्दा फरक प्रणालीमा चल्नुपर्ने संस्था हुन्् । अर्को कुरा, केन्द्रीय बैंकको विद्यमान कर्मचारी संख्याले वा कुनै एक विभाग खोलेर २०–२५ कर्मचारी राख्दैमा तिनको नियमन र अनुगमन सम्भव छैन, सहकारीको हालको संख्यालाई हेर्दा धेरै कर्मचारीको आवश्यकता पर्छ । नियमनलाई सजिलो होला तर सुपरिवेक्षण स्थलगत वा अफसाइटका लागि भने हजारौं कर्मचारी आवश्यक पर्छ । किनभने सहकारीका समस्या अहिलेको होइन, प्रणालीगत पनि हो । सहकारी भनेको बाफियाअन्तर्गतको संस्था होइन । त्यहाँ अन्य सामाजिक आर्थिक र राजनीतिक अभीष्टका जालोहरू पनि नजानिँदो पाराले जोडिएर आएको हुँदा तिनको अनुगमन भनेजस्तो सहज छैन । एसटीआईको कुरा आजभन्दा ३० वर्ष पहिल्यै आएको हो । नेपालमा सहकारीको आन्दोलन शुरू भएको ६७ वर्ष बितिसकेको छ । सहकारीका लागि सरकारी संयन्त्रहरू प्नि बाहिरबाट हेर्दा बलियो होइन भनेर भन्न सकिँदैन । सहकारीको अलग्गै मन्त्रालय छ, राष्ट्रिय सहकारी विकास बोर्ड छ । सहकारी तालीम केन्द्रहरू छन् । विभिन्न खाले सहकारीकै हितका लागि गठन भएका व्यवसायगत संघ र संगठनहरू पनि छन् । बचत तथा सहकारीका लागि नेफ्स्कुन पनि छ । तर, सबै प्रकारका संस्थाहरू भईकन पनि सहकारीकै रकमचाहिँ विचलन हुने गर्छ , किन ? जहिल्यै उठ्ने एउटा गम्भीर प्रश्न हो । तिनका कारोबारको पारदर्शितामाथि नै जहिल्यै प्रश्नहरू उठ्ने गरेका छन् । भन्न त सरकारले अर्थतन्त्रको तेस्रो खाँबो भनेर सहकारी क्षेत्रलाई बेला बेला चिनाएको पनि छ । तर, खर्बौंको कारोबार हुने सहकारीलाई नियमन गरेर लानुपर्छ भन्ने ज्ञान अहिलेसम्म पनि आएको देखिएन । प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

सम्बन्धित सामग्री

सहकारी प्रणालीलाई सुधार्न केही तत्त्वज्ञान

बैंक वित्तीय संस्थाकै हाराहारी कारोबार भएका ओरिएन्टल, सिभिल होम्स, गौतमश्री, बाराहीलगायतमा कतिपय सहकारी संस्था यतिखेर समस्याग्रस्त मात्र होइन, तिनका पदाधिकारीहरू पनि अर्बाैं रकम विचलनको आरोपमा प्रहरी अनुसन्धानमा तानिएका घटना र कतिपय सहकारी बन्द भई लाखौं सदस्यको बचतको भविष्य अन्योल भएका उदाहरणले सहकारी संस्थाकै भविष्यमाथि गम्भीर प्रश्न उभिएको पनि धेरै भयो । तैपनि यो क्षेत्र सुधार गरेर लानुपर्छ भन्ने तत्त्वज्ञानचाहिँ सरोकारीहरूलाई अहिलेसम्म पनि आएको देखिएन । बरु उल्टै संघीयताका नाममा सहकारीहरू यतिखेर कुनै प्रदेश र कतै स्थानीय सरकारअन्तर्गतका राजनीतिक दायरामा नियन्त्रित हुन पुगेका छन् । मूल कुरा सहकारीहरूले सहकारीका आधारभूत सिद्धान्तबाट विचलित भएर वित्तीय संस्थाकै सिको गर्दै जाने तर ती कुनै बलियो नियमनभित्र नरहेकै कारण भद्रगोलका गोलचक्करमा परेका हुन् । ती वित्तीय कारोबारी नै भएकाले तिनलाई राजनीतिक निकायबाट अनुगमन र नियन्त्रण गरिनु उचित मात्र होइन, स्वार्थ नै बाझिने हुँदा तिनलाई अलग्गै निकाय तर स्वतन्त्र र विज्ञहरू भएको संस्थाबाट नियमन र सुपरिवेक्षण गर्ने व्यवस्था हुनुपर्छ । सहकारी क्षेत्रको दिगोपनाका लागि यो पहिलो तत्त्वज्ञान हो ।  दोस्रो, एकथरी विचार सहकारीलाई केन्द्रीय बैंकको अनुगमनको दायरामा ल्याइयो भने यो क्षेत्रको समस्या समाधान हुन्छ, कायापलटै हुन्छ भन्ने पनि छ । यो विचारले यता पछिल्ला दिनमा निकै चर्चा मात्र पाएको छैन कुनै निश्चित आकारको कारोबार गर्ने सहकारीहरूको नियमन केन्द्रीय बैंकलाई दिनेगरी ऐनमै संशोधनको प्रस्ताव पनि यतिखेर संसद्मा विचाराधीन छ । मूल कुरो केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) लाई नियमन र अनुगमनको जिम्मा दिनेबित्तिकै सहकारीका समस्या सबै निप्टारा हुन्छन् भन्ने यो विचार सैद्धान्तिक रूपले ठीकै भए पनि व्यावहारिक रूपले सम्भव देखिँदैन । अहिले कार्यरत ११८ ओटा चारखाले वित्तीय संस्थाकै नियमन र अनुगमन एवम् सुपरिवेक्षण नै चुस्त र बलियो हुन नसकिरहेको परिपे्रक्ष्यमा करीब ३१ हजारको संख्यामा रहेका सहकारी संस्थाहरूको सुपरिवेक्षण उक्त संस्थाबाट सम्भव देखिँदैैन । अर्को कुरा, केन्द्रीय बैंकबाट नियमन वा सुपरिवेक्षण नै भइहालेको खण्डमा पनि उसले ल्याउनसक्ने विवेकशील नियमनभित्र अहिलेका ९० प्रतिशतभन्दा बढी सहकारी बाहिरै पर्छन् । त्यसको अर्थ हो, केन्द्रीय बैंकको छाताभित्र पर्दा सहकारीहरूलाई नै अप्ठ्यारो छ । उदाहरणका लागि : मानांै कुनै पूँजीगत नीति र संस्थापकहरूका लागि फिट एन्ड प्रपर टेस्ट मात्र पनि यो क्षेत्रमा ल्याइयो भने अहिलेका सहकारीहरू त्यसबाट तर्सिएर भइगयो अहिलेकै नीति नियम र परिधि ठीक छ भनेर तत् क्षेत्रकाहरू लाग्नेछन् । यसैले सहकारीलाई केन्द्रीय बैंकको जिम्मा दिनेमा भन्दा पनि हाल प्रचलित स्वनियमनको अन्तरराष्ट्रिय अभ्यासमा जाने वा अन्य कुनै स्वशासित निकाय खडा गरेर नियमनलगायत त्यसको अनुगमन, निरीक्षण र सुपरिवेक्षण कार्य गराउनुपर्छ । यो क्षेत्रको सुधारका लागि यो दोस्रो तत्त्वज्ञान हो । तेस्रो, सहकारीहरू एकै प्रकृतिका छैनन्, हुँदैनन् पनि । तर, जुनसुकै प्रकृतिका सहकारीले पनि वित्तीय सहकारीकै रूप लिएको देखिएको हुँदा वित्तीय सहकारी र अरू प्रकृतिका सहकारीको कार्यगत दायरा स्पष्ट हुनुपर्छ । यसैगरी सहकारीका शाखा विस्तार पनि बैंक वित्तीय संस्थाका भैंm हुने गरेका पाइन्छन् । यो गलत नीति हो । सहकारीलाई कुनै निश्चित कार्यक्षेत्र तोकिनैपर्छ र तिनलाई शाखाविस्तार गर्ने नीति उचित होइन । यो तेस्रो तत्त्वज्ञान हो । चौथो, सहकारीहरूले अहिले लघुवित्तीय सेवा पनि प्रदान गरिरहेका छन् । बाहिर ती हेर्दा त्यस्तो नदेखिए पनि तिनका कारोबार त्यससित सरोकार राख्छन् । यसैले सहकारीलाई लघुवित्तीय सेवाबाट अलग गर्नुपर्छ । सहकारी भनेको कुनै निश्चित उद्देश्यका लागि सदस्यहरूबीच सहकार्यको भावनाले आर्थिक गतिविधि गर्ने संस्था भएकाले त्यस भावनाको मर्म स्थापना हुने गरी कारोबारलाई त्यहीँ सीमित हुन दिनुपर्छ । लघुवित्तीय सेवा गर्दा केन्द्रीय बैंकको नीति आकर्षित हुने देखिन्छ । सहकार्य र वित्तीय सेवा फरक कुरा हुन् । पाँचौं, समस्याग्रस्त बनेका माथिका सहकारीमा बचतकर्ताको बचत रकमको आकार हेर्दा भने ती अपत्यारिलो लाग्नु स्वाभाविक हो, कतै बैंक र सहकारीको बचतमा दिने ब्याजदरको फरकका कारण बढी ब्याज आर्जनका लागि एवम् वित्तीय संस्थाहरूमा भैंm केवाइसीको झन्झटका कारण वित्तीय क्षेत्रकै निक्षेप सहकारीतिर पलायन भइरहेको त छैन ? भन्ने आशंका पनि हुन्छ । यसैले सहकारीमा उँचो ब्याज दरमाथिको लगाम र कुनै निश्चित आकारको बचतको सीमा आवश्यक देखिएको छ । बजारमा बैंक वित्तीय क्षेत्रको कर्जाको उच्च ब्याजदरको चर्को दबाब भइरहँदा, सडकै आन्दोलन पनि भएकै छ । तर, सहकारीको उँचो ब्याजको चाहिँ कतै पनि चर्चा नउठेको देख्दा लाग्छ सहकारीले लिने चर्को ब्याजले अर्थतन्त्रमा केही असर गर्दैन पो कि ? अब बचतमा १५ प्रतिशत ब्याज दिने सहकारीले केही नभए पनि २१ प्रतिशतभन्दा घटीको ब्याजमा त कर्जा दिँदैन होला । त्यसलाई के भन्ने ? यो बुझ्नै नसकिएको अर्को तत्त्वज्ञान हो ।  वासलात र नाफा नोक्सानीको विवरण र कर्जाको गुणस्तरका बारेका जानकारी नभई तिनका वित्तीय कारोबारको स्वरूपबारे यकीनन भन्न सकिँदैन । यसैले नेपाली लेखामापन प्रणालीमा आधारित रहेर भए पनि वासलात र वित्तीय विवरणहरू प्रकाशित गर्न लगाउनुपर्छ ।  छैटौं, सहकारी उन्नयनका लागि नै भनेर देखिन आएको यतिबिघ्न संस्थागत संयन्त्रहरू : गरीबी निवारण तथा सहकारी मन्त्रालय, राष्ट्रिय सहकारी बोर्ड, सहकारी विभाग, सहकारी रजिस्ट्रारको कार्यालय, सहकारीका जिल्ला कार्यालयहरू, पेशागत सहकारी संघसंस्थाहरूका जिल्ला, प्रदेश र राष्ट्रिय संगठनहरू, नेफ्स्कुन, सहकारी प्रशिक्षण केन्द्रजस्ता थुप्रै संयन्त्र देखिए पनि सहकारी क्षेत्रमै समस्या आइरहनु भनेको उति शोभनीय होइन । यति धेरै संयन्त्रहरूको के काम ? मन्त्रालय नै भएको अवस्थामा बोर्डजस्तो राजनीतिक संकायको औचित्य देखिँदैन । यी सबै संस्थाको उपस्थिति आआफ्नो ठाँउमा ठीक वा बेठीक होलान्, तिनका बारेमा बृहद् बहस गर्न सकिन्छ । तर, यो क्षेत्रको नियमनका लागि अति आवश्यक संस्था सेकन्ड टायर इन्स्टिच्युटको स्थापनातिर सहकारी प्रणाली आएको ७ दशकसम्म पनि कसैको चासो गएको देखिएन । यो अर्को तत्त्वज्ञान हो ।  सातौं, सहकारी क्षेत्रमा खट्किएको अर्को पक्ष के पनि हो भने सहकारीको वासलातको वास्तविक आकार कस्तो छ ? तिनका बारेमा अहिलेसम्म सार्वजनिक जानकारी उपलब्ध छैन । जेजति उपलब्ध तथ्यांक छन् ती प्रचारमुखी अभीष्टबाट आएका अभियानलक्षित मात्र छन् । वासलात र नाफा नोक्सानीको विवरण र कर्जाको गुणस्तरका बारेको जानकारी नभई तिनका वित्तीय कारोवारको स्वरूपबारे यकीनन भन्न सकिँदैन । यसैले हाल सहकारी क्षेत्रले अन्तरराष्ट्रिय अभ्यासको त नहोला सही तर कमसे कम नेपाली लेखामापन प्रणालीमा आधारित रहेर वासलात र वित्तीय विवरणहरू प्रकाशित गर्ने संस्कारको तत्त्वज्ञान भने लिनैपर्छ । अन्त्यमा, नेपालमा प्राय: सहकारीहरू मूल सिद्धान्त (सहकारीका सात सिद्धान्त) बाट विचलित देखिन्छन् । यसो भनिरहँदा सबै सहकारीहरू माथि उल्लेख गरिएका सिभिल र ओरिएन्टल आदि जस्तै हुन् भन्न खोजिएको होइन ।  खासगरेर ग्रामीण क्षेत्र र बैंक तथा वित्तीय संस्थाहरू पुग्न नसकेका स्थानमा सहकारीहरूले राम्रो काम गर्न सक्छन् , गरेका उदाहरण पनि छन् । तर, विडम्बना के छ भने सहकारी संस्थाहरूको उपस्थिति ग्रामीण क्षेत्रमा भन्दा शहरी र अझ काठमाडौं उपत्यकामा बाक्लो देखिएको छ । नेपाली अर्थतन्त्रको संरचना हेर्दा यहाँ कृषि र त्यससित सरोकार रहेको उत्पादन र बजारीकरण, स्वास्थ्य र शिक्षाका क्षेत्रमा सहकारीहरू आउनुपर्ने थियो तर तीभन्दा बचत तथा ऋण सहकारीकै संख्या अत्यधिक देखिनुबाट पनि यो क्षेत्रमा सहकारी नामले मात्र सहकारी र कामले चाहिँ वित्तीय अपचलन र आमनागरिकका नजरमा ठगीखाने भाँडो साधनका रूपमा विकसित हुन लागेको हो कि ? भन्ने नै अनुभूत भइरहेकाले कमसे कम अब यसको साख गिर्न नदिने हो भने माथि प्रस्तुत केही तत्त्वज्ञानलाई ग्रहण गर्ने हिम्मत गर्नैपर्छ । प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

भुक्तानी सेवाप्रदायकका नैतिक कठिनाइ

विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि मुलुकले अवलम्बन गरेको खुला बजार अर्थतन्त्र, निजीकरण र बजारीकरणले निजीक्षेत्र क्रमशः सक्षम हुँदै आएको छ । मुलुकको विकास र राजस्व असुलीमा यस क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको छ । सोही नीतिअनुसार केन्द्रीय बैंकले बैंक वित्तीय संस्थाहरूको स्थापना र सञ्चालनमा सरल नीतिगत व्यवस्था अवलम्बन गरेअनुरूप बैंक वित्तीय संस्थाहरूको संख्यामा उल्लेखनीय वृद्धि भयो । बैंकिङ विभागको कार्यकारी निर्देशक अध्यक्ष हुने संस्थाले भूलवश कुनै निर्देशनको परिपालन नगरेको अवस्थामा बैंकको कार्यकारी निर्देशक आफैले आफूलाई स्पष्टीकरण सोध्नुपर्ने हुन्छ । बैंक वित्तीय संस्थाहरूको संख्यात्मक वृद्धिबाट विभिन्न जोखिममा क्रमशः वृद्धि, अस्वस्थ प्रतिस्पर्धाको सृजना तथा निरीक्षण सुपरिवेक्षणमा असजिलो महसूस भएकाले धेरै शाखा, प्रणालीगत जोखिम वहन र न्यूनीकरण गर्न सक्ने क्षमता, अधिक चुक्ता पूँजी भएको सक्षम बैंक वित्तीय संस्थाको आवश्यकता महसूस गरी पूँजी वृद्धि गर्न वा मर्जरमा जान विभिन्न सहुलियत प्रदान गरी बैंकले सहजीकरण गरिरहेको छ । २०७८ माघसम्ममा ‘क’ वर्ग वाणिज्य बैंक, २७ ‘ख’ वर्ग विकास बैंक, १७ ‘ग’ वर्ग वित्त कम्पनी, १७ ‘घ’ वर्ग लघुवित्त वित्तीय संस्था, ६६ गरी १२७ ओटा संस्था कायम छन् । बैंक वित्तीय संस्थाहरूको संख्यामा वृद्धि भएसँगै बैंकले वित्तीय साक्षरता कार्यक्रमलाई विस्तारित रूपमा कार्यान्वयन गर्‍यो । बैंकिङ क्षेत्रमा खाता सञ्चालन, कर्जा उपभोग, निक्षेप परिचालन, रकम स्थानान्तरण, तथा बैंकिङसम्बन्धी विविध कार्यहरू गरी चेकमार्फत कारोबार गर्ने जनताको संख्यामा अत्यधिक वृद्धि हुँदै गयो । क्लियरिङ हाउससम्बन्धी काम गर्ने छुट्टै संस्था नभएकाले साविक बैंकिङ कार्यालयलबाट उक्त कार्य भइरहेको थियो । बिहानको कार्यालय समय र बेलुकाको कार्यालय समयभन्दा अघि बैंक वित्तीय संस्थाका चेक लिई आउने कर्मचारी, सवारीसाधनको व्यवस्थापनमा बैंकलाई अप्ठ्यारो स्थितिको सामना गर्नुपर्ने भयो । कर्मचारीको समय खर्च, सवारीसाधनको खर्च, चेकको व्यवस्थापन गरी समयमा खातामा रकम जम्मा गर्नुपर्ने तथा अन्तरराष्ट्रिय स्तरको क्लियरिङ हाउससमेत स्थापना गर्न आवश्यक देखिएकाले केन्द्रीय बैंक, बैंक वित्तीय संस्थाहरू र निजी कम्पनीको संयुक्त लगानीमा नेपाल क्लियरिङ हाउस लिमिटेडको अवधारणाले मूर्तरूप लिन पुग्यो । बैंक १० प्रतिशत, वाणिज्य बैंकहरू ५०, विकास बैंकहरू १५, वित्त कम्पनीहरू १५, र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको १० प्रतिशत शेयर बाँडफाँटमा उक्त कम्पनी २०६५ पुस ८ गते स्थापना भयो । संस्थाले २०६९ बाट चेकको क्लियरिङ शुरू गरी सफलतापूर्वक सञ्चालनपश्चात्, इन्टर बैंक पेमेन्ट सिस्टम्स, कनेक्ट आईपीस, कनेक्ट आरटीजीएस, कर्पोरेट पे, नेशनल पेमेन्ट इन्टरफेसजस्ता प्रणालीहरू सञ्चालन गरी प्रणालीगत माध्यमबाट गरिने कारोबारमा आधुनिकतातर्फ अगाडि बढाइरहेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ दफा ७ (२) खण्ड (क) मा ‘बैंकको आफ्नो कामकारबाही वा दायित्व पूरा गर्न सहयोग हुने काम कारबाही गर्ने संस्थालाई उक्त संस्थाको कुल पूँजीको १० प्रतिशत ननाघ्ने गरी ऋण प्रदान गर्ने वा त्यस्ता संस्थाको शेयरमा स्वामित्व प्राप्त गर्ने’ व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुरूप बैंकको नेतृत्वमा नेपाल क्लियरिङ हाउस लिमिटेडको स्थापना भई सञ्चालक समितिको अध्यक्षमा बैंकिङ विभागका कार्यकारी निर्देशक तोकिने परम्परा रही आएको छ । वित्तीय समावेशिता, विद्युतीय माध्यमबाट गरिने कारोबारको पहुँच विस्तार गर्न, सानो रकमको भुक्तानीका लागि ठूलो रकम खर्चिनु पर्ने बाध्यताको अन्त्य गर्न, लाइनमा बसी कारोबार गर्ने परिपाटीको अन्त्य गरी वचत समयलाई सृजनशील कार्यमा लगाउन भुक्तानीलाई प्रविधिमय बनाउन खोजिएको छ । यसका लागि मोबाइलबाट वा अन्य उपकरणको माध्यमबाट गरिने कारोबारको विकास गरी क्रमशः नगदबाट गरिने कारोबारलाई कम गर्ने उद्देश्यले बैंकले भुक्तानी तथा फछ्र्योट विनियमावली, २०७२ जारी गरी विशिष्टीकृत विभागको रूपमा भुक्तानी प्रणाली विभागसमेत गठन गरेको छ । यसले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्था/संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३ लागू गरी विद्युतीय माध्यमबाट गरिने कारोबारको नियमन, ओभरसाइट र सुपरिवेक्षण गर्ने जिम्मेवारी तोकिदिएको छ । उक्त विभागले बैंक वित्तीय संस्थाहरूलाई विद्युतीय माध्यमबाट गरिने कारोबारका विभिन्न उपकरण जारी गर्ने अनुमतिपत्र प्रदान गरेको तथा गैरबैंक तथा वित्तीय संस्थाहरूलाई समेत कारोबारको पहुँच विस्तार गरी वित्तीय समावेशिता कायम गर्ने उद्देश्यले हालसम्म १० भुक्तानी प्रणाली सञ्चालक र २७ भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई स्थापना र सञ्चालन अनुमतिपत्र प्रदान गरिसकेको छ ।  भारतमा भारतीय रिजर्व बैंकको अगुवाइमा शुरूमा १० प्रमुख वाणिज्य बैंकहरूको संयुक्त लगानीमा नाफारहित संस्थाको रूपमा सन् २००८ को डिसेम्बरमा अधिकृत पूँजी ३ विलियन र चुक्ता पूँजी १ विलियन भारतीय रुपया रहने गरी नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया स्थापना गरिएको थियो । सन् २०१६ मा सार्वजनिक १३, निजी १५ बैंकहरू, विदेशी बैंक १, अन्तरप्रदेशीय सहकारी बैंक १०, क्षेत्रीय ग्रामीण बैंकहरू ७ उक्त संस्थामा आबद्ध भएका छन् । उक्त संस्थाको सञ्चालक समितिको अध्यक्ष कार्यकारी नभई मानार्थ मात्र हुने तथा उक्त पदमा केन्द्रीय बैंकबाट प्रतिनिधित्व गर्ने व्यवस्था मिलाइएको छ । विद्युतीय माध्यमबाट गरिने कारोबार बैंक वित्तीय संस्थाहरूबाट मात्र सञ्चालन गर्दा दूररदराजसम्म पहुँच विस्तार गर्ने सम्भावना न्यून भएकाले अन्तरराष्ट्रिय अभ्यासलाई हेरेर गैरबैंक वित्तीय संस्थाहरूलाई संस्था स्थापना र सञ्चालन गर्न अनुमति प्रदान गर्ने नीतिगत व्यवस्थाअनुरूप धेरै संस्था स्थापना भई ठूलो लगानी, दक्ष जनशक्ति भएका बैंक वित्तीय संस्थाहरूसँग विद्युतीय कारोबारको पहुँच विस्तारमा प्रतिस्पर्धा गरिरहेका छन् । छोटो समयमा वालेट, कारोबार संख्या र कारोबार रकमको तथ्यांक केलाउँदा उक्त व्यवस्था प्रगति उन्मुख देखिन्छ । प्रणाली सञ्चालक र सेवाप्रदायक संस्थाहरू बैंकबाट अनुमतिपत्र प्राप्त भएकाले परिपत्र, निर्देशन, सूचना, आदेश पूर्णरूपमा परिपालना गर्नुपर्ने, नभए कारबाहीको भागीदार बन्नुपर्ने कानूनी व्यवस्था रहेको छ । तर, नेपाल क्लियरिङ हाउस लिमिटेडको स्थापनादेखि बैंकिङ विभागको कार्यकारी निर्देशक सञ्चालक समितिको अध्यक्ष हुने परम्परा रहेकाले अन्य सेवाप्रदायक संस्थाहरूलाई यस व्यवस्थाले नैतिक दबाब सृजना गरेको छ । भुक्तानी प्रणालीको नियमन, निगरानी र सुपरिवेक्षण भुक्तानी प्रणाली विभागको कार्य क्षेत्रभित्र पर्छ । बैंकिङ विभागको कार्यकारी निर्देशक अध्यक्ष हुने संस्थाले भूलवश कुनै निर्देशनको परिपालन नगरेको अवस्थामा उक्त विभागको कार्यकारी निर्देशकले स्पष्टीकरण सोध्नुपर्ने हुन्छ । बैंकिङ विभागको कार्यकारी निर्देशकले सञ्चालक समितिमा छलफल गराई प्रतिउत्तर पेश गर्नुपर्ने अवस्था आएमा दुई विभागको राम्रो सम्बन्ध नहुन सक्छ । बैंकिङ विभागको कार्यकारी निर्देशक भुक्तानी प्रणाली विभाग र भुक्तानी प्रणाली विभागको कार्यकारी निर्देशक बैंकिङ विभागमा सरुवा हुन सक्ने भएकाले विभागीय कामकारबाहीमा सामाञ्जस्य नहुन सक्छ । यसबाट दुवै विभागीय प्रमुख एकै स्थानमा सहभागी हुने कार्यक्रममा अन्य भुक्तानी प्रणाली सञ्चालक र सेवाप्रदायक संस्थाहरूलाई जिज्ञासा र समस्या उठान गर्नसमेत समस्या हुन सक्छ । बैंककै कार्यकारी निर्देशकहरू समग्र भुक्तानी प्रणालीको पहुँच विस्तारमा देखिएका समस्याको समाधान खोज्नुपर्नेमा, कुनै एक संस्थाको पक्षमा वकालत गर्नुपर्ने अवस्था आएमा बैंकलाई र अन्य सेवाप्रदायक संस्थालाई समेत सहज हुन सक्ने देखिँदैन । बैंकबाट जारी निर्देशनहरू सम्पूर्ण संस्थाहरूले अक्षरशः पालना गर्नुपर्ने भएकाले संस्थामा गरिएको १० प्रतिशत लगानीको हिसाबबाट कार्यकारी निर्देशकलाई सञ्चालक समितिको अध्यक्षमा प्रतिनिधित्व गराइनुभन्दा निर्देशक/उपनिर्देशक तहबाट प्रतिनिधित्व गराइनु उपयुक्त हुन्छ । यसले बैंकको अन्तर विभागीय काममा समेत सहजता हुन्छ र सेवाप्रदायक संस्थाहरूले आफ्ना अप्ठ्याराहरू सहज रूपमा नियमनकारी निकायसमक्ष उठान गर्न सक्छन् । भित्री रूपमा सेवाप्रदायक संस्थाहरूलाई परिरहेको कठिनाइलाई बैंकले सहज रूपमा समाधान गरिदिएमा संस्थाहरू नैतिक दबाबबाट बाहिर आउन सक्ने देखिन्छ । लेखक बैंकिङ तथा आधुनिक भुक्तानी प्रणालीका जानकार व्यक्ति हुन् ।

सहकारीको नियमन र अनुगमन कसले गर्ने ?

यतिखेर नेपालको सहकारी वृत्तमा सहकारीहरूको अनुगमनमा केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) सरिक हुने वा उसलाई सरिक गराएर लाने चर्चाहरू आउन थालेका छन् । यस्तो चर्चा विगतमा पनि नभएका होइनन् । केन्द्रीय बैंककै केही कर्मचारीहरू सहकारीमा गएर तिनका अनुगमन कार्यमा नसघाएका पनि होइनन् । अहिले सहकारीहरूलाई जुन किसिमको एकखाले नियमन वा स्वनियमनहरूको व्यवस्था गरिएको देखिन्छ, त्यो केन्द्रीय बैंककै हार्दिक सरसल्लाहकै उपज हो । सहकारी ऐनमा पनि केन्द्रीय बैंकले कुनै निश्चित (रू. ५० करोड) कारोबारभन्दा बढी वासलात भएका सहकारीहरूको अनुगमन गर्नसक्ने व्यबस्था गरिएको देखिन्छ । तर, गर्नसक्ने भन्ने कानूनी प्रावधानमा र गर्नेछ भन्ने प्रावधानमा आकाश जमीनको अन्तर हुन्छ । यसैले हालको यो चर्चामा पनि केन्द्रीय बैंक सहयोग गर्न सकिने भन्ने कुरामा नै अडिग रहेको देखिन्छ । यो मूलतः सहकारीलाई उसले विगत ३ दशकयता बनाउँदै आएको धारणाभित्रकै अडान हो भन्ने अनुमान गर्न सकिन्छ । मूल कुरो सहकारी ऐन र केन्द्रीय बैंक ऐनमा केन्द्रीय बैंकको सहकारी क्षेत्रमा केकस्तो भूमिका रहने भन्ने कुरा स्पष्ट छैन । हाल देखिएको सहकारी क्षेत्रको समस्या अहिलेको होइन । यो विगत ३ दशकयताकै हो । सहकारी ऐन २०४९ आउनुपूर्व पनि तिनका समस्या यथावतै थिए, मात्रा केही सानो ठूलोको मात्र हो । हाल देखिएको सहकारी क्षेत्रको समस्या अहिलेको होइन । यो विगत ३ दशकयताकै हो । सहकारी ऐन २०४९ आउनुपूर्व पनि तिनका समस्या यथावतै थिए, मात्रा केही सानो ठूलोको मात्र हो । अहिले पनि ती समस्या यथावतै छन् । मात्रा केही बढेको होला । हालैको सिभिल होम्स् सहकारी प्रकरणले उब्जाएको समस्या मात्र होइन, त्यो । विगतमा पनि ओरियन्टल सहकारीमा त्यही समस्या थियो । भरखरै धरानको वराह सहकारीमा पनि सिभिल होम्स् वा ओरियन्टलकै समस्या दोहोरिएको देखिन्छ । खोजिपस्दै जाने हो भने सहकारी भनेकै केही वर्ष राम्ररी चलाएको देखाएर सदस्यहरूको विश्वास जित्ने र अन्त्यमा सुटुक्कै रकम कुम्ल्याएर भाग्ने जस्तै हो भनेर बुझिएको पनि एउटा तीतो सत्यजस्तै हो । सदस्यहरू पनि ब्याजको प्रलोभनमा परेकै हुन्छन् । बैंक वित्तीय संस्थाहरूले २–४ प्रतिशतको ब्याज दिन नसकिरहेको अवस्थामा सहकारीले १२–१४ प्रतिशतको ब्याज निक्षेपमा दिएका आकर्षणले तिनले बैंकमा भन्दा सहकारीमा निक्षेप राख्ने नै भए । तिनले अरू कुरा केही हेरोइनन् । यसका अतिरिक्त मूल कुरा के पनि देखिएको छ भने सहकारीका सदस्यहरू एकअर्कामा चिनेजानेकै हुने भएको र तिनका हालीमुहालीकर्ताहरू पनि तीबाटै छानिएर आउने हुँदा पनि त्यहाँ बढी विश्वास गर्ने गरिन्छ । अर्थात् फलाना सहकारीको अध्यक्षमा फलाना भएसम्मका लागि कुनै चिन्ता छैन भनी सदस्य निक्षेकर्ताहरू हाइसन्चोमा रहने गर्छन् । अनि, केही टाठाबाठाहरूले त्यहाँबाट ठूलै कारोबार पनि गर्छन् । अब १२–१४ प्रतिशतको ब्याजको सदस्यको निक्षेप लिएर उसले लगानी गर्ने भनेको कम्तीमा पनि २० प्रतिशत ब्याजमा हो । महँगो ब्याजले कारोबार पनि महँगै पर्छ । आरम्भमा त ब्याज असुल होला । तर, जब व्यबसायमा समस्या पर्न थाल्छ तब ऊ कर्जाको पासोमा पर्न थाल्छ । कतिपय सहकारीका हर्ताकर्ताहरूले नै रियल इस्टेट व्यवसायमा छलाङ मार्न खोजेकै कारण सहकारी संस्थाहरू धराशयी बनेका वा बन्न लागेका उदाहरण प्रशस्तै छन् । सिभल होम्स् सहकारीले वा त्यसका सहायक भनिएका कम्पनीहरूले त्यस सहकारीकै रकमबाट राजधानीवरपर हजारौं घर बनाएर विक्री गर्दासम्म त्यस सहकारी संस्थाको वित्तीय स्थितिको अनदेखा गर्ने सदस्यहरूको आँखाचाहिँ यस्तो बेला खुलेको देखिन्छ जुनबेला ढिलो भइसकेको हुन्छ र संस्था सदस्य निक्षेपकर्ताहरूको निक्षेप फिर्ता गर्नै नसक्ने अवस्थामा हुन्छ । त्यो बेला प्रहरी र सीआईबीकहाँ उजुरीका चाङ लाग्छन् । के सहकारी भनेको यही हो वा सहकारी संस्थाहरूको कारोबारको अन्तिम लक्ष्य भनेको सीआईबी र अदालतकै ढोका चहार्नु हो त ? भन्ने यक्ष प्रश्नको जवाफको आवश्यकता पहिलो हो । त्यो भनेको सहकारीको अनुगमन केन्द्रीय बैंकलाई दिएर मात्र त्यसको निवारण अचूक हुने भन्ने होइन । मूल समस्याको जड सहकारीको दर्ता प्रक्रिया र नियमनमै छ । जस्तो ः सिभिल होम्स वा ओरियन्टलमा उठेका कुनै एकल सहकारीका समस्याहरूलाई लक्षित गरेरभन्दा पनि प्रणालीगत समस्याको मूलजरो पहिल्याएर निदानका लागि उपायहरू अगाडि ल्याउनुपर्छ । त्यो भनेको सहकारीको नियमनका लागि एक बेग्लै स्वशासित, तटस्थ र स्वतन्त्र नियामक निकाय नै गठन गरिनुपर्छ । त्यसका लागि केन्द्रीय बैंक नै चाहिन्छ वा उसको संलग्नता हुनुपर्छ भन्ने एकथरी सहकारीका अभियन्ताहरूको लबिङलाई स्थान दिइरहनुको कुनै अर्थ छैन । सहकारीको नियमन र अनुगमनका लागि बेग्लै संयन्त्र विकास गरेर लाने कुरामा सरकार स्वयम् नै पहिले अग्रसर, चेतनशील र विवेकी हुनुपर्छ । यसका लागि उसले हाल यो क्षेत्रमा देखिएको, अनुभूत गरिएको राजनीतिको प्रथ्यक्ष वा परोक्ष हस्तक्षेप वा त्यसको कुनै पनि किसिमको संलग्नतालाई हटाउने हिम्मत उसले गर्नैपर्छ । त्यो कुरा त्यति सजिलो छैन । अहिले त सहकारीहरू स्थानीय निकायका अंगै भइसकेका छन् । त्यहाँ पनि आर्को जटिलता उत्पन्न हुनसक्छ, तिनका भूमिकालाई पुनरवलोकन गर्ने सन्दर्भ आएका खण्डमा । मूल समस्या भनेकै अझै पनि सहकारीको वर्तमान संयन्त्रमा कताकति राजनीतिक प्रभावको भूमिका रहीआएको देखिन्छ । यस लेखकको केन्द्रीय बैंकसितको लामो संलग्नता रहँदा विगतमा सहकारी ऐन २०४९ आउनेताका उठेका र उठाइएका प्रश्नहरूको जवाफको निदान गर्नेतर्फ अहिलेसम्म पनि सरकार उदासीन वा विवश रहेकै पाइएको छ । त्यो भनेको त्यतिबेलै पनि सहकारीलाई कुनै बेग्लै नियमनको संयन्त्रका अधीन राखेर लानुपर्छ भन्ने नै थियो । त्यसबेला सरकारमा रहेका कृषि मन्त्री, जो सहकारीका एक प्रखर अभियन्ता नै पनि हुन् केन्द्रीय बैंकलाई सहकारीको नियमन वा अनुगमनको भूमिका दिनु हुन्न भन्ने अडानमा थिए । केन्द्रीय बैंकले सहकारी ऐनमा भएको व्यवस्थाको अस्पष्टताका हुँदाहुँदै पनि विगतमा सीमित बैंकिङ कारोबारका लागि केही सहकारीहरूलाई इजाजत दिएकै हो । हाल त्यो सबै इजाजत खारेज गरिएको छ । सहकारीबाट उसले हात झिकेको यो नै उदाहरण प्रशस्त छ । कानूनी जटिलता उत्पन्न गर्ने केन्द्रीय बैंकको विगतको आफ्नो नीतिगत कमजोरीलाई उसले ढिलै भए पनि करेक्सन गरेको पाइन्छ । सहकारीका आफ्ना निर्देशक सिद्धान्त छन् । कार्यप्रणाली छ, अभियन्ताहरू छन्, त्यसका राष्ट्रिय अन्तरराष्ट्रिय सञ्जालहरू छन् । तालीम केन्द्र मात्र होइन, सहकारीकै जनशक्ति उत्पादन गर्ने शैक्षिक प्रतिष्ठानहरू पनि छन् । जस्तै : वैकुण्ठ मेहता नेसनल इन्स्टिच्युट अफ कोअपरेटिभ म्यानेजमेन्ट, पूणे भारत) । सहकारीका मन्त्रालय (कहिले कृषि, भूमिसुधार त कहिले गरीबीसितकै होस् ), बोर्ड छन्, अनेक सञ्जालहरू छन् । तर पनि सहकारीमै सिभिल होम्स र ओरियन्टलका जस्ता समस्या आउँछन् किन ? यसको उत्तर खोज्ने कार्यमा हाम्रो चासो देखिएन । हो, कुनै एकल सहकारी जस्तो ओरियन्टलमा समस्या पर्दा त्यसका लागि सरकारले कुनै बेला आयोग पनि गठन गरेकै हो । त्यसरी यो क्षेत्रको समस्याको निदान गरिनु हुँदैन, त्यो मोडालिटी नै गलत थियो । कुनै सहकारीमा प्रभावकारी र उच्च घरानियाँहरूको सदस्यको निक्षेप फिर्ता गर्ने त्यस किसिमको तरीकाले सहकारीमा प्रणालीगत छिद्रहरू टालिँदैनन् । सहकारीको विचार र वैचारिकतामा समस्या छैन, थिएन पनि । तर, नेपालमा भने केही सीमित व्यक्तिहरूले यसलाई ठगी खाने भाँडो बनाएकै हुन् । सहकारीले गाउँघरमा राम्रो काम नगरेको होइन । महिलाहरूले चलाएका कतिपय सहकारीहरूले ग्रामीण क्षेत्रमा वित्तीय साक्षरतालगायत लघुवित्तीय सेवा प्रवाह र उत्पादनशील रोजगारीमा महत्त्वपूर्ण योगदान पुर्‍याएका उहाहरण प्रशस्तै छन् । सहकारी हाम्रोजस्तो अर्थ प्रणालीमा आवश्यक पनि हो । त्यसैले यसको आवश्यकता र केही सहकारीले ल्याएका विचलनबीच सन्तुलित सहकारी प्रणालीको खोजीको अर्को चुनौती पनि यथावत् नै छ । मूल कुरो, अहिलेसम्म पनि सरकारले गर्नपर्ने तर नगरेको र यो क्षेत्रमा बनाउनुपर्ने अति आवश्यकीय संरचना : एक स्वतन्त्र, तटस्थ र स्वतन्त्र नियामक निकाय, प्रणाली स्थापना गरेर यो क्षेत्रलाई अगाडि ल्याउन सक्यो भने यो क्षेत्रमा देखिएको र दोहोरिरहने विकृति कम गर्न सकिन्छ । त्यसका लागि हाल चर्चामा भइरहेकोजस्तो केन्द्रीय बैंकको संलग्नता नै अन्तिम उत्तर भने होइन । केन्द्रीय बैंकलाई उसले इजाजत दिएका, वित्तीय संस्थाहरूको नियमन र सुपरिवेक्षण गर्ने नै चुनौती रहिरहेका बेला तीसौं हजारको संख्यामा रहेका सहकारीको अनुगमन ऊबाट हुन्छ भन्ने सम्भावना क्षीण छ । केन्द्रीय बैंकलाई यस कार्यमा अलमल्याउन पनि बुद्धिमानी हुँदैन, उसको राय र प्राविधिक सहयोग जहिल्यै लिन सकिन्छ । प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

बैंकिङ संस्थाको स्थापना तथा नियमन

बैंकिङ संस्थाहरूको मुख्य उद्देश्य सर्वसाधारण जनतासँग रहेको रकमलाई ब्याज दिने रकमको संकलन गरी निक्षेपको जिम्मा लिने र सर्वसाधारण तथा व्यवसायीलाई ऋण वा कर्जा सापट दिई वा लगानी गरी ब्याज आर्जन गर्ने हो । नेपालमा संगठित रूपमा बैंकिङ संस्थाहरूको स्थापना १९९४ (विसं) मा नेपाल बैंक लिमिटेडको स्थापना भएपश्चात् भएको हो । विसं १९९४ मा नेपाल बैंक कानून, १९९४ बमोजिम नेपाल बैंक लिमिटेडको स्थापना भयो । नेपाल राष्ट्र बैंकको स्थापना नहुँदासम्म (२०१३ वैशाख १४) नेपाल बैंक लिमिटेडले केन्द्रीय बैंकका रूपमा कार्य गरेको पाइन्छ । २०२४ सालमा कृषि विकास बैंक ऐन, २०२४ अनुसार कृषि विकास बैंक स्थापना भयो । २०२४ सालमा कृषि विकास बैंकसँग सहकारी बैंक र भूमि सुधार बचत संस्थान गाभिन पुगे । हुलाक ऐन, २०१९ लाई २०३३ सालमा संशोधन र हुलाक बचत नियमावली, २०३३ ल्याई हुलाक बचत बैंकको स्थापना भए । राष्ट्रिय वाणिज्य बैंक ऐन, २०२१ अनुसार सरकारको पूर्ण स्वामित्वमा राष्ट्रिय वाणिज्य बैंकको स्थापना २०२२ माघ १० मा भयो । तत्कालीन अवस्थामा नेपाल बैंक लिमिटेड वाणिज्य बैंक ऐन, २०२० र राष्ट्रिय वाणिज्य बैंकलाई राष्ट्रिय वाणिज्य बैंक ऐन, २०२१ अनुसार सञ्चालित भए । यी दुई ऐनलाई २०३१ मा खारेज गरी वाणिज्य बैंक ऐन, २०३१ अनुसार निजीक्षेत्रको सहभागिताका साथसाथै विदेशी लगानीमा वाणिज्य बैंकहरू स्थापना भए । वित्त कम्पनी ऐन, २०४२ अनुसार वित्त कम्पनीहरू स्थापना भए भने विकास बैंक ऐन, २०५२ अनुसार विकास बैंकहरू स्थापना भए । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र निजीक्षेत्रको संलग्नता सँगसँगै स्वदेशी तथा विदेशी लगानीमा बैंक तथा वित्तीय संस्थाहरू संस्थापना हुने क्रम बढ्न थाल्यो । २०६३ सालमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ ल्याई (१) कृषि विकास ऐन, २०२४, (२) वाणिज्य बैंक ऐन, २०३१, (३) वित्त कम्पनी ऐन, २०४२, (४) नेपाल औद्योगिक विकास निगम ऐन, २०४६, (५) विकास बैंक ऐन, २०५२ लाई खारेज गरियो । हाल बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ लाई खारेज गरी बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लागू भएको छ । नेपालका बैंकिङ कारोबार गर्न संस्था र ती संस्थालाई नियमित गर्ने निम्न ५ ऐनहरू रहेका छन् । (१) नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार सञ्चालित नेपाल राष्ट्र बैंक, (२) बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार सञ्चालित संस्था ‘क’ वर्गको इजाजतप्राप्त संस्था– वाणिज्य बैंक, ‘ख’ वर्गको इजाजतप्राप्त संस्था– विकास बैंक, ‘ग’ वर्गको इजाजतप्राप्त संस्था– वित्त कम्पनी, ‘घ’ वर्गको इजाजतप्राप्त संस्था– लघुवित्त संस्था, (३) सहकारी ऐन, २०७४, अनुसार सञ्चालित सहकारी संस्थाहरू र राष्ट्रिय सहकारी बैंक लिमिटेड, (४) हुलाक ऐन, २०१९ तथा हुलाक नियमावली, २०३३ अनुसार सञ्चालित हुलाक बचत बैंकहरू, (५) वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ अनुसार सञ्चालित वित्तीय मध्यस्थता गर्ने संस्थाहरू । बैंकिङ तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने कसूरजन्य कार्यबाट बैंकिङ तथा वित्तीय प्रणालीमा पर्ने असर र जोखिमलाई न्यून गरी बैंकिङ तथा वित्तीय प्रणालीप्रति विश्वसनीयता अभिवृद्धि गर्न बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ ल्याइएको छ । यो ऐन २०६४/१०/२३ गतेबाट लागू भएको हो । बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को पहिलो संशोधन मिति २०७३/६/१८ मा भएको छ । उक्त ऐन आउनुभन्दा अगाडि मुलुकी ऐन, ठगीको महलअन्तर्गत र सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थाहरूको हकमा भ्रष्टाचार निवारण ऐन लगायतका कानूनहरूले त्यस्तो कसूरलाई नियन्त्रण गर्न खोजिएको थियो । त्यस्तै बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा २८ ले उक्त ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानूनबमोजिम सार्वजनिक पद धारण गरेको व्यक्ति वा राष्ट्रसेवक संलग्न रहेको कसूरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८, भ्रष्टाचार निवारण ऐन, २०४९ कारबाही र सजाय हुने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअनुसार सार्वजनिक पद धारण गरेको व्यक्ति सलग्न भई बैंकिङ कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अन्तर्गत अभियोजन तथा कारबाही हुन सक्छ । बैंकिङ क्षेत्र सर्वसाधारणको विश्वासमा सञ्चालित एउटा व्यवसाय हो । बैंकप्रति सर्वसाधारणको विश्वास कमी आएमा त्यस्ता बैंक तथा वित्तीय संस्थाहरू धराशयी वा विघटन हुन पुग्छन् । बैंकिङ प्रणाली सर्वसाधरणको विश्वास वा भरोसाका एउटा आधारस्तम्भ समेत हो । बैंकिङ व्यवसायलाई व्यवस्थित, भरपर्दो, विश्वसनीय रूपमा सञ्चालन गर्नुपर्ने दायित्व सरकार र केन्द्रीय बैंकको हुन्छ । सरकारले छुट्टै नियमनकारी निकायको रूपमा केन्द्रीय बैंकको स्थापना गरी सम्पूर्ण बैंकिङ प्रणालीको नियमन गर्छ । नियमनकारी संस्था अर्थात् केन्द्रीय बैंकको स्थापना गरी मौद्रिक नीतिका माध्यमबाट ब्याजदर, मुद्राको स्थिति, आर्थिक विकास तथा स्थिरता कायम राख्ने गरिन्छ । नेपाल राष्ट्र बैंक केन्द्रीय बैंक भएकाले यसका क्रियाकलापहरू वाणिज्य बैंक र विकास बैंकहरूको भन्दा भिन्दै हुन्छ । सर्वसाधारण जनतासमक्ष सोभैm सम्पर्क नगरे तापनि सर्वसाधारणलाई बैंकिङ सेवाको पहुँच तथा विश्वसनीयता कायम गराउन नेपाल राष्ट्र बैंकले भूमिका खेलिरहेको छ । विनिमयदर निर्धारण, कर्जा नियन्त्रण नीति, विनियम नियन्त्रणलगायत विषयमा नेपाल राष्ट्र बैंकले कार्य गरिरहेको हुन्छ । नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूको नियमन, सुपरिवेक्षण, कारबाही गर्ने अधिकारसमेत नेपाल राष्ट्र बैंकलाई रहेको छ । त्यसैले भनिन्छ, बैंकिङ संस्था तथा त्यसका सञ्चालक वा पदाधिकारी उपर नेपाल राष्ट्र बैंकले विधायिकी, कार्यपालिकीय र न्यायिक अधिकार रहन्छ । लेखक नेपालमा बैंकिङ अपराध विषयमा कानून संकायका विद्यावारिधि हुन् ।